२ असार २०७० | 16 June 2013

सहज यात्रा

Share:
  
- सरला गौतम
महिलाका लागि अगम र जोखिमपूर्ण मानिने ठाउँहरू सुगम बन्दैछन्।

विलाश राई
साँझ् आठ बजे त्रिपुरेश्वर चोकमा रोकिएको बसमा एक हूल मान्छे सीट भेट्टाउन हतारिंदै भित्र पस्छन्। महिला हुन् वा पुरुष, ठाउँ भेट्ने बस्छन्; नभेट्ने उभिन्छन्। अबेरसम्म काममा व्यस्त भएर घर फर्कंदै गरेका यो हूलमा महिलाको संख्या पुरुषकै हाराहारीमा छ। रातिको समयमा निर्धक्क सार्वजनिक यातायातमा सवार आत्मविश्वासपूर्ण महिलाको यो संख्याले समाजभित्र चुपचाप भइरहेको 'प्याराडिगम सिफ्ट' देखाउँछ।

बस र माइक्रो बसमा महिलाले दशकौंदेखि हिंसा खेप्दै आएका छन्। अस्वस्थ सोच भएका पुरुषहरू घुइँचोमा उभिंदा महिलाका संवेदनशील अंगहरू छुने र जबर्जस्ती जीउ टाँस्ने अवसर लिन भीडभाडयुक्त सार्वजनिक सवारी साधनको प्रयोग गर्दछन्। तर महिलाले खप्नुपरेको यातना घट्न थालेको छ।

आफूमाथि दुर्व्यवहार भइहाले गाला चड्काउन बेर नमान्ने महिलाको संख्याले दिमागमा व्यभिचारको बीउ बोकेर शहरी यात्रु बसमा सवार हुने पुरुषहरूलाई नियन्त्रित र सतर्क हुन बाध्य पारेको छ। केटी मान्छे सार्वजनिक गाडी चढ्नासाथ चञ्चल हुने आँखाहरू अब सामान्य र स्वाभाविक बन्दै गएका छन्। यातायातका साधन सबभन्दा धेरै यौन दुर्व्यवहारका घटना हुने ठाउँ हो।

बस र माइक्रोमा हुने यौन हिंसाका घटना ठ्याक्कै कति घट्यो भन्ने कुरा समाजशास्त्रीय अनुसन्धानको विषय पनि हो। तर, हिजोआज सबैखाले सार्वजनिक यातायातमा हिंड्दा र महिला–पुरुष दुवै थरी यात्रुको मुद्रा हेर्दा सकारात्मक परिवर्तन हुँदै गरेको अनुमान सहजै लगाउन सकिन्छ। उपत्यकाका बस र माइक्रोहरूमा हिजोआज दाउ हेरिरहेका पुरुष वा सम्भावित हिंसासँग डराइरहेका महिलाको मुद्रा कमै देखिन्छ। यात्रारत पुरुषहरूमा महिलाप्रतिको संवेदनशीलता बढेको देखिन्छ। ठेलमठेल भएर उभिएको समय होस् वा सीटमा जोडिएर बस्नुपर्दा, पुरुष यात्रुहरूमा भद्रता बढेको देखिन्छ।

महिलातर्फ हात बढाउन लालायित पुरुषमध्ये कोही चड्कन वा बज्र मुक्काको शिकार भइएला भनेर त कोही महिला हिंसाको केसमा परिएला भनेर हच्केका, सतर्क भएका हुनुपर्छ। महिलाकोे मात्र इज्जत जाने सोच पुरानो भइसकेको छ र पुरुषहरूले पनि आफ्नो इज्जतको ख्याल गर्दा निःसन्देह रूपमा सार्वजनिक यातायातका साधनहरू सभ्य र भरपर्दा हुँदैछन्। गलत क्रियाकलाप गर्नेको 'खैरियत' रहने छैन भन्ने विभिन्न खाले प्रत्यक्ष–अप्रत्यक्ष दबाबले काम गरेको देखिन्छ।

सडकमा होस् कि सार्वजनिक यातायातमा, महिलाहरू ठमठम हिंड्ने कुरामा काठमाडौं यसै पनि दक्षिण एशियाका अरू शहरको तुलनामा अगाडि छ। अरू दक्षिण एशियाली शहरबाट आएका महिलाहरू नेपाल आउँदा यो कुरा बारम्बार सुनाउँछन्– तिमीहरूको शहर महिलाका लागि धेरै फराकिलो छ। काठमाडौंका मात्र हैन, गाउँगाउँका पनि नेपाली महिलाले परिवारबाट फैलिएर देश छिचोल्दै संसारको फराकिलो क्षितिज छुँदैछन्। समाजमा महिलाको भूमिका तीव्रताका साथ बदलिरहेको छ। अबेरसम्म काम गरेर बस, माइक्रो वा टेम्पोमा घर फर्किरहेका मात्र हैन, विदेशमा कमाएर परिवार पाल्ने महिलाको संख्या पनि बढ्दो छ। महिलाको यो फेरिएको गतिविधि–भूमिकालाई समाजले चुपचाप स्वागत गरिरहेको छ।

महिला सशक्तिकरणको पक्ष र हिंसाको विरुद्धमा काम गरिरहेका संघ–संस्था तथा सामाजिक इकाइहरूको भूमिका उल्लेख गर्न लायक छ। महिला मुद्दामा उनीहरूले हासिल गरेको सफलतामा मिडियाको चासोले थप काम गरेको छ। पहिले विषय नै बन्न गाह्रो महिलाका समस्यालाई मिडियाले राष्ट्रिय मुद्दा बनाइदियो। अनि त महिलाको सवालमा पुरुषहरू नै सडकमा ओर्लन थाले जुन कुरा गत केही महीनाको 'अकुपाई बालुवाटार' आन्दोलनमा पनि देखियो। नेपाली समाज दिनदिनै खुला र सजिलो हुँदैछ। सार्वजनिक यातायातमा देखिने परिवर्तन त्यहीमध्येको एउटा आयाम हो।

comments powered by Disqus

रमझम