२ असार २०७० | 16 June 2013

श्रीमानलाई अदालत

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
सामाजिक बदनामीको डरले घरभित्रको अत्याचार सहँदै आएका नेपाली महिलाहरूले अन्यायी श्रीमान्लाई प्रहरी खोर पुर्‍याउन थालेका छन्।

दमक–१२, झापाकी चम्पालाई छोरा नजन्माएको भन्दै श्रीमान् नारायण दाहाल, ससुरा भीमप्रसाद, सासू फूलमाया र आमाजू मीनाले तीन वर्षअघि पिट्दै घरबाटै निकाले। छोरी पढाउँदै एक्लै संघर्ष गरिरहेकी उनी न्यायको लागि अदालत पुगेकी छन्।

धरानकी माया लिम्बूले २ वैशाखमा श्रीमान् ले खानलाउन नदिएको र डेढ वर्षदेखि कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएर हिरासतमा पुर्‍याइन्।

पैसा सिध्याउँदै काठमाडौं बसेर वर्षौंसम्म घर नआउने श्रीमान् व्यभिचारमा लागेको थाहा पाएपछि राजधानी आएकी बर्दियाकी मीना थापा (नाम परिवर्तन) ले आफन्तको सहयोगमा छापा मारेर श्रीमान् दलबहादुर थापालाई प्रहरीको जिम्मा लगाइन्।

पार्वती खडका, झापा।
देशका विभिन्न स्थानमा केही महीनायता भएका यी घटनाहरूले महिलाहरू पीडा–अपमान सहँदै घरभित्रै बसिरहन छाडेको संकेत गर्छ। बेवास्ता गर्ने, यातना दिने, परस्त्रीसँग बस्ने श्रीमान्को कर्तुतलाई समाजसामु उदाङ्गो गर्ने मात्र हैन प्रहरी–अदालतसम्म पुर्‍याउन थालेको घटनाले पारिवारिक हिंसाले नेपाली महिलाको सहनशीलताको बाँध फुटाएको देखाउँछ। कतिपय महिलाले त अत्याचारी श्रीमान्को हत्यासम्म गरेका छन्।

चैतको दोस्रो साता दलबहादुरलाई रंगेहात पक्रेर जिल्ला प्रहरी कार्यालय ललितपुरमा पुर्‍याएपछि बर्दियाकी मीना थापाले दशैं जस्तो चाडमा समेत घर नआएका श्रीमान् परस्त्रीसँग लागेको थाहा भएपछि कानूनी उपचार खोजेको बताइन्। विराटनगरकी मुन्नी सहनीले आफूलाई मदिरा सेवन गरेर कुटपिट गर्दै घरबाटै निकाल्ने श्रीमान् सन्तोषलाई गएको ३० फागुनमा प्रहरीखोरमा पुर्‍याइन्। २८ फागुनमा समातिएका सन्तोषले दुई दिन खोरमा बसेपछि अब उप्रान्त श्रीमती र छोराको राम्रो लालनपालन गर्ने भनेर सहीछाप गरे।

गत १० वर्षमा देशभरका महिला तथा बालबालिका सेवा केन्द्रहरूमा बढेको मुद्दाको चाप महिला जागरणको मापक बनेको छ। आर्थिक वर्ष २०५९/६० मा देशभर यस्ता ८८५ मुद्दा दर्ता भएकोमा आव २०६८/६९ मा ३३५३ मुद्दा चलेको देखिन्छ। आव २०६७/६८ को तुलनामा २०६८/६९ मा यस्ता मुद्दा एक हजार बढी छ। आव २०६७/६८ मा देशभर २३८२ मुद्दा चलेको नेपाल प्रहरीको केन्द्रीय महिला तथा बालबालिका सेवा केन्द्रको तथ्याङ्कले देखाउँछ। चालु आव २०६९/७० मा समेत अघिल्ला वर्षको तुलनामा मुद्दा बढेका छन्।

राजधानी उपत्यकामा चालु आवको साउनदेखि चैत मसान्तसम्ममा १३६४ उजुरी परेका छन्, जसमध्ये अधिकांश मुद्दा श्रीमान् ले खान–लाउन नदिने र दुर्व्यवहारको घरेलु हिंसासँग सम्बन्धित छन्। महानगरीय प्रहरी आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) नवराज ढकाल महिलामा बढेको चेतना र आत्मनिर्भरतासँगै सञ्चारमाध्यम तथा कानूनी सहजताका कारण पीडकहरू फन्दामा पर्न थालेको बताउँछन्। “कानूनी सहजता कस्तो छ भने प्रहरीकै परिसर, वृत्त र आयुक्त कार्यालय गरी उपत्यकामा मात्र १२ वटा कार्यालयमा हिंसाका मुद्दा हेर्ने महिला तथा बालबालिका सेवा केन्द्र छन्”, एआईजी ढकाल भन्छन्, “देशभरका पाँच क्षेत्र र ७२ जिल्लामा यस्ता सेवा केन्द्र छन्।”

सहेर बस्ने दिन गए

लोग्ने र घरपरिवारबाट अन्याय भयो भन्दै प्रहरीकहाँ उजुरी दिने र अदालत धाउने महिलाको संख्या दिनदिनै बढिरहेको छ। यस्ता मुद्दामा लोग्नेले अर्की श्रीमती ल्याएको वा बाहिर राखेको, छोरी जन्माएपछि यातना खप्नु परेको जस्ता उजुरीको संख्या उल्लेख्य देखिन्छ। महिला जागरण, प्रहरी, महिला समूह र गैर–सरकारी संस्थाहरूको सक्रियता अनि कानूनी उपचारको सहजताकै कारण कतिपय जिल्लामा एकै वर्षमा महिला हिंसाका उजुरी दोब्बरसम्म भएको देखिन्छ।

“घरभित्रै हिंसा सहेर बस्नु भन्दा त्यसबाट मुक्त हुन बाहिरै निस्कनुपर्छ भन्ने मान्यता अहिले विकास भएको छमुन्नी साहनी, मोरङ। ।”

– सपना मल्ल प्रधान, अधिवक्ता

जिल्ला प्रहरी कार्यालय चन्द्रगढीका अनुसार झापामा अघिल्लो आवको तुलनामा चालु आवमा यस्ता मुद्दाको संख्या दोब्बर बढेको छ। छोरी जन्माएको निहुँमा घरपरिवारबाट शारीरिक–मानसिक यातना पाएकी दमक–१२ की चम्पा दाहालले अंश मुद्दा चलिरहँदा ससुराले जग्गा बेच्न लागेको थाहा पाएपछि मालपोत कार्यालय पुगेर दाहाल परिवारको नाममा रहेको दमक र लखनपुरको जग्गाको पास रोक्का गरिदिएकी छिन्। तीन वर्षअघि बिहे गरेकी झापा मेचीनगरकी पार्वती खड्का (२२) काखको नानी लिएर अदालत धाइरहेकी छिन्। पहिली श्रीमती हेमकलाबाट सन्तान नभएपछि सेवा निवृत्त भारतीय प्रहरी हबल्दार केशव खड्काले पार्वतीसँग बिहे गरेका थिए। तर छोरी जन्मिएपछि आफूलाई सौताले यातना दिएको र जग्गा दाइजो र बकसको रूपमा पाएको व्यहोराको कागज बनाएपछि श्रीमान् लाई उनले कठघरामा उभ्याइन्। तीन छोराकी आमा झापा, सुरुङ्गा–४ की रत्नमायाले पनि लोग्ने मनोरथ सापकोटाले कान्छी ल्याएपछि जिल्ला अदालतमा अंश मुद्दा हालेकी छन्। दमक–५ की रेनुका नेपालले श्रीमान् सुजनसँग बस्ने स्थिति नरहेको व्यहोरा खुलाई सम्बन्धबिच्छेदको मुद्दा दायर गरेकी छन्। लखनपुर–६ की मैना बिकले कान्छी भित्र्याउने लोग्ने छविलाललाई अभियुक्तको रूपमा उभ्याएर गएको भदौमा आधा अंश लिइन्।

झापामा त नवविवाहिताले पनि प्रहरी र अदालतको सहयोग लिएर गलत लोग्नेबाट मुक्ति लिएका छन्। भद्रपुर–८ की सावित्रा चक्रवर्तीले बिहेको एक वर्ष नपुग्दै १ माघ २०६९ मा दाइजोका लोभी श्रीमान् राहुललाई बिहेमा ल्याएको सबै सामान सहित खाइजीविकाको लागि रु.५ लाख २० हजार नगद भराउँदै आफ्नो जीवनबाट अलग बनाइन्। मोरङकी श्यामवतीले पनि दाइजो फिर्ता लिएर लोग्ने त्यागी दिइन्। आफूलाई बिहे गरेका गोविन्दप्रसाद सिंह १५ दिनमा एक पटक घर आउँदा पनि आफूसँग नबस्ने अनि नबोली फर्कने गर्नुको कारण खोज्दा घरबाटै निकालिएकी श्यामवती सिंहमा समाज र प्रहरी राखेर विवाहमा गोविन्दप्रसादबाट रु.१ लाख तिलक र एक लाखको सामान फिर्ता लिएर माइत हिंडिन्। “यसखाले मुद्दा रहरले लगाइएका हुँदैनन्”, झापाका अधिवक्ता चन्द्रा श्रेष्ठ भन्छिन्, “तर, अन्याय सहेर बस्नुहुँदैन भन्ने चेतनाका कारण यस्ता मुद्दा बढेका छन्।”

कतिपय महिला सुधार हुन्छ कि भन्ने आशामा पनि लामो समय अन्याय सहेर बसेका देखिन्छन्। जस्तो, सुनसरीकी उर्मिला राई (नाम परिवर्तन) ले पाँच वर्षसम्म कुटाइ सहिन्। लोग्ने हो, एक दिन बुद्धि फिर्ला भनेर त्यत्रो समय अत्याचार सहेको बताइन्। तर टाउकोको हड्डी नै चर्किने गरी कुटेर बेहोस बनाएपछि उनी प्रहरी र सुनसरी जिल्ला अदालतमा पुगिन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेडमा होस खुलेकी उनी त्यसपछि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा १७ दिन बसिन्। त्यसरी मुद्दा लडेकी उर्मिलाले अदालतमा सम्बन्धबिच्छेद र अंश मुद्दा जितेपछि पनि अंश पाएकी छैनन्। आठ र दुई वर्षकी छोरीहरूलाई भने आफ्नै बुतामा हुर्काइरहेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, सुनसरीमा गएको साउनयता महिला हिंसाका ५३ वटा घटना दर्ता भएका छन्। त्यसमध्ये ३९ वटा निवेदन श्रीमतीले श्रीमान् विरुद्ध दिएको महिला सेलकी कोपिला भुजेलले बताइन्।

मुन्नी साहनी मोरङ, विना पाठक, चितवन, चम्पा दाहाल, झापा।

उता मोरङ प्रहरीमा गत आवमा घरेलु हिंसाका २९५ निवेदन परेका थिए। २०६७/६८ मा १२३ मुद्दा परेका थिए भने त्यसअघिको आवमा ८० निवेदन परेका थिए। घरेलु हिंसामा परेर प्रहरीमा निवेदन दिन आएका महिलाको संख्या वर्षेनि बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ। “श्रीमान्बाट पीडित भएर न्याय माग्न दैनिक कम्तीमा पाँच जना महिला आउँछन्” मोरङ महिला सेलकी प्रहरी निरीक्षक सुमा कार्कीले भनिन्, “कोही अंश दिलाइदिनु पर्‍यो भन्छन्, कोही बिहेमा दिएको दाइजो फर्काइदिनु पर्‍यो भन्छन्।”

श्रीमान् ले दुर्व्यवहार गर्न थालेपछि चितवनकी वीना पाठक (३२) ले श्रीमान् बोधराज पाठक विरुद्ध प्रहरी गुहारिन्। एक वर्षअघि बुटवलमा काम गरेर बस्दा पनि श्रीमान् आएर कुटपिट गरेपछि उनले इलाका प्रहरी कार्यालयमा श्रीमान्लाई कार्बाही गर्न उजुरी दिएकी थिइन्। चितवन बस्ने श्रीमान् पक्राउ नपरेपछि भने गएको मंसीरमा उनले चितवन जिल्ला अदालतमा अंशबण्डामा मुद्दा दिएकी छिन्। जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेल इन्चार्ज तुलसीमाया परियारका अनुसार महिला सेलमा पर्ने उजुरीहरूमा अधिकांश शान्ति सुरक्षाको माग गरिएका छन्। श्रीमान् ले खान–लाउन नदिएको, कुटपिट गरेको, झैझ्गडा गरेको विषयमा महिलाहरूले उजुरी गर्ने गरेका छन्।

बाँकेका प्रहरी नायव निरीक्षक (सई) तिलक मल्ल र प्रहरी जवानकी पत्नी बृहस्पति खड्कालाई मल्लकी पहिलो पत्नी प्रहरी हबल्दार सावित्री गिरीले बहुविवाहको उजुरी दिएर पक्रन लगाइन्। बाँके जिल्ला अदालतले खड्कालाई रु.५१ हजार धरौटीमा रिहा गर्‍यो भने मल्ल पुर्पक्षका लागि थुनामा परे। उजुरी हाल्ने जेठी पत्नी जिल्ला अदालतमा ड्युटी गर्छिन्। उजुरीपछि जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत २६ वर्षीया बृहस्पतिलाई झिकाइएको छ। ३९ वर्षीय सई मल्ल केही समयदेखि विना जानकारी विभागको सम्पर्क बाहिर थिए। कान्छी पत्नीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनी सम्पर्कमा आएको प्रहरी स्रोत बताउँछ।

आफ्नै श्रीमान् विरुद्ध श्रीमतीहरू न्यायालयसम्म पुग्ने एकपछि अर्को घटनाक्रमले अब महिला सहेर बस्ने रहेनछन् भन्ने सन्देश दिएको अधिवक्ता मीरा ढुङ्गाना बताउँछिन्। उनी भन्छिन्, “सरकारले हिंसा विरुद्ध शून्य सहनशीलताको नीति लिनु र संघसंस्था र महिला समूहको सक्रियताले चेतना बढाउनुको परिणाम हो, यो।”

धेरै पीडित महिलाले अदालत र उजुरीको बाटो लिएका छन् भने केहीले श्रीमान्को हत्या गर्नेसम्मको हिंस्रक बाटो समातेका छन् (हे.बक्स)। एआईजी नवराज ढकाल महिला हिंसाका पीडकलाई सजाय तथा सार्वजनिक गरिने भएकाले न्यायप्रति विश्वास बढेको बताउँछन्। त्यसको परिणामस्वरुप कतिपय घटनामा महिलाबाट पुरुष पीडित भएको पनि उनको निष्कर्ष छ। तर, अधिवक्ता सपना प्रधान मल्ल महिलाको तुलनामा पुरुषहरू पाँच प्रतिशत मात्रै पीडित भएको बताउँछिन्। उनी भन्छिन्, “महिलाबाट पुरुष प्रताडित भएका केही घटना भए पनि धेरै छैनन्।”

प्रधानमन्त्री कार्यालय मातहतको महिला हिंसा विरुद्ध उच्चस्तरीय अनुगमन समितिको सदस्य समेत रहेकी प्रधान महिलामाथिको हिंसाले चरम रूप लिएकाले कतिपय महिला हिंस्रक बनेको बताउँछिन्। उनी भन्छिन्, “कतिपय घटना सधैं पिट्ने र यातना दिने श्रीमान्बाट बच्ने प्रयास गर्दा भएका छन् भने कतिपय घटना महिला हिंस्रक बनेकाले।” परिवारको भविष्यसँग गाँसिने भएकाले श्रीमान् र श्रीमती बीचको झ्गडा सकेसम्म मिलाउनुपर्ने उनको सुझाव छ।

सामाजिक रूपान्तरण

घरभित्रको मामिला भन्दै घरको चौघेरा ननाघ्ने र जति पीडा भए पनि सहेर बस्ने महिला पर्खाल नाघेर घर बाहिर आउन थालेका छन्। समाज र लोकलाजको पर्वाह नगरी हक र अधिकारका लागि आफ्नै श्रीमान् विरुद्ध खडा हुने आँट श्रीमतीहरूमा देखिनुमा सामाजिक चेतना मुख्य कारक रहेको अधिकारकर्मी र समाजशास्त्रीहरू बताउँछन्। महिलामा बढेको चेतना, सम्पत्तिको स्वामित्व र वैदेशिक रोजगारीले ल्याएको आर्थिक स्वतन्त्रता जस्ता परिवर्तनले महिलाहरूको सामाजिक मनोविज्ञान फेरिएको छ।

“एउटी महिलाले श्रीमान्लाई पक्राउँदा तत्काल समस्या पारे पनि त्यसले समाजलाई सुधारको बाटो देखाइरहेको हुन्छ।”

– गणेश गुरुङ, समाजशास्त्री

अधिकारकर्मी अधिवक्ता मल्लको विचारमा घरको कुरा बाहिर ल्याएकोमा समाज बिगारेको आरोप लाग्नुको साटो सबैले न्याय दिलाउन साथ दिन थालेकाले यस्ता मुद्दा सतहमा आउन थालेका हुन्। उनी भन्छिन्, “घरभित्रै हिंसा सहेर बस्नु भन्दा त्यसबाट मुक्त हुन बाहिरै निस्कनुपर्छ भन्ने मान्यता अहिले विकास भएको छ।” घरेलु हिंसाका गम्भीर मुद्दा सरकारवादी हुनाले पनि महिलाको आत्मबल बढाएको उनको ठम्याइ छ।

समाजमा गुम्सिएर रहेको महिला आक्रोश एकपछि अर्को विस्फोट हुँदै जानु र देशभरका प्रहरी कार्यालयमा श्रीमान् का अत्याचार विरुद्धको उजुरी बढ्नुमा सामाजिक रूपान्तरणको भूमिका छ। घरजग्गामा महिलाको स्वामित्व एक वर्षमै ९ प्रतिशतबाट बढेर १९ प्रतिशत पुग्नुले सामाजिक रूपान्तरणको स्वरुप देखाउँछ। वैदेशिक रोजगारीमा रहेका करीब ३० लाख नेपालीका श्रीमती श्रीमान्ले कमाएको सम्पत्तिको उपभोग गर्ने गरी परिवारको मूली बन्नु सामाजिक रूपान्तरणको अर्को कारण हो।

समाजशास्त्री गणेश गुरुङका भनाइमा पछिल्लो समयमा घरजग्गामा महिलाको स्वामित्व बढेकोले आत्मनिर्भर बनेका महिलाको मनोबल पनि बढेको छ। गुरुङ भन्छन्, “लोग्नेले कान्छी ल्यायो भने पनि तेरो स्वास्नी लिएर जा घरजग्गा मेरो नाममा छ भन्न सक्ने भएका छन् र श्रीमान्ले अलपत्रै पार्दा पनि उजुरी दिन सक्ने बनेका छन्।” गाउँसम्म फैलिएका आमा समूह र अधिकारकर्मी महिलाको सञ्जालले महिलामा बढाएको मनोबलले आफ्नै श्रीमान् का विरुद्ध आक्रोश पोखिएको देखिए पनि समाजलाई यसले दीर्घकालमा घाटा पुर्‍याउँदैन। समाजशास्त्री गुरुङको भनाइमा एउटी महिला श्रीमान् विरुद्ध प्रहरी र अदालत जाँदा उनको परिवार र भविष्यलाई असर पारे पनि अरू श्रीमान् र समाजलाई सतर्क पार्छ। उनी भन्छन्, “एउटी महिलाले आफ्नै श्रीमान्लाई पक्राउँदा तत्काल उनैलाई समस्या पारे पनि त्यसले समाजलाई सुधारको बाटो देखाइरहेको हुन्छ।”

साथमा गोपाल गडतौला दमक, कमल रिमाल विराटनगर, सीता मादेम्बा धरान, सविता श्रेष्ठ चितवन, तुफान न्यौपाने नेपालगञ्ज


यो क्रूरता

३ चैत २०६९ मा ललितपुरको इमाडोलमा अस्मिता लामा श्रेष्ठले आफ्नै श्रीमान् प्रकाश श्रेष्ठलाई कोठामा सुतिरहेको बेला घाँटीमा सलले बेरी हत्या गरिन्। श्रीमान्ले खान–लाउन नदिएको, आफ्नो कमाइ जाँड खाएर सकेको र परपुरुषसँग लागेको भन्दै दिनहुँजसो पिट्ने गरेकाले आजित भएर हत्या गर्नुपरेको उनी बताउँछिन्। जिप्रका ललितपुरको प्रहरी कस्टडीमा रहेकी अस्मिताको अनुहारमा पश्चात्ताप र हीनताबोध देखिंदैनथ्यो। आफू काम नगर्ने उल्टै मातेर दिनरात पिट्ने श्रीमान्को हत्या गर्नु बाध्यता रहेको बताउँदै उनले भनिन्, “मैले उसलाई नमारेको भए कुनै न कुनै दिन उसको हातबाट म मर्नुपर्थ्यो।”

comments powered by Disqus

रमझम