२ असार २०७० | 16 June 2013

एशियादेखि अष्ट्रेलियासम्म

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
नभेष चित्रकार (२८) फोटो पत्रकारिताको माध्यमबाट अन्तर्राष्ट्रिय मिडियामा जम्न थालेका छन्।

झट्ट हेर्दा पत्याउन नसकिने दुब्लो–पातलो ज्यानका नभेष दुई वर्षयता नेपाली जनजीवन, संस्कृति लगायतका विधागत रूपमा खँदिला तस्वीर खिचेर संसारलाई देखाइरहेका छन्। जेठको पहिलो साता उनले मत्स्येन्द्रनाथको रथको टुप्पामा 'फिक्स टाइमर' क्यामरा पठाएर खिचेको नरिवल फ्याँक्न लागेको तस्वीर संसारभरका मिडियाले उपयोग गरे।

पाँच वर्षअघि फोटो पत्रकारितामा लागेका नभेष दुई वर्षयता अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका नेपाल प्रतिनिधि छन्। उनले खिचेका नेपालका तस्वीरहरू विश्वका चर्चित अखबार न्यूयोर्क टाइम्स, गार्डियन, वाल स्ट्रिट जर्नल, वासिङ्टन पोष्ट र तिनका अनलाइन संस्करणमा प्रकाशित हुँदै आएका छन्। अमेरिकामा मुख्यालय रहेको रोयटर्सले नभेषको क्षमताकै कदरस्वरुप अष्ट्रेलिया, बर्मा, ब्याङ्कक् र भारत पठाइसकेको छ। उनले बर्माको आम निर्वाचन, अष्ट्रेलियन ओपन टेनिस, ब्याङ्कक्को खेलकुद र भारतको रेल्वे खिच्ने रोयटर्स 'असाइनमेण्ट' सन्तोषजनक ढंगबाट पूरा गरेका छन्। नेपाली तन्नेरीको लागि यस्तो 'असाइनमेण्ट' आफैंमा महत्वपूर्ण कुरा हो।

नेपालमा २०६५ सालको संविधानसभा निर्वाचनको तस्वीर खिच्ने मौका नपाएका नभेषले लोकतन्त्रवादी नेतृ आङसाङ सुकीको चुनावी यात्राको तस्वीर खिच्दै मे–अप्रिल २०१३ को ३५ दिन बर्मामा बिताए। नेपालमा स्पोर्टस् फोटोग्राफी नगरेका उनले २०१३ जनवरीको दुई साता अष्ट्रेलियन ओपन खिच्दै मेलबर्नमा बिताए अनि भारतीय रेल्वे व्यवस्थापनको तस्वीर खिच्न तीन महीना रेलयात्रा गरे। “ब्याङ्कक्मा चाहिं फोटो पत्रकारिता तालीमसँगै खेलकुद प्रतियोगिता खिचें”, नभेष भन्छन्।

नभेषका बर्माको आम निर्वाचन

भारतको रेल्वे

कतिपय मान्छे फोटो पत्रकार गोपाल चित्रकारको भतिज भएकाले नभेषलाई रोयटर्सले पत्याएको ठान्छन्। उनको कलामा फोटो पत्रकार काकाहरू गोपाल, श्याम र सुदर्शन चित्रकारको देन अवश्य छ। तर, रोयटर्सको आँखा भने उनकै प्रतिभा, क्षमता र मिहिनेतमा परेको हो। काका श्यामको बागबजारस्थित ग्राफिक आर्टमा एक वर्ष काम गरेका नभेषले त्यसपछि अंग्रेजी दैनिक हिमालयन टाइम्स मा अढाइ वर्ष बिताए। “त्यसपछि मात्र मेरो लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ढोका खुलेको हो”, उनी भन्छन्।

शुरूमा नभेषले रोयटर्सको सिंगापुरस्थित वर्ल्ड पिक्चर डेस्कमा केही तस्वीर पठाउँदा स्वीकृत भएपछि न्यूयोर्क टाइम्स जस्तो पत्रिका र अनलाइनमा उनको वाईलाइन पुगेको थियो। रोयटर्सबाट गोपाल चित्रकार रिटायर हुने बेलामा सिंगापुर डेस्क प्रमुख रसेल बोयलले प्रस्ताव राख्दा नभेषले नाइँ भन्ने कुरै थिएन। यसरी रोयटर्सको नेपाल प्रतिनिधि छानिएका उनले यस बीचमा दंगा, अपहरण जस्ता घटनामा जोगिंदै फोटोग्राफी कसरी गर्ने भन्ने तालीम लिएका छन्। उनी भन्छन्, “शुरूमा जे खिचे पनि भइहाल्छ भन्ने थियो, तर अहिले विश्वभरका फोटो पत्रकारहरूसँग प्रतिस्पर्धा गरिरहँदा एकदमै चुनौतीपूर्ण छ।”

, ब्याङ्कक्को खेलकुद

, अष्ट्रेलियन ओपन टेनिस

तर पनि नेपालको भौगोलिक र जातीय विविधताले नभेषलाई काममा अलिकति सजिलो पारेको छ। किनभने, अरूले आफ्नै देशमा यति 'कलरफुल' परिवेश पाउँदैनन्।

नेपालमा फोटो पत्रकारिताले तीव्र प्रगति गरिरहे पनि फोटोकै कमाइले व्यवहार धान्न सकिने बेला भइनसकेको उनको अनुभव छ। कतिपय मिडिया र फोटो पत्रकारले व्यावसायिक आचरणमा ध्यान नदिएको समस्या आफ्नो ठाउँमा छँदैछ। नभेष भने दुवै हिसाबले व्यावसायिक बनेका छन्। समाजका कस्तो पात्रको तस्वीरमा अनुहार देखाउनुपर्छ र कस्तोका हुँदैन भन्ने राम्ररी बुझेका उनी अहिले मासिक १००० डलर (रु.९२ हजार) तलब बुझ्छन्।

द हिमालयन टाइम्स को रु.७००० बाट व्यावसायिक जीवनमा आएका काठमाडौं नयाँबजारका नभेषले अहिले फोटोग्राफी बाहेक केही सोचेका छैनन्। फोटोग्राफीलाई करिअर बनाउन चाहनेहरूलाई उनको सुझाव छ, “अरू विधाको जस्तै फोटोग्राफीको पनि पहिलो शर्त मिहिनेत नै हो, त्यसकारण अल्छी नमान्नुहोस्, राम्रो फोटोग्राफर बन्नुहुन्छ।”

comments powered by Disqus

रमझम