२ असार २०७० | 16 June 2013

'भाषा प्रवर्द्धनका लागि काव्य–यात्रा'

Share:
  
कवि तथा साहित्यकार वसन्त चौधरी विश्व काव्य–यात्रामा छन्। एक वर्षअघि अमेरिकाको न्युयोर्कमा मेघा काव्य संग्रहको ई–बुक लञ्चसँगै यात्रा शुरु गरेका उनी आउँदो साता भारतको सिक्किममा प्रस्तुत हुँदैछन्। यात्राकै सेरोफेरोमा चौधरीसँग अनुशीलले गरेको कुराकानी

विश्व काव्य–यात्रा किन गर्न मन लाग्यो?

यो यात्रा गर्नुको एउटै उद्देश्य नेपाली भाषालाई विदेशमा लगेर प्रवर्द्धन गर्नु हो। त्यहाँका नेपालीका लागि मात्रै नभएर अरु समुदायमा पनि नेपाली भाषामा नेपालबाट कार्यक्रम गर्ने रहेछन् भन्ने सन्देश जाओस् भन्ने मेरो अर्को उद्देश्य हो।

अमेरिका, बेलायत र दुबईको अनुभव कस्तो रह्यो?

मेरो अनुभवमा नेपाली डायस्पोरामा एउटा बेग्लै खालको साहित्यिक ऊर्जा देखिन थालेको छ। विदेशमा बसेर आफ्नो इलममा लाग्दै साहित्यमा लाग्नेहरु बढेका छन्। अमेरिका र बेलायतमा मैले यही अनुभव गरें। त्यहाँ साहित्यमा गुणात्मकता पनि रहेछ। बढी साहित्य अनुरागी बेलायतमा पाएँ। साहित्यिक संस्थाहरुको छाता संस्था पनि रहेछ। दुबईमा पनि नेपाली साहित्य–संगीतप्रतिको चेतना प्रबल रुपमा देखें।

साहित्यको स्तर कस्तो पाउनुभयो?

लण्डनमा राम्रो छ। दुबईमा पनि लिटरेचर फेस्टिभल नै थियो, १५ जना नेपाली कविहरुले कविता सुनाएका थिए। मेरो जीवनदर्शन र प्रेम सम्बन्धी विषय थियो। बाँकीले देशको अहिलेको राजनीतिक दुरवस्थामा चिन्ता व्यक्त गरेका थिए।

नयाँ पुस्तामा नेपाली भाषा–संस्कृति कसरी हस्तान्तरण भइरहेको छ?

लण्डनमा नयाँ पुस्तामा निकै उत्साह पाएँ। त्यहाँ सहभागीमध्ये ४० प्रतिशत नयाँ पुस्ताका थिए, जो नेपाली भाषा, संस्कृति सिक्नुपर्छ भनेर लागेका छन्। कतिपयले आफ्ना छोराछोरीले नेपालीपन बिर्सेलान् भनेर सानैदेखि भाषा पढाएको भेटें।

न्यूयोर्कबाट शुरु भएको अभियानलाई कति देशमा पुर्‍याउने योजना छ?

दुई महीनापछि नै अमेरिकाका दुइटा राज्यमा पुग्दैछु। त्यसपछि केही दक्षिण पूर्वी एशियाका देशहरु पुग्ने इच्छा छ। नेपालीको बाक्लो उपस्थिति रहेको हङकङबाट पनि निम्तो आइरहेको छ। सिंगापुर र मलेसियाबाट पनि निम्तो छ। आगामी डिसेम्बरभित्र यी ६ वटामा जान्छु। यो क्रम निरन्तर चलिरहनेछ।

comments powered by Disqus

रमझम