२ असार २०७० | 16 June 2013

आकांक्षाको मार्ग

Share:
  
- निर्मला भोछिभया
संसारको जुनसुकै ठाउँमा पुग्दा त्यहाँको परिवेशलाई आफ्नै नेपालको यथार्थसँग तुलना गर्छु।

म पाँचखाल, काभ्रेकी केटी। काठमाडौं–लुक्ला ओहोरदोहोर गरिरहने हवाईजहाज हेर्दाहेर्दै आकाशमार्गमा उड्ने चाहना बढ्न थाल्यो। म परें अभिभावकले सानो पसल चलाएर हुर्काइएकी गाउँकी केटी, सरकारी स्कूलमा पढेकाले अंग्रेजी पनि बलियो नभएको। र पनि, एयरहोस्टेज पेशालाई स्वतन्त्रता र स्वाभिमानको प्रतीक ठानेर आकाशमार्ग खोल्ने तयारीमा जुटें, अनुसन्धान थालें।

हलिउड, क्यालिफोर्निया

सिंगापुर

पर्थ, अष्ट्रेलिया

एक दिन हिमालयन टाइम्स पत्रिकामा 'क्याविन क्रु' को विज्ञापन देख्दा मेरा आँखा धपक्कै बले। अनि झ्टपट अनलाइन दरखास्त हालें, अन्तर्वार्तामा बोलाइएँ, पास भएँ र आकाशमा उड्न थालें। काम गर्दागर्दै अन्तर्राष्ट्रिय विमान सेवामा क्याविन एटेन्डेन्ट भएँ। आकाशको काम सजिलो छैन, तर संसार घुम्न र विभिन्न परिवेशको अनुभव गर्ने अवसर पाइन्छ। मैले पनि संसारको विविधता देख्न पाएँ– न्यूयोर्कको टाइम्स स्क्वायरको तडकभडकदेखि आफ्नै देशको स्ट्रिट ल्याम्पसम्म नभएको रात्रि सन्नाटासम्म।

हाम्रो काममा 'जेटल्याग्' पचाउँदै विभिन्न 'टाइम्स जोन' बाट गुज्रनुपर्छ। कहिले मध्यरातमा कुनै एयरपोर्ट पुग्यो, कहिले मध्यरातमा कतै उड्यो। १६–१६ घण्टासम्मको हवाई उडानमा यात्रुको निरन्तर सेवा गर्नु सजिलो कुरा होइन। कहिलेकाहीं 'लेओभर' मा मात्र विमानस्थल–होटल–विमानस्थल हुन्छ। कहिले थकानका कारण केही गर्न मन लाग्दैन, सकिंदैन। तर, कति बेला, कति बेला फेरि समय मिल्छ र त्यसको उपयोग गर्दै काभ्रेकी केटी संसारका उत्कृष्ट पर्यटकीय स्थल, आर्थिक केन्द्र र भूराजनीतिक महत्वका ठाउँहरूमा समेत पुग्न भ्याइहाल्छे। हलिउड भन्नुस् वा ह्वाइट हाउस, इफेल टावर भन्नुस् वा सिड्नी हार्वर ब्रिज वा जन्तरमन्तर; सबैतिर पुगेकी छु। म्युजियम गएर पिकास्सो र मोने नियाल्न पाएकी छु। नामूद समुद्री तट (बिच) हरूमा पौडिन पाएकी छु। अफ्रिका सफारीमा पनि सहभागी भएकी छु।

दुबई, युएई

लण्डन, बेलायत

ग्रेटवाल, चीन

सामान्यतः सोचे जस्तो सजिलो पक्कै हुँदैन, कुनै पनि पेशा–व्यवसाय। विमानमा काम गर्दा 'बडी क्लक' व्यवस्थापन गर्नु निकै कठिन हुन्छ। स्वास्थ्यको ख्याल राख्नुपर्छ, 'स्ट्रेस' पनि हुन्छ। पेशा र निजी जीवनमा समन्वय पनि ल्याउनै पर्‍यो। यसमा सफल भए जस्तो लाग्छ, मलाई। त्यो कारणले गर्दा नै जुनसुकै गन्तव्यमा पुग्दा ढुक्कैले त्यहाँको रहनसहन नियाल्न सक्ने भएकी छु। कुन भाषा, कस्तो राष्ट्रियता, कुन अवस्थाको अर्थतन्त्र, कुन हदको शहरीकरण; सबै नियाल्छु र नेपाली परिवेशसँग तुलना गर्छु।

'फ्लाइट क्रु' का सदस्यहरूको संगतले मेरो क्षितिजलाई फराकिलो बनाएको छ। मैले पेशालाई पाठ सिक्ने मौकाको रूपमा सदुपयोग गरेकी छु। यो पेशामा भाषा मात्र भएर पुग्दैन, संचार दक्षता पनि उत्तिकै चाहिन्छ। नेपालको गाउँबाट आएकी एउटी केटीलाई महत्वकांक्षाको पनि आवश्यकता पर्दोरहेछ। मैले पनि महत्वकांक्षा बोकेकी छु। विमान परिचारिकाको रूपमा बटुलेको ज्ञान र अनुभवलाई नेपालको कुनै सेवा क्षेत्रमा लगानी गर्ने सोच छ।

भेनिस, इटाली

मस्को, रुस

मेरो निजी अनुभवले भन्छ– संसारको तुलनामा नेपाली महिलाले धेरै कष्ट सहनुपरेको छ। अन्तर्राष्ट्रिय उडानबाट खाडी मुलुक, मलेसिया र विश्वका अरू गन्तव्यतिर ओइरिइरहेका नेपाली पुरुषहरूको संख्या देख्दा गाउँघरमा आमा, दिदीबहिनी र छोरीहरूको कार्यभार अझ् कति बढ्यो होला भन्ने लाग्छ। तर, यो संक्रमणकालको अन्त्य अवश्यंभावी छ। अनि नेपाली महिलाले परम्परा र आधुनिकीकरणबीच समन्वय गरेर समाजलाई गज्जबसित अगाडि बढाउने छन्, सेवा पुर्‍याउने छन्। त्यस्तै सेवा मेरो पनि आकांक्षा हो।

comments powered by Disqus

रमझम