भूम्या रौनक

Share:
  

रुकुमको तकसेराबाट दाङ बसाइँ सरेकी जुनु बुढाले नजिकिंदो भूम्या (नोगोबाङ्गे) पर्वका लागि नयाँ कपडा किनिसकिन्। मगर विद्यार्थी संघ दाङकी अध्यक्ष समेत रहेकी जुनु यस वर्ष घोराहीमा भूम्या महोत्सव आयोजना गर्न खटेकी छन्। तकसेराबाटै दाङ सरेकी लाख बुढा मगरले पनि अहिले आफ्नो ढल्कँदो उमेर बिर्सेकी छन्। भूम्याकी अगुवा नै भएकीले उनलाई एक हिसाबले तरुनी जोश देखाउन कर पनि लागेको छ।

भूम्या खाम र पाङ मगर समुदायको प्रमुख पर्व हो। भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन्। वैशाख–भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि १ असार प्रमुख अवसर हो। प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ। आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य हो। यो अवसरमा गाउँका भद्रभलाद्मी बसेर 'जनप्रतिनिधि' छान्ने परम्परा पनि छ।

भूम्या नाच्ने ठाउँलाई नागोपो भनिन्छ। नागोपोमा समूह बनाएर नाच्ने परम्परागत भेषभुषाका युवक–युवती बुकी फूल टिप्न अग्ला पहाड–हिमालमा जान्छन्, जसलाई 'नोगोपो जाने' भनिन्छ। अर्नीपानी/सगुन बोकेर 'नोगोपो जाने'हरूले ल्याएको रंगीविरंगी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्छन्।

उनीहरूको शरीरमा आएको भूतप्रेतलाई बूढापाकाले फुकफाक गरेर झारिदिन्छन्। उनीहरूले ल्याएको बुकी फूल गाउँको सबै घरमा पुर्‍याइन्छ। भूम्या नाच १ असार बिहानको पूजापछि शुरू हुन्छ।

पुजारीले पूजा विधि सकेपछि मार (भेडा, बोका, कुखुरा, सुँगुर) लाई दौडाएर गाउँ निकाला गरिन्छ। त्यसलगत्तै महिलाहरूले ध्वाँसो, खरानी, दशैंमा ढोकामा राखिएको टीका–जमरा घरबाहिर फाल्छन्। यसो गर्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने विश्वास छ। गाउँ निकाला गरिएको मारलाई भूम्या थानमा काटिन्छ। गाउँ निकाला गर्दा केटाहरूले पल्टाउँदै तल खोलामा लुकाएको मारलाई बूढापाकाहरूले खोजेर भेट्टाउनुपर्छ। भेट्टाएपछि त्यही खोलामा अर्को बोकाको बलि दिइन्छ। माओवादी विद्रोहका कारण केही वर्ष बन्द भएको भूम्या नाचको २२ चाल १७ मा खुम्चिएको छ।

देविका घर्ती मगर, दाङ

comments powered by Disqus

रमझम