२ असार २०७० | 16 June 2013

नाच राम्रो नेपाली

Share:
  

रिमिक्समा बहकिएका नेपाली कलाकारहरूले गीत–संगीत मात्र होइन, नेपाली नृत्यको मौलिकतामा समेत ध्यान दिन छाडेको जगजाहेर छ। यस्तो अवस्थामा मौलिक नेपाली कला–संस्कृतिको नृत्य फाँटमा अढाइ दशकबाट सक्रिय छिन्, जापानकी युको ओकामोतो। उनीबारे गैर–आवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङ भन्छन्, “मौलिक नेपाली नृत्यमा उहाँले पुर्‍याउनुभएको योगदान अतुलनीय छ।”

जापानस्थित नेपाली संघ–संस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरूमा चर्या, झ्याउरे, सेलो, मारुनी लगायतका लोक नृत्यहरू प्रस्तुत गरिरहेको भेटिने ओकामोतोले राजधानी टोकियोकै कोमागोमेमा नेपाली मौलिक नाचहरू सिकाउन थाङकुनोमाई (सगरको नृत्य) प्रशिक्षण केन्द्र खोलेको १९ वर्ष भइसक्यो। पूर्णतः नेपाली सजावट भएको थाङकुनोभित्र नेपालका विभिन्न जातजातिका भेषभुषा र मादल, बाँसुरी, धिमे, ढोलक, सारङ्गी लगायतका मौलिक बाजा संग्रहित छन्। “अहिलेसम्म यहाँ पाँच हजारभन्दा बढी जापानीले नेपाली नृत्य सिके”, टोकियोकै सेतागायकुकी ओकामोतो भन्छिन्।

१० वर्षदेखि टोकियोको वाको युनिभर्सिटीमा नेपाली भाषा र नृत्य पढाउने उनलाई विश्वविद्यालयको नृत्य क्लबबाट बाली नृत्य सिक्न इण्डोनेशिया पुगेपछि हिन्दू नृत्यले नेपालतिर तानेको थियो। नेपाल पुगेपछि भने उनी हिन्दूसँगै विभिन्न लोक नृत्यहरूतिर आकर्षित भइन्। त्यसपछि नेपालका नृत्यहरू ओकामोतोको जीवनको लय बन्यो। उनी सोलुखुम्बुको शेर्पा होस् कि बर्दियाको थारू नृत्य, भावाभिव्यक्तिका साथ पूरा मौलिक पारामा नाच्छिन्। चर्या, स्याब्रु, साकेला लगायतका नृत्यमा पनि उनी उत्तिकै पारंगत छिन्।

२८ वर्षदेखि नेपाली नृत्यसँग जोडिएकी ओकामोतोको १६ वर्षअघि नेपाली व्यवसायी प्रेम मल्लसँग वैवाहिक सम्बन्ध कायम भएपछि नेपालसँग अझ् कसिलो गरी बाँधिन पुगिन्। उनी नेपालीहरू कला–संस्कृतिमा धनी भएर पनि आफ्नो सम्पदाप्रति गम्भीर नभएको गुनासो गर्छिन्। “तपाईंहरूलाई आफ्नो हीरामोती जोगाउनुहोस् भन्न चाहन्छु”, उनी भन्छिन्।

शब्द, तस्बीरः ऋषिराम कट्टेल, जापान

comments powered by Disqus

रमझम