२ असार २०७० | 16 June 2013

'आइ एम ब्लेस्ड'

Share:
  
- निशा अधिकारी

म १६ वर्षकी हुँदा मेरै उमेरका पेम्बा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा पुगेर कान्छो आरोहीको रेकर्ड बनाएका थिए। पेम्बाको आरोहणपछि कहिले–कहिले कति नेपाली महिला सगरमाथाको शिखर पुगेका रहेछन् भनेर बुझ्न थाले। यसबीचमा १० जना नेपाली महिलाको टोलीले सफल आरोहण गर्‍यो। त्यो समूहकी शैली बस्नेतलाई भेटेर अनुभव सुनेपछि आरोहणको जोश बढ्यो। असार २०६९ मा पर्वतारोहण कोर्ष गर्न मनाङ गएँ। र, २५ वैशाख २०७० मा सगरमाथा आरोहणका लागि काठमाडौंबाट मेरो यात्रा शुरू भयो।

आरोहणमा मैले चार वटा खतराको परिकल्पना गरेकी थिएँ– लुक्लामा ल्याण्डिङ, सगरमाथा चढ्दा, ओर्लिंदा र काठमाडौंमा ल्याण्डिङ गर्दा। त्यसपछि मात्र पूरै सुरक्षित हुन्छु जस्तो लाग्थ्यो। लुक्लामा ल्याण्ड गर्ने बेला जहाजले टर्न लिंदा एकदमै डर लाग्यो। लुक्लाबाट नाम्चे, स्याङ्बोचे, पाङ्बोचे हुँदै ९ दिनमा बेसक्याम्प पुग्यौं। त्यो बाटोमा गुम्बा, गुराँस र हिमाल हेर्दा नेपालमा जन्मिएकोमा आफूलाई भाग्यमानी ठानिन्छ। किन ढाँट्नु? त्यसअघि मलाई थुक्क म किन यस्तो देशमा बसिरहेको छु; यो पनि छैन, त्यो पनि छैन भन्ने लाग्थ्यो। तर, सगरमाथा यात्रापछि लाग्यो– आइ एम ब्लेस्ड! यदि अब फेरि अर्को जुनीमा पनि जन्मिने ठाउँ छान्न पाएँ भने नेपालमै जन्मिन चाहन्छु।

बेसक्याम्पमा बस्दा एकजना भारतीय आरोहीले तिरंगा गाडेर फर्फराए। मैले सेभेन समिटका निर्देशक टासी शेर्पालाई भनेर त्यो झण्डा झिक्न लगाएँ। ती भारतीयलाई आफ्नो राजदूतावास बाहेक अन्त त्यसरी झण्डा फहराउन पाइँदैन भन्ने थाहा रहेनछ, वादविवाद सकियो। त्यहाँ पुगेपछि म राष्ट्रियताको बारेमा बढी गम्भीर भएँ। विदेशीहरूसँग चुचुरोमा पुग्दा र त्यहाँ नेपालको झण्डा फर्फराइरहेको देख्दा यो भावना अझ् प्रबल बन्दो रहेछ। भाग्यवश, सगरमाथा हाम्रो हो।

हत्केलामा ज्यान

८००० हजार मिटरभन्दा अग्ला १४ चुचुरा बीचको बेसक्याम्पमा पहिलो रात हिमपहिरोको गड्याङगुडुङ आवाजले म निकै अत्तालिएँ। टासी दाइले यहाँ सधैं यस्तै हुन्छ भनेपछि सम्हालिएँ। त्यही कारण यसलाई 'डेथ जोन' भनिंदो रहेछ। म यो पटक नसके अर्को पटक सगरमाथा चढ्न चाहन्थें, तर मर्न चाहन्नथें। एक महीना बेसक्याम्पमा बसेर ३ जेठको बिहान २ बजे म उकालो लाग्दा आमा, भाइ अरू शुभचिन्तकहरूले भगवानसँग मेरो सुरक्षाको प्रार्थना गरिरहनुभएको थियो। मैले भगवानलाई चुचुरोमा पुर्‍याइदेऊ त भनिनँ, तर सुरक्षित राखिदेऊ भनिरहें।

बेस क्याम्पमा मृत्युका खबर आइरहन्थे। हामी शिखरतिर लाग्ने क्रममा ७ जना मरिसकेका थिए। तीमध्ये दुई जना हाम्रै समूहका थिए। त्यहाँ त मृत्युका खबरले मानसिक रूपमा बलियो बनाउँदो रहेछ। प्रत्येक दोस्रो क्याम्पमा पुग्दा असुरक्षाको एक चरण पार गरें भन्ने लाग्ने। दशचोटि सगरमाथा चढिसक्नुभएका जाङ्बु दाइ हामीसँग हुनुहुन्थ्यो। खुम्बु आइसफलमा उहाँले मलाई दिनुभएको हात भगवानको हातभन्दा कुनै अर्थमा कम थिएन। त्यसक्रममा केही सेन्टिमिटरको फरकको अर्थ जीवन र मृत्यु हुन जान्थ्यो। सगरमाथा अभियानको ६ दशकमा यो आइसफलबाट कति जीवन झर्‍यो कुनै हिसाब छैन।

बेसक्याम्प माथिको जोखिम भनिसाध्य हुँदैन। ज्यान हत्केलामा राखेर हिंड्नुपर्छ। क्याम्प १ देखि क्याम्प ४ को ५/६ घण्टाको दूरी छ। क्याम्प १ मा केहीबेर आरामपछि क्याम्प २ मा २ दिन र क्याम्प ३ मा १ रात बस्यौं। त्यहाँबाट बिहान ७ बजे उकालो लागेको दिउँसो १ बजे क्याम्प ४ पुग्यौं। क्याम्प ४ मा सामान्यतः बास बसिंदैन। त्यहाँ आराम गरेर बेलुका ८ बजे चुचुरोतर्फको यात्रा शुरू भयो।

शिखरमा स्वर्ग

म निकै थाकिसकेकी थिएँ। हिलारीस्टेप पुग्नु अगाडि एउटा निकै लामो ढुंगा नाघ्नुपर्छ। त्यहाँ मलाई सास फेर्न गाह्रो भएपछि अक्सिजन मास्क खोलिदिएँ। जाङबो दाइ आएर हेर्दा अक्सिजन आउने पाइप चिसोले जमिसकेको रहेछ। उहाँले आइस फोरिदिनुभयो। उहाँको पनि पाइप जमेछ। त्यसलाई पनि फोरियो।

हिलारी स्टेप नाघ्दा सूर्योदय भयो, जसले मेरा सारा थकान बिर्साइदियो। मैले आफैंलाई बिर्सें। म बादलमाथि सूर्य किरणमा तैरिरहेकी थिएँ। तल सूर्यमा नुहाएको बादल र हिमालको सौन्दर्य सिवाय अरू केही थिएन। सूर्योदयको यो माहोलमा स्वर्गै आइपुगें जस्तो लाग्यो। बिहान ७:१५ बजे चुचुरोमा पुगेर जाङ्बु दाइ र मैले देशको झण्डा फहरायौं र २० मिनेटसम्म विना अक्सिजन बस्यौं। बल्ल मैले घरपरिवार, आफन्त र साथीसँगीहरूलाई सम्झों, बडो कृतज्ञ हुँदै।

बेसक्याम्पदेखि क्याम्प १ सम्म रमाइलोसँग आइपुगेकी मलाई क्याम्प २ पुग्न गाह्रो भएको थियो। म कम उमेरका फुच्चे आरोहीहरूसँग हिंडेकी थिएँ। क्याम्प ४ माथि मेरो अगाडिको एउटा फुच्चे हिंड्नै मानेन। रुकस्याक र अक्सिजनका बोतलहरू फालिएको ठाउँसँगै एकजना आरोही डोरीमा उँधोमुण्टो झुण्डिरहेको देखेर ऊ रोकिएको रहेछ। म चाहिं छिटो हिंड, छिटो हिंड मात्रै भनिरहेकी थिएँ। ती बंगलादेशी आरोही अहमद हुसैन (३५) लाई त्यहीं छाडेर हामी उकालो लाग्यौं। हामी फर्किंदा उनी त्यहीं थिए।

आफ्नै ज्यान कतिखेर जाने हो भन्ने टुंगो नहुने भएकाले यत्रतत्र भेटिने लासहरूप्रति संवेदना हराउँदो रहेछ। शिखरमा पुगेकै दिन हामी क्याम्प ४ झारेर बस्यौं। अर्को दिन क्याम्प २ मा र अर्को दिन बेसक्याम्प आइपुग्यौं। त्यसक्रममा फर्किंदा जापानी, कोरियाली, चिनियाँ र बंगलादेशीको गरी सात वटा लास हेर्नुपर्‍यो।

कोरियाका सुङ हो सेओ (३४) सगरमाथालाई अक्सिजन विना आरोहण गरेको ८००० मिटर माथिका १३ औं चुचुरो बनाउन हिंडेका थिए। उनले मलाई नेपाली नायिका भनेर सम्मानका साथ बेसक्याम्पको आफ्नो टेण्टमा बेलुकाको खाना खान बोलाएका थिए। सन् २००९ को मिस कोरियासँग विवाह गरेका उनले सगरमाथाबाट फर्किएपछि बच्चा जन्माउने योजना पनि सुनाएका थिए। तिनै युवकलाई क्याम्प ४ बाट आधा घण्टा जति माथिको भीरमा मर्नलाई र्‍याल काढिरहेको देख्नुपर्‍यो। उनको कोरियन सहयात्रीलाई अक्सिजन लगाइदेऊ भन्यौं तर विना अक्सिजनको रेकर्ड बनाउन चाहेका सुङ होले त्यो चाहेनन्।

comments powered by Disqus

रमझम