२ असार २०७० | 16 June 2013

बुर्का छाडेर सेतो कोट

Share:
  

टेकेन्द्र बस्याल
बुर्काले मुख छोपेर हिंड्ने परम्परा रहेको मुस्लिम समुदायकी नजमुस्सबा अन्सारीलाई अचेल अस्पतालमा सेतो पहिरनमा ठाँटले हिंडेको भेटिन्छ। उनी बाँकेबाट एमबीबीएस गर्ने मुसलमान समुदायकी पहिलो महिला हुन्।

सबै पेशा व्यवसायमा निश्चित अनुशासन चाहिने बताउने अन्सारीलाई आफूले अपनाएको चिकित्सा पेशा पनि धार्मिक सीमा बाहिरको लाग्दैन। उनी भन्छिन्, “अनुशासन र आफ्नो सीमामा बस्ने हो भने बुर्का नलगाउँदा पनि फरक पर्दैन।”

कक्षा ९ पढ्दादेखि विज्ञानमा रूचि राख्न थालेकी नजमुले नेपालगञ्जको मोर्डन पब्लिक माविबाट २०५३ मा एसएलसी उत्तीर्ण गरेपछि महेन्द्र उच्चमाविबाट विज्ञानमा प्लस टु सकिन्। व्यापारमा जमेका उनका पिताले डाक्टर पढ्ने एक्ली छोरीको आग्रहलाई एकै पटकमा स्वीकारेपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भइन्। जहाँबाट उनले २०६१ मा एमबीबीएस सकिन्। त्यहीं काम गर्दै उनले २०६८ मा एमडी पूरा गरिन्।

आफूले पढेकै मेडिकल कलेजमा पढाइरहेकी नजमु रहरमा चिकित्सा पढेको बताउँछिन्। मुस्लिम धार्मिक ग्रन्थको अध्ययनमा पनि रुचि राख्ने उनी चिकित्सा पढाइ र पेशा मुस्लिम धर्म अनुकूल रहेको मान्छिन्।

नेपालमै सबैभन्दा धेरै मुस्लिम समुदाय बसोबास गर्ने शहर नेपालगञ्जमा छोरीलाई पढाउने बारे पहिले जस्तो परम्परागत धारणा अहिले छैन। नजमु भन्छिन्, “अहिले हाम्रो समुदायमा पनि छोरीलाई कक्षा १२ सम्म पढाउने चलन आइसकेको छ।” उनले भने जस्तै चिकित्सा, इञ्जिनियरिङ्ग र व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गर्ने मुस्लिम युवती नेपालगञ्जमा बढ्दैछन्।

तुफान न्यौपाने

comments powered by Disqus

रमझम