९ असार २०७० | 23 June 2013

'विद्यार्थीका कारण उत्तीर्ण दर घटेको होइन'

Share:
  
२८ जेठमा सार्वजनिक एसएलसी परीक्षाको नतिजाबारे शिक्षाविद् **केदारभक्त माथेमा** भन्छन्, “सार्वजनिक विद्यालयका विद्यार्थी सरकारले पढ्ने वातावरण नमिलाएकाले फेल भएका हुन्।”

ऋषिराम कट्टेल
एसएलसीको नतिजालाई कसरी हेर्नुभएको छ?

सार्वजनिक विद्यालयका ७२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको राष्ट्र असफल बन्दै गएको संकेत हो। हाम्रा छोराछोरी यसरी फेल भएको भए हामी चुप लाग्थ्यौं? विरोध गर्न सक्नेका छोराछोरी निजी विद्यालयमा भएकाले तैं चुप मै चुप भएको हो।

कम विद्यार्थी उत्तीर्ण हुनुको कारण के हो?

सरकार र राजनीतिक दलका नेतामा सार्वजनिक विद्यालय राम्रो बनाउने सोचसम्म देखिएन। निजीमा पढ्ने विद्यार्थीको खर्च सार्वजनिकको तुलनामा ११ गुणा बढी छ। तालीम पाएका ९० प्रतिशत शिक्षक रहेको सार्वजनिक विद्यालयकै विद्यार्थी फेल भएका छन्।

उत्तीर्ण दर कम हुँदै जाँदा परिणाम के होला?

गाउँका विद्यार्थी बुद्धि नभएर फेल भएका होइनन्। उनीहरूलाई पढ्ने वातावरण सरकारले दिएको छैन। विकसित देशमा ९० प्रतिशत बालबालिका सार्वजनिक विद्यालयमा पढ्छन्। बहुमत विद्यार्थी फेल हुनु भनेको लोकतन्त्र असफल हुनु हो।

निजी र सार्वजनिकबीचको खाडल कम गर्न के गर्नुपर्ला?

राम्रो घरको जग बलियो बनाउन कोरियामा माविभन्दा प्राविमा पढाउने शिक्षकलाई बढी तलब दिइन्छ। अब सार्वजनिक विद्यालयलाई मजबूत पार्नुपर्दछ। सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्दछ। तालीम पाएका सार्वजनिक विद्यालयका शिक्षकले तालीम नलिएका निजीका शिक्षकले जति विद्यार्थी उत्तीर्ण गराउन नसक्नुको कारण खोज्नुपर्छ।

सुधारका लागि के गर्नुपर्ला?

सुधारमा युद्धस्तरमा लगानी नगरी हुँदैन। १५०० विद्यालयमा १४ जना निरीक्षक राखेर पुग्दैन। प्रधानाध्यापक नियुक्ति राजनीतिक दबाबमा होइन योग्यता र क्षमताको आधारमा गर्नुपर्दछ।

comments powered by Disqus

रमझम