९ असार २०७० | 23 June 2013

सलाम नेपाली चेलीलाई

Share:
  

स्वतन्त्र महिला (आवरण २६ जेठ) पढेपछि नेपाली महिलाले अन्तर्राष्ट्रिय जगतमा कतिसम्म सफलता पाएका छन् भन्ने प्रष्ट हुन्छ। यस्तो सामग्री पढ्न पाउँदा धेरैपछि मैले खोजिरहेको हिमाल भेट्टाए झै लाग्यो। सातै महादेशका अग्ला शिखर टेक्न हिंडेका नेपाली चेलीहरूको हँसिलो चेहरा आवरणमा देख्न पाउँदा धेरै खुशी लागेको छ। पुरुषलाई कुचो समाउन सिकाउने शान्ता दीक्षित, जति गरीबी बढ्यो त्यति अनुहारमा मुस्कान थप्दै लैजाने महिलाको कथा खिच्ने रूपा जोशी अनि फोहोरी बनेका नेपाली शहरमा रूखै रूखको कल्पना गर्ने मिलन बगालेले यसपालिको हिमाल लाई गजबले सिंगारेका छन्। देशको भत्किएको राजनीतिलाई अलि पर सारेर चेलीका कथालाई बलियो स्थान दिएकोमा हिमाल लाई बधाई।

किरणदत्त तेवारी, सानेपा, ललितपुर

हिमाल को आवरणले नेपाली समाजमा आएको परिवर्तनको झ्ल्को दिएको छ। सधैं राजनीति, भ्रष्टाचारी र नेतामुखी समाचार पढेर दिक्क भएका पाठकलाई समुदायमा भएका सकारात्मक परिवर्तनले देशमा धेरै राम्रा काम भएका रहेछन् भन्ने देखाइदिएको छ। हिजोआज संचारमाध्यममा आउने महिला हिंसाका समाचारले हाम्रो समुदाय कतै गलत बाटोमा गइरहेको त छैन जस्तो लाग्दथ्यो। तर विभिन्न समस्या र संस्कारका बीचमा पनि नेपाली चेलीले शुरू गरेको कामको सिको सबैले गर्नुपर्दछ, आफ्नो क्षेत्रबाट। आउँदा दिनमा पनि हिमाल ले यस्तो समाचारलाई प्राथमिकता दिइरहोस्।

विनोद भट्टराई, इमेलबाट

श्रीमान्लाई अदालत (आवरण रिपोर्ट, २६ जेठ) पठनीय लाग्यो। श्रीमान्ले दुःख दिए पनि वर्षौंसम्म चुपचाप बस्ने नेपाली महिलाहरू न्यायको ढोकासम्म पुग्ने मात्र होइन सदाको लागि सम्बन्ध त्यागेर बस्न थालेका छन्। महिलामा बढेको आत्मविश्वासको कारण हुनुपर्छ हिंसा सहनु भन्दा घरै छाडेर बसौं भन्ने सोचको विकास भएको। यसैगरी आफूमाथि भएको हिंसाको खुलेर विरोध गर्ने हो भने महिला हिंसामा कमी आउने निश्चित छ।

मिलन बम, इमेलबाट

घाउमा नुनचुक छर्दै

सिंहदरबारको सनक (२६ जेठ) पढेपछि सरकार कतिसम्म निर्दयी हुँदै गएको छ भन्ने प्रष्ट हुन्छ। न्यायको लागि सिंहदरबारको ढोकासम्म पुगेका महिलालाई घाइते बनाएर अस्पतालको बेडमा पुर्‍याइएको छ। यो घटना हेर्दा लाग्छ, जुनसुकै सरकार आए पनि पीडित र कमजोरले न्याय पाउने छैनन्। कानून बने पनि कार्यान्वयन नहुनु र भएका कानून पनि कमजोर हुनुले पीडित झ्नै पीडित भएका छन्।

सुनिता माली, काठमाडौं

गर्नै पर्ने काम

मन्त्रालय घटाउने सुझाव (२६ जेठ) पढेपछि केही लेख्न मन लाग्यो। मन्त्रालयको संख्या घटाउने छलफल हुन लागेको धेरै भए पनि अहिलेसम्म समिति बनाउने र रिपोर्ट बुझाउने बाहेक केही भएको छैन। अनावश्यक खर्च गर्ने मन्त्रालय घटाउने काममा सबैले सहयोग गर्नुपर्दछ।

गोपाल पौडेल, ललितपुर–९

आफ्नैलाई ठग्ने

नेपालीबाटै ठगी (२६ जेठ) पढेपछि सेवाका नाममा खुलेका संस्थाको नियत प्रष्ट हुन्छ। सोझासीधा भनेर चिनिने नेपालीहरू आफ्नै दाजुभाइ र दिदीबहिनीलाई सहयोगका नाममा लुट्ने र ठग्ने नयाँ पहिचान बनाउन थालेका छन्। झुटा आश्वासन बाँडेर आफन्तलाई समस्याको जालोमा फँसाउनुलाई सफलता ठान्न थालेका नेपालीका लागि पैसा नै सबथोक भएको छ।

जीवन मल्ल, इमेलबाट

असान्दर्भिक तस्वीर

हिमाल (१९ जेठ) मा प्रकाशित दल दर्ताः अशुभ संकेत को समाचारसँग संघीय समाजवादी पार्टीको सान्दर्भिकता छैन। सबै नेपाली जनतालाई जातीय, वर्गीय, धार्मिक, भाषिक, लैङ्गिक लगायतका उत्पीडनबाट मुक्ति दिलाउने नीति बोकेको दल हो, समाजवादी दल। उच्च जातीय अहंकारवाद र एकल जातीय एकाधिकारवादको भण्डाफोर गर्नु नाजायज हो र?

रेशम मगर, इमेलबाट

comments powered by Disqus

रमझम