बहुमुखी स्नातक शिक्षा

Share:
  
- प्रभात भट्टराई
निजी क्षेत्रको बलियो उपस्थितिसँगै विश्वविद्यालय शिक्षाको प्रवेशबिन्दु स्नातक तह रोजगारमूलक शिक्षातर्फ उन्मुख भएको छ।
p41
बत्तीसपुतलीस्थित गोल्डेनगेट कलेजका विद्यार्थी। तस्बिर: विक्रम राई

प्राविधिक र रोजगारमूलक शिक्षामा जोड दिएकाले निजी क्षेत्रबाट संचालित उच्च शिक्षामा विद्यार्थीको आकर्षण बढेको छ। यसले गर्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि) र अन्य निजी मात्र होइन, विदेशी विश्वविद्यालयको समेत सम्बन्धन लिएर निजी क्षेत्रको लगानीमा कलेजहरू खुल्न थालेका छन्। निजी कलेजहरूको बाक्लो उपस्थितिले अध्ययन–अध्यापनको परम्परागत शैली नै बदलिएको छ। सैद्धान्तिक पक्षलाई समेत प्रयोगात्मक ढंगबाट पढाएर विद्यार्थीलाई आत्मनिर्भर बनाउने गरिएको कलेज सञ्चालकहरू बताउँछन्। राजनीतिबाट केही अलग र नियमित पठनपाठनका कारण पनि निजी कलेज विद्यार्थीको रोजाइमा परेका हुन्।

हुन त निजी मात्र होइन; इन्जिनियरिङ, मेडिसिन, वन, कृषि जस्ता विषय अध्यापन हुने त्रिविका आङ्गिक क्याम्पस पनि स्तरीय पढाइका कारण विद्यार्थीको रोजाइमा छन्। यति हुँदाहुँदै पनि निजी क्षेत्रको भूमिकालाई स्वीकारेर नै त्रिविले आङ्गिक क्याम्पसमा समेत शुरू नगरेको ब्याचलर्स इन इन्फर्मेसन म्यानेजमेन्ट (बीआईएम) सञ्चालन अनुमति निजी कलेजहरूलाई दिइएको छ। त्यस्तै धेरैको रोजाइमा पर्ने बीबीए त्रिविका दुई आङ्गिक क्याम्पसमा सञ्चालित छन् भने निजी १५ कलेजमा। “हाम्रो प्रमुख उद्देश्य विद्यार्थीले समयसापेक्ष अध्ययन गर्न पाउन् भन्ने हो”, त्रिविका शिक्षाध्यक्ष प्रा. गुणनिधि न्यौपाने भन्छन्, “त्यस अनुरुप प्रक्रिया पूरा गरेर आउने कलेजलाई सञ्चालन अनुमति दिएका छौं।”

प्रयोगात्मक शिक्षामा जोड

p42
नयाँबानेश्वरमा रहेको के एण्ड के कलेज परिसरमा विद्यार्थी।


व्यवस्थापन संकायमा विद्यार्थीको पहिलो रोजाइ बीबीए र बीआईएम हो भने बीबीएस दोस्रो। बीबीएसका विद्यार्थीलाई वित्तीय क्षेत्रमा इन्टर्नसीपको अवसर खोजेर कामकाजी बनाउन पहल गरिएको कलेज सञ्चालकहरूको भनाइ छ।

स्वदेशी विश्वविद्यालय मात्र होइन, विदेशी विश्वविद्यालयको सम्बन्धनमा समेत प्राविधिक र प्रयोगात्मक शिक्षा दिने क्रम बढेको छ। इन्टरनेशनल अमेरिकन युनिभर्सिटी अमेरिकाबाट सम्बन्धन प्राप्त किङ्स कलेजका प्रिन्सिपल नरोत्तम अर्याल अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रममा नेपालको सन्दर्भ समेटेर अध्यापन गराइएको बताउँछन्। ब्याचलर्स इन बिजनेश एडमिनिष्ट्रेसन (बीबीए) र मास्टर्स इन बिजनेश एडमिनिष्ट्रेसन (एमबीए) का कक्षा सञ्चालन गर्दै आएको किङ्स कलेजले औद्योगिक भ्रमण तथा सम्बन्धित क्षेत्रका ज्ञाताका अनुभव साटासाट गरेर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने गरेको अर्यालको भनाइ छ।

सूचनाप्रविधि, विज्ञान र व्यवस्थापनसँगै पछिल्ला दिनमा फेसन टेक्नोलोजीतर्फ पनि आकर्षण बढेको छ। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बाँसबारीस्थित नमुना कलेज अफ फेसन टेक्नोलोजीले सन् २००२ देखि तीनवर्षे ब्याचलर्स इन फेसन डिजाइन (बीएफडी) को कक्षा शुरू गरेको हो। कलेजका को–अर्डिनेटर सनिज श्रेष्ठका अनुसार उत्पादित जनशक्तिमध्ये केही स्थापित व्यवसायी भएका छन् भने कतिपयले रोजगारीको राम्रो अवसर पाएका छन्।

p43
किङ्स कलेज, पुरानो बानेश्वरका विद्यार्थी प्रयोगात्मक कक्षामा। 

सूचनाप्रविधिको विकासका कारण नेपालीहरूमा फेशनप्रतिको रुचि बढेको छ। यसै कुरालाई ध्यानमा राखेर लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले फेशन डिजाइनको कक्षा शुरू गरेको छ। भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मैतीदेवीस्थित फाउण्डेशनले बीएस्सी इन एपेरल एन्ड फेसन डिजाइनसहित बीबीए, बीएस्सी इन इन्फर्मेसन टेक्नोलोजी, बीएस्सी इन एप्लाईड बायोटेक्नोलोजी र बीएस्सी इन नेटवर्क टेक्नोलोजीको पढाइ शुरू गरेको हो। समयानुकूल शिक्षामा जोड दिइएकोले उत्पादित विद्यार्थीहरू बेरोजगार बस्नु नपरेको कलेजका निर्देशक पंकज जलानको भनाइ छ।

यसैगरी त्रिविबाट सम्बन्धन पाएको के एन्ड के एजुकेसन फाउन्डेसन अन्तर्गत कान्तिपुर कलेज अफ बिजनेश म्यानेजमेन्ट एन्ड ह्युम्यानिटिज स्टडिजले स्नातक तहमा बीए, बीबीएससँगै बीबीए र ब्याचलर्स इन सोसियल वर्क (बीएसडब्लु) मा अध्यापन 


आधुनिक विषय मात्र होइन; कृषि, भेटनरी र खाद्य प्रविधि जस्ता क्षेत्रमा दक्ष जनशक्तिको माग देशविदेशमा समेत बढ्दो छ। यही वास्तविकतालाई ध्यानमा राखेर पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा १२ वर्षअघि खुलेको हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एन्ड टेक्नोलोजी (हिकास्ट) ले पहिलो सेमेस्टरदेखि नै प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको छ। कलेजका को–अर्डिनेटर घनश्याम लुईंटेलका अनुसार कृषि व्यवसाय व्यवस्थापन कक्षा शुरू गर्ने लक्ष्य राखेको कलेजले स्नातकोत्तरमा मासु र डेरी प्रविधि अध्यापन गराउँदै आएको छ।

p44
सिल्भर माउण्टेन स्कूल अफ होटल म्यानेजमेन्ट, लैनचौर।

स्नातकमा विद्यार्थीको अर्को रोजाइको विषय हो― होटल म्यानेजमेन्ट। पर्यटन विस्तारसँगै होटल र अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण यो विषय धेरैको रोजाइमा परेको हो। केही वर्षअघिसम्म नेपालका अधिकांश तारे होटलका कर्मचारीमा उपल्लो दर्जाका आधाभन्दा बढी भारतीय र विदेशी हुने गरेकोमा अहिले अधिकांश नेपाली भेटिन्छन्। स्वदेशमै दक्ष जनशक्ति तयार भएपछि नेपालीहरूले यस्तो अवसर पाएका हुन्। अमेरिकाको फ्य्राङ्कलिन र स्कटल्यान्डको क्विन मार्गेट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टले चारवर्षे कोर्समा विद्यार्थीलाई व्यावहारिक ज्ञानका लागि होटल पठाउने गरेको छ। कलेजका अध्यक्ष समिर थापा सिल्भर माउन्टेनबाट उत्पादित जनशक्तिले स्वदेश र विदेशमा समेत रोजगारीको अवसर पाएका बताउँछन्।

होटल सञ्चालनसँगै आतिथ्य सत्कार पर्यटन प्रबर्द्धनको अर्को महत्वपूर्ण पाटो हो। पोखरा विश्वविद्यालयको सम्बन्धनमा पोखरामा सन् १९९९ मा खुलेको नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज आतिथ्य सत्कारको जनशक्ति उत्पादन गर्ने पुरानो संस्था हो। कलेजका अध्यक्ष अशोक पालिखेका अनुसार यसअघिसम्म होटल म्यानेजमेन्ट पढ्न भारतमा वर्षेनि झ्ण्डै रु.१६ लाख तथा युरोप–अमेरिकामा रु.२२–२५ लाख खर्च गर्नुपर्ने बाध्यता थियो। तर अहिले पैसा विदेशिने क्रममा निकै कमी आएको छ। स्तरीय शिक्षामा निजी क्षेत्रको लगानीपछि उच्च शिक्षाका नाममा वर्षेनि करोडौं रुपैयाँ विदेशिनबाट जोगिनु सकारात्मक पक्ष हो।

p45
नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज, पोखरा ।

कतिपय कलेजले व्यवस्थापन र विज्ञान संकायका अधिक रुचाइने विषय अध्यापन गरेर प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएका छन्। पोखरा विश्वविद्यालयद्वारा सम्बन्धनप्राप्त नोबेल कलेजले व्यवस्थापनतर्फ बीबीए, ब्याचलर्स अफ कम्प्युटर सिस्टम, ब्याचलर्स इन हेल्थ केयर म्यानेजमेन्ट, ब्याचलर्स इन पब्लिक हेल्थ, बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल वायोकेमिष्ट्री, बीएस्सी माइक्रोवायोलोजी, बीएस्सी मेडिकल ल्यावरोटरी टेक्नोलोजी र डिप्लोमा इन फार्मेसी अध्यापन गराउँदै आएको छ। कलेजका प्रबन्ध निर्देशक सुरेन्द्र श्रेष्ठका अनुसार प्राविधिक विषयको पढाइ पूरा नहुँदै विद्यार्थीले काम पाएका छन्।

प्राविधिकसँगै सैद्धान्तिक विषयलाई पनि व्यावहारिक र रोजगारमूलक बनाउन खोजिएको गोल्डेन गेटका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले बताए। माइक्रोवायोलोजी, वातावरण विज्ञान र खाद्य प्रविधि जस्ता विषयका स्नातकले बेरोजगार बस्नु नपर्ने उनको धारणा छ। त्रिविको तीनवर्षे बीबीएस कार्यक्रम सञ्चालन गरेको आइन्स्टाइन कलेजका प्रमुख कार्यकारी निर्देशक कविराज राई व्यावहारिक शिक्षाका कारण प्रतिस्पर्धी र अब्बल जनशक्ति तयार पारिएको बताउँछन्। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा १२ वर्षदेखि बीबीए अध्यापन गराउँदै आएको कान्तिपुर भ्याली कलेजले गत वर्षदेखि ब्याचलर्स इन वायोटेक्नोलोजी (बीटेक) शुरू गरेको छ। प्राविधिक र व्यवस्थापकीय सन्तुलन मिलाउन कलेजले स्टेभिया बिरुवाको उत्पादन शुरू गरेको भाइस प्रिन्सिपल जितेन्द्रमान अमात्य बताउँछन्। उनका अनुसार बीटेकका विद्यार्थीले बिरुवा उत्पादन र बीबीए पढ्नेले मार्केटिङ तथा व्यवस्थापन गरी दुवैलाई व्यावहारिक ज्ञान दिन लागिएको हो।

बेथिति पनि
निजी क्षेत्रको प्रवेशसँगै शिक्षामा अस्वस्थ प्रतिस्पर्धा बढेको कलेज संचालकहरू स्वीकार्छन्। गैरशैक्षिक व्यक्तिको प्रवेशले समस्या आएको उनीहरूको ठम्याइ छ। स्वतन्त्र निकायबाट नियमन नहुँदा पनि यो क्षेत्रमा समस्या आएको हो। अर्कातिर गुणात्मक शिक्षाको लागि विदेशी विश्वविद्यालयसँगको सम्बन्धन राम्रो भए पनि सम्बन्धित देशमा समेत पहिचान नबनाएकाको सम्बन्धनले विद्यार्थीमाथि अन्याय भएको सिल्भर माउन्टेनका थापा बताउँछन्।

प्राविधिक र रोजगारमूलक विषयको सम्बन्धनले पछिल्लो समय तीव्रता पाएको छ। देशभर खुलेका होटल म्यानेजमेन्टका ३१ कलेजमध्ये आधाभन्दा धेरै पछिल्लो तीन–चार वर्षमा थपिएका हुन्। करीब दुईतिहाई त काठमाडौंमा मात्रै छन्। त्यस्तै त्रिविबाट १७ कलेजले बीबीएको सम्बन्धन पाएका छन्। त्रिविको बीबीए चलाउने दुई वटा आङ्गिक र १५ वटा निजी कलेमध्ये १४ वटा काठमाडौंमै छन्। देखासिखीमा नाफा कमाउने उद्देश्यले एकै ठाउँमा धेरै कलेजको स्वीकृति दिंदा विकृति बढेको सञ्चालकहरू बताउँछन्।

आफूखुशी विज्ञापन, महङ्गो शुल्क र तडकभडकले कलेजबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ। स्तरीय शिक्षा दिनेमा भन्दा शुल्क बढाउनेमा होड विद्यार्थीका लागि निल्नु न ओकल्नु भएको छ। तर एकाध कलेजका कमजोरीलाई आधार मानेर सिंगो निजी क्षेत्रले खराब गरेको भन्नेे निष्कर्ष निकाल्नु भन्दा गलत काम गर्नेमाथि कार्बाही हुनुपर्ने सरोकारवालाहरूको माग छ। उदारीकरणको युगमा शिक्षामा निजी क्षेत्रको लगानीलाई सकारात्मक ठान्ने शिक्षाध्यक्ष न्यौपाने त्यस्ता कलेजमाथि कार्बाही गरिने बताएका छन्। 

comments powered by Disqus

रमझम