२ असार २०७० | 16 June 2013

नेतृत्व खोसेर लेऊ

Share:
  
- जगन्नाथ लामिछाने
हुर्कने प्रक्रियामा छोरीहरूलाई सिकाइएको त्याग, संयम, अहिंसा, विवेक, क्षमा अनि सहनशीलता सक्षम नेतृत्व तहमा हुनुपर्ने गुण हुन्। राजनीतिको लगाम अब यस्ता गुणले सम्पन्नहरूको हातमा आउनुपर्छ।

बिक्रम राई
महिलाप्रतिको नेपाली समाजको दृष्टिकोण बडो विरोधाभासपूर्ण छ। श्रीमतीलाई घरेलु कामदारको व्यवहार गर्ने अनि छोरीलाई देवी, काली, भगवतीको महिमा सुनाउने श्रीमान्हरू समाजमा बाक्लै भेटिन्छन्। शिक्षित भनिनेहरूको मनोविज्ञानले समेत महिलाको व्यावहारिक समानतामा विश्वास गर्दैन। महिलाको भूमिकाबारे समाजको सोच–व्यवहारमा रहेका यस्ता अनेक अन्तरविरोध औंल्याउन सकिन्छ।

एकातिर समाजमा जरा गाडेर बसेको असमानताहरूबीच संघर्ष गर्दै समाजलाई बाटो देखाउन सक्षम महिलाहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ भने अर्कोतिर यही समाजमा महिला हिंसाका घटना पनि चुलिंदो छ। यो अवस्थामा गम्भीर प्रश्न खडा हुन्छ– नेपाली समाज महिलाप्रति निर्दयी नै हो त? हो, नेपाली समाज महिलाप्रति निर्दयी नै छ। समाजको अंगको रूपमा महिला र पुरुष दुवै महिलाप्रति निर्दयी छन्। समाजका अनेक पक्षमा महिलाका लागि निर्दयी पाटाहरू छन्।

संस्थागत हिंसा

महिलामाथि हुने शारीरिक प्रकृतिका हिंसा विरुद्धको आवाज राम्रैसँग उठे पनि मानसिक हिंसाको पाटो उजागर हुनै बाँकी छ। महिलामाथि हुने कतिपय हिंसाले सामाजिक संस्कारको मान्यता पाएको छ। हिंसालाई संस्थागत गर्ने यस्ता मूल्यमान्यता भौतिक–मनोवैज्ञानिक रूपमा महिला पुरुषको अधीनमा रहनुपर्छ भन्ने सोचबाट निर्देशित छ। यसले देखाउँछ– नेपाली महिला तहगत हिंसाका शिकार बन्दै आएका छन्।

छोरीलाई जहिले पनि मिलनसार, आज्ञाकारी र असल बन्न सिकाइन्छ। घरको कामका लागि छोरीलाई नै जिम्मेवार बनाइन्छ। छोराले बदमासी गर्दा 'छोरा हुन् गरिहाल्छन्' भनेर चुप बस्ने बाबुआमाले छोरीले त्यस्तै गर्दा कडा प्रतिक्रिया जनाउँछन्। छोराले पाउने स्वतन्त्रताबाट छोरीलाई बञ्चित गरिन्छ। घरपरिवार–समाजले छोरालाई झ्गडालु, इखालु, 'नन–कम्प्रोमाइजिङ' र 'डोमिनेटिङ' हुने वातावरण दिएको छ भने छोरीलाई मिलनसार, सहनशील, त्यागी, हँसिला, फरासिला, जिम्मेवार, इमानदार हुने शिक्षा। असल बन्न सिकाइएका महिलाहरूलाई कालान्तरमा झ्गडालु, इखालु र 'नन–कम्प्रोमाइजिङ' पुरुषहरूको 'डोमिनेशन'को शिकार बनाइन्छ।

छोरा सधैं छोरा नै बनेर बाँच्न पाउँछ, तर छोरी सधैंभरि छोरी बनेर बाँच्न पाउँदिनन्। बुहारी बनेकी छोरीले धेरै कुरा गुमाउनुपर्छ। श्रीमान् बनेको छोराले घरमा जे गरे पनि हुन्छ, तर बुहारी बनेकी अरूकी छोरीले धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ। बच्चादेखि असल बन्न सिकाइएकी छोरीले विवाहको पहिलो दिनबाट असमानता र विभेदहरूसँग सम्झौता गर्नुपर्छ। श्रीमान्/श्रीमती बनेका पुरुष र महिलाले सामना गर्नुपर्ने सामाजिक–पारिवारिक परिस्थितिमा आकाश–जमीनको फरक हुन्छ। ज्वाईं बनेको पुरुषलाई ससुरालीमा सम्मानको हकदार मानिन्छ भने श्रीमती बनेकी नारीले घरमा बुहार्तन बेहोर्नुपर्छ। श्रीमतीले आफ्नो जन्मसँग जोडिएको थर छाडेर श्रीमान्को थर धारण गर्नुपर्छ। हाम्रो सामाजिक पद्धति नै लैङ्गिक विभेदमा आधारित भएको यसले देखाउँछ। यसलाई बदल्नु जरूरी छ, तर सानो प्रयासले पुग्दैन। यसका लागि हामीले आफैंलाई हाकाहाकी प्रश्न गर्न थाल्नुपर्छ।

समानताको अपेक्षा राख्ने बुहारीहरू परिवार र समुदायमा बढी हिंसाको शिकार बनेका हुन्छन्। समानताको वकालत गर्ने छोरी–बुहारीलाई छाडा, गैर–सामाजिक लगायतका आक्षेपका साथ पीडित बनाइन्छ। यस्तो प्रवृत्तिको सामाजिक हिंसाबारे छलफल नै चल्न सकेको छैन। महिला अधिकारको क्षेत्रमा काम गर्नेहरू पनि हिंसाको मुहान बनेको सामाजिक चरित्र केन्द्रित भन्दा घटनामुखी भएका छन्। उनीहरूमा संस्थागत रूपमा विकसित महिला हिंसाका स्वरुपहरूबारे सजगता देखिंदैन। सबै किसिमका हिंसा विरुद्ध बोल्नैपर्छ, तर महिला–पुरुष समानताको मान्यता घर–घरको व्यवहारमा बदल्न नसकेसम्म हिंसा घटाउन सकिन्न।

नेपाली महिलामाथि घरपरिवार र समाजले थोपरेको संस्थागत हिंसासँग लड्न त्यति सजिलो पनि छैन। किनभने, समाज नै हिंसाको पक्षमा उभिएको अवस्थामा कानून प्रभावकारी बन्न सक्दैन। यही कारण 'बोक्सी', 'दाइजो', 'चरित्रहीन' जस्ता आरोपमा महिला हिंसाका घटना दिनहुँजसो आउँदा पनि समाज मौन–शान्त बस्छ। यस्तो सामाजिक मौनतामा कानूनी उपचार निष्प्रभावी बन्छ।

परिवर्तनमा महिला

हरेक नेपाली महिलाले कुनै न कुनै रूपमा हिंसाको अनुभव गरेका छन्। महिलाका लागि समाज अझै असमान र प्रतिकूल छ। यस्तै वातावरणमा पनि केही महिलाले सेवाको क्षेत्रमा विशिष्ट पहिचान बनाएका छन्। साहित्य, कला, खेलकुद, शिक्षा, व्यापार, राजनीति लगायतका क्षेत्रमा पनि महिलाको भूमिका फराकिलो बन्दै गएको छ। सी.एन.एन. हिरोबाट विभूषित अनुराधा कोइराला र पुष्पा बस्नेत हुन् कि विश्वका अग्ला हिमशिखर आरोहण अभियानमा रहेका महिला टीम, नेपालको पहिलो महिला टेम्पु चालक सुमित्रा डंगोल हुन् कि आमा घरकी दिलशोभा श्रेष्ठ, नेपाली राष्ट्रिय जीवनको हर क्षेत्रमा नारी नेतृत्वले आकार लिन लागेको देखिन्छ।

पहिलो संविधानसभामा ३३ प्रतिशत भन्दा बढी महिलाको उपस्थितिले राज्यको निर्णय प्रक्रिया र राष्ट्रिय राजनीतिको नेतृत्वमा पनि महिलाको सम्भावना बढायो। राजनीतिमा महिला नेतृत्व विकास हुन नसक्दा झ्गडिया पुरुषहरूले मुलुकलाई संक्रमणकालबाट पार लगाउन नसकिरहेको संसारले देखिरहेको छ। कल्पना गरौं– दशवर्षे हिंसात्मक द्वन्द्वपछि शान्ति प्रक्रियामा रहेको मुलुकले त्याग, संयम, करुणा, विवेक, क्षमा जस्ता मानवीय गुण सिक्दै हुर्किएका महिलाहरूको राजनीतिक नेतृत्व पाएको भए कस्तो हुन्थ्यो होला?

नेपाल जस्तै हिंसात्मक द्वन्द्वबाट गुज्रेका अफ्रिकी, ल्याटिन अमेरिकी लगायत मुलुकहरूको दीर्घकालीन शान्ति प्रक्रिया र पुनर्निर्माणमा महिलाहरूको उल्लेख्य भूमिका रह्यो। हिंसा खेपेका अफ्रिकी मुलुकहरूमा महिलाले सरकारका सबैखाले असन्तुलित निर्णय विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने र भविष्यमा हुनसक्ने हिंसालाई रोक्न जातीय, क्षेत्रीय सद्भावका छलफल चलाउनेदेखि द्वन्द्व पीडित, सत्य र न्यायको पक्षमा निरन्तर आवाज उठाएको पाइन्छ। नेपालमा भने शुरू भएको सात वर्षमा शान्ति प्रक्रिया धर्मराइरहँदा महिलाहरूको कुनै संगठित धार देखिएको छैन। खराब नेतृत्वमाथि हस्तक्षेप गर्ने गरिको त्यस्तो असल धार बनेको भए यतिबेला संविधान बनिसक्थ्यो होला।

संविधान बनेको भए देशले न्यायिक–कानूनी शासनको बाटो समातिसक्ने थियो। तर दुर्भाग्य, समाज–परिवारले बढी जिम्मेवार, इमानदार, क्षमाशील, त्यागी र समझ्दार बन्न सिकाउँदै हुर्काएका महिलाहरू सामाजिक–पारिवारिक हिंसाको शिकार बन्दा राष्ट्रिय उन्नति र सन्तुलनमै ठूलो क्षति पुगेको छ। देशमा विद्यमान खराब, असन्तुलित र अक्षम राजनीतिक नेतृत्व महिलामाथि थोपरिएको संस्थागत हिंसाकै परिणाम हो।

न्यायका लागि सधैं आन्दोलन नै गर्नुपर्ने र अकर्मण्य नेताहरूको ढोका चहार्दा पनि अन्यायले शिर ठडाई नै रहने अवस्था अबको नेपालमा सुहाउँदैन। अब नेपाली छोरीहरूले नेताको ढोका–ढोकामा ज्ञापनपत्र बुझाउँदै हिंड्ने होइन, नेतृत्वमा हस्तक्षेप गर्ने तयारी थाल्नुपर्छ। महिलाहरूले पार्टी भित्र र बाहिर आन्दोलन गर्नु र नेतृत्व खोस्नुको विकल्प छैन। बूढा नेताहरूलाई ज्ञापनपत्र बुझाएको भरमा नेपाल नबदलिने पक्का भइसक्यो।


मुक्ति र त्रासदी

रञ्जु झा
डेढ दशक अगाडि दीपेन्द्र गौचनले केटी/महिला/स्त्री जातिको मनोभावना–आकांक्षा समेट्ने उजेली कथानक चलचित्र बनाएका थिए। चार वर्ष अगाडि दीपक रौनियारले त्यस्तै सशक्त चौकैठ बनाए। त्यसपछि रौनियारले पूजा र हाईवे निर्माण गर्न पुगे।

चौकैठ मा जनगणना गणक तृष्णा (आशा मगराती) मध्य तराईको एउटा घरमा पुग्छिन्, जहाँ सरस्वती गुप्ता (रञ्जु झा) सन्तुष्ट पारिवारिक जीवन बिताइरहेकी हुन्छिन्। घरमा अचानक 'आधुनिक' पहाडी महिला आउँदा सरस्वती अत्तालिन्छिन्र आफ्नो नाम मात्र 'बरमझियावाली' भएको बताउँछिन्।

चौकैठ को कथा यिनै दुई संवेदनशील सहृदयी महिलाबीचको वार्तालाप र सरस्वतीको मनमा उब्जेका 'इण्डिभिजुवलिजम' मा केन्द्रित छ। फिल्ममा कोही नायक वा खलनायक छैन। मन लागेको काम गर्न फुक्काफाल घुमी हिंड्ने तृष्णामा शहरिया फर्‍याकफुरुक छैन। आँगन नै विश्व भने जस्ती सरस्वती जो, आफ्नो नाम उच्चारण गर्न समेत सामाजिक काइदाकानूनसँग डराउँछिन्, उनको अवस्थालाई पनि धेरै दयनीय देखाइएको छैन। उनको श्रीमान्लाई कठोर पात्र नबनाई पत्नी र दुई बच्चाप्रति मायालु तथा एक कर्मठ व्यक्तिको रूपमा पेश गरिएको छ।

दुई महिला पात्र बीचको तथा दुई परिवेशको जम्काभेटको कथा हो चौकैठ। एक दिउँसो र एक साँझ्को दौरानमा सरस्वतीले आफ्नो व्यक्तिगत पहिचान र स्वाभिमान ठम्याउन सफल हुन्छिन्।

बरमझियावाली सरस्वती पात्रको सशक्त अभिनय गर्ने रञ्जु झाको अभिनय फेरि दर्शकले नाटक, फिल्ममा हेर्न पाइने अवस्था अब रहेन। मैथिली अधिकारका निम्ति एक वर्षअघि जनकपुरको रामानन्द चोकमा उभिन पुगेकी उनी अरू चार अभियन्ताहरूसँगै विस्फोटको शिकार बनिन्।

व्यक्तिगत संघर्षबाट आफैं महिला मुक्तिको एउटा सफल उदाहरण बनेकी रञ्जु झा आफैं 'आधुनिक' र 'स्वतन्त्र नेपाली महिला' को परिभाषा थिइन्।

*कनकमणि दीक्षित *

comments powered by Disqus

रमझम