२ असार २०७० | 16 June 2013

जिज्ञासु राजाबाट विद्वान नेता

Share:
  

सार्वभौम राष्ट्र जम्मु–काश्मीरका अन्तिम राजा कर्ण सिंह बेलाबेलामा नेपाली राजनीतिसँग जोडिंदै आएका छन्। २०६२/६३ सालको आन्दोलनका बेला पनि उनलाई भारतले सम्झौतादूतको रूपमा काठमाडौं पठाएको थियो। जम्मु–काश्मीर भारतमा विलय हुँदा त्यहाँका राजा रहेका सिंह गणतन्त्र भारतका एकजना कुशल नेताको रूपमा प्रतिष्ठित छन्। सिंहको पारिवारिक सम्बन्ध नेपालका राणा परिवारसँग जोडिएकाले भारतमा उनलाई नेपाली राजनीतिका भित्री जानकारका रूपमा लिइन्छ। उनी मोहनशमशेर राणाका जेठा छोरा शारदा शमशेरका छोरीज्वाईं हुन्।

केही समयअघि 'अक्सफोर्ड इण्डिया पेपरव्याक'ले अंग्रेजीमा प्रकाशित गरेको सिंहको 'अटो वायोग्राफी'को नेपाली संस्करण 'मेरो कथा' बजारमा आएको छ। पुस्तकमा काश्मीरको पूर्व राजाबाट भारतीय लोकतन्त्रका नेता हुँदासम्मको सिंहको राजनीतिक यात्राको रोचक वर्णन छ। भारतको केन्द्रीय राजनीतिमा अलग स्थान बनाएका सिंहको राजनीतिक यात्रा जन्मसँगै शुरू भएको थियो। उनका पिता हरि सिंह जम्मु–काश्मीरका महाराज भएकाले उनी युवराजको रूपमा जन्मिएका थिए। राजघराना भए पनि पिता र माताको सम्बन्ध सहज नबनेको असर सिंहको मनोविज्ञानमा परेको किताब पढेपछि थाहा हुन्छ।

राज्य विलय भएपछि सर्वशक्तिमान नेता जवाहरलाल नेहरूसँग सम्बन्ध सहज हुन नसक्दा सिंहका पिता हरि सिंह भारतबाट निष्काशित हुनुपर्‍यो। पुस्तकमा भारत स्वतन्त्र भएपछि जम्मु–काश्मीरको विषयमा गरेका विभिन्न निर्णय र कटुताहरूको निराकरणमा सिंहले खेलेको भूमिकाको आधिकारिक वर्णन छ। यो वर्णन भारतीय राजनीतिक इतिहासको एउटा महत्वपूर्ण चरणको वास्तविकता हो। महाराज हरि सिंह र प्रधानमन्त्री शेख अब्दुल्लाबीचको विवादले त्यतिबेलाको काश्मीरी राजनीतिमा पारेको असरको वर्णन आत्मकथामा छ।

जम्मु–काश्मीरलाई भारतमा विलय गर्ने लिखित निर्णय १९४७ अक्टुबरमै भइसकेको भए पनि त्यसका अनेक विवाद र प्रभावहरू पछिसम्म रहे। प्रधानसेनापति समेत रहेका हरि सिंह र प्रधानमन्त्री अब्दुल्लाबीचको असमझदारीको कतिपय प्रसंगले २०४७ देखि २०६२ सालसम्मको नेपालको राजनीतिक अवस्थाको झल्को दिन्छ। पुस्तकका केही अध्यायले नेपालको वर्तमान राजनीतिक अवस्था, संवेदनशील बनेको राष्ट्रिय स्वाधीनता र संक्रमणको सन्दर्भमा गम्भीर बन्न प्रेरित गर्छ। जम्मु–काश्मीर र भारतीय इतिहासको एउटा महत्वपूर्ण दस्तावेजको रूपमा आएको कर्ण सिंहको 'मेरो कथा' यस अर्थमा नेपाली पाठकका लागि निकै अर्थपूर्ण हुन सक्छ।

सिंह इतिहास र वेदान्त दर्शनका विद्वान राजनीतिज्ञको रूपमा सुपरिचित छन्। युवराज, महाराज, लोकतान्त्रिक नेता, विश्वविद्यालयका उपकुलपति आदि अनुभव सँगालेका सिंहले आफू पिताभन्दा माताबाट बढी प्रभावित भएको उल्लेख गरेका छन्। हरि सिंहका चार रानीमध्ये आफ्नी माता तारादेवी ग्रामीण परिवारबाट आएकाले अरू राजपुत्रको तुलनामा आफ्नो हुर्काइ फरक भएको सिंहले बताएका छन्। सामान्य मानिससँग भेटघाट नगर्ने महाराज हरि सिंहको अहंको सिको छोराले नगरोस् भन्ने चाहना माताको थियो। त्यसैले उनले कर्ण सिंहलाई सबैसँग मिल्न प्रेरित गरेको बुझिन्छ। माताको प्रेरणाबाट सामाजिक सचेतनाप्रति संवेदनशील बन्न सिकेको सिंहको कथन छ।

सिंहले किताबमा भारत स्वतन्त्र भएलगत्तै त्यसमा विलय भएको जम्मु–काश्मीरको इतिहास, गणतन्त्र भारतमा इन्दिरा गान्धीसँगको सहमति र विमति तथा राजाबाट लोकतान्त्रिक नेता बन्ने प्रक्रियाका जटिलता वर्णन गरेका छन्। यसले आत्मकथालाई जम्मु–काश्मीर र भारतको तात्कालिक इतिहासको चाखलाग्दो अध्याय बनाएको छ। नेपाली संस्करणको अनुवाद गोपालप्रसाद दुलालले गरेका छन्। भाषाको स्तर सामान्य छ।

मुमाराम खनाल

मेरो कथा (आत्मसंस्मरण)

लेखकः कर्ण सिंह

प्रकाशकः नेपाल–भारत मैत्री संघ/डायनामिक प्रकाशन

काठमाडौं

पृष्ठः ३४६+२८,

मूल्यः रु.७५०

comments powered by Disqus

रमझम