२ असार २०७० | 16 June 2013

अधिकृत बन्ने चाहना

Share:
  

पहिलो मिस थकालीको ताज पहिरिएकी अश्विनी थकाली (२२) लाई सरकारी सेवामा प्रवेश गरेर स्वास्थ्य क्षेत्रमा काम गर्ने इच्छा छ। पोखरा विश्वविद्यालयको स्नातक तहमा 'पब्लिक हेल्थ' अध्ययन गरिरहेकी उनी भन्छिन्, “रोग लागेपछि उपचार होइन कि रोग लाग्न नदिने गरी जनतालाई स्वास्थ्य चेतना जगाउनुपर्छ।” सके सरकारी नसके एनजीओ वा आईएनजीओमा काम गरेर ग्रामीण भगेका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने दृढइच्छा उनमा छ। उनी भन्छिन्, “अध्ययनपछि ग्रामीण भेगमा स्वास्थ्य सचेतना जगाउन लागिपर्नेछु।”

मोडलिङमा खासै रुचि नभए पनि पढाइ सकेपछि भने अवसरलाई नलत्याउने पक्षमा छिन् उनी। मिस थकाली प्रतियोगिताले आत्मविश्वास बढाएको उनको अनुभव छ। उनी भन्छिन्, “प्रतियोगिताले थकाली जातिका नयाँ पुस्तालाई आफ्नो भाषा–संस्कृतिको बारेमा जान्ने अवसर मिल्यो।” टे्रनर नेपालले थकाली भाषा, संस्कृतिको प्रवर्द्धन गर्न आयोजित मिस थकालीको उपाधि जितेकी उनले नगद रु.५० हजार हात पारिन्। १८ जेठमा पोखरामा भएको प्रतियोगितामा उनले १९ प्रतिस्पर्धीलाई पछि पारेकी थिइन्। पोखरा अर्चलबोटकी अश्विनीको पुर्ख्यौली घर मुस्ताङको टुकुचे हो।

माधव बराल, पोखरा

comments powered by Disqus

रमझम