९ असार २०७० | 23 June 2013

लापरवाह ठेकेदार

Share:
  
दुई वटा निर्माण कम्पनीले शर्त अनुसार झापाका चार वटा पुल समयमा निर्माण नगर्दा तीन वर्षमा रु २ करोड ६३ लाख फ्रिज भएको छ।

गोपाल गड्तौला
पूर्व–पश्चिम राजमार्गमा पर्ने लखनपुरको गेउरिया खोलामा निर्माणाधीन पुल।
हुलाकी राजमार्गमा पर्ने पश्चिम झापाको गौरीगञ्ज―खजुरगाछी बीचको गेउरिया खोलामा ३६ मिटर लामो र पाँच मिटर चौडा पक्की पुल बनाउन 'साप सिबाको राजधानी ज्वाइन्ट भेञ्चर' कम्पनीले ३ वैशाख २०६६ मा मूल्य अभिवृद्धि कर बाहेक रु.१ करोड ६३ लाख ८१ हजारमा ठेक्का लिएको थियो; ४ वैशाख २०६८ सालमा पुल निर्माण गरेर सरकारलाई बुझाउने गरी। तर, शर्त अनुसारको समय सकिएको दुई वर्ष नाघिसक्दा पनि पुलको दुई वटा बेस पिलर बनाउने बाहेक केही काम भएको छैन।

पक्की पुल बनाउन त्यो कम्पनीले पुरानो काठेपुल पनि भत्काएपछि अहिले उसले खोलामा ह्युमपाइप राखेर बनाएको अस्थायी फड्केबाट यात्रु आवतजावत गरिरहेका छन्। स्थानीय जुली शाह भन्छन्, “वर्षा शुरू भएपछि गौरीगञ्जबाट एम्बुलेन्स, दमकल पनि खजुरगाछी लैजान सकिन्न।”

त्यही कम्पनीले २५ असार २०६५ मा पूर्वी झापाको मेचीनगरस्थित कालीखोलामा पनि ३६ मिटर लम्बाइ र ५ मिटर चौडाइको पुल २६ असार २०६७ मा बनाइसक्ने गरी मूल्य अभिवृद्धि करसहित रु.२ करोड ३५ लाखमा ठेक्का लिएको थियो। पुलको स्ल्याब मात्र हालेर अलपत्र अवस्थामा छाडेको त्यो कम्पनीले मूल्य अभिवृद्धि करसहित रु.१ करोड ९७ लाख भने सडक विभागको डिभिजन कार्यालय―२ दमकबाट लिइसकेको छ।

ठेक्का लिएर पुल नबनाउने त्यही कम्पनीले झापाकै केचनाको अंगुरभट्टा खोलामा २२ मिटर लम्बाइ र पाँच मिटर चौडाइको पुल बनाउन ४ वैशाख २०६६ मा मूल्य अभिवृद्धि कर बाहेक रु.१ करोड ३२ लाखमा ठेक्का लिएको थियो, ५ वैशाख २०६८ मा बनाइसक्ने गरी। उसले सो पुलको निर्माण पनि अझ्ै सकेको छैन।

सडक विभागका इञ्जिनियर लीलाबहादुर भण्डारी।

६ साउन २०६७ मा आएको बाढीले भत्काएको पूर्व–पश्चिम राजमार्गको झापा लखनपुरको गेउरिया खोलाको पुल बनाउने ठेक्का ९ असार २०६८ मा 'रौताहा देउती सगरमाथा ज्वाइन्ट भेञ्चर कम्पनी' ले मूल्य अभिवृद्धि करसहित रु.२ करोड २२ लाख ३५ हजारमा पायो। २५ मिटर लम्बाइ र पाँच मिटर चौडाइको त्यो पुल १० असार २०७० मा सक्नुपर्ने शर्त भए पनि डिभिजन सडक कार्यालयको मूल्याङ्कनमा अहिलेसम्म ४५ प्रतिशत काम भएको छ। जबकि, मूल्य अभिवृद्धि करसहित त्यो कम्पनीले रु.९६ लाख ५८ हजार डिभिजन कार्यालयबाट बुझिसकेको छ।

सडक विभागको दमक कार्यालयका इञ्जिनियर लीलाबहादुर भण्डारी ठेकेदारले समयमा काम नसक्दा विगत चार वर्षमा अंगुरभट्टा पुलको रु.८० लाख, गेउरिया पुल (गौरीगञ्ज―खजुरगाछी) को रु.१ करोड १० लाख, पूर्व–पश्चिम राजमार्गमा पर्ने लखनपुरको गेउरिया पुलको रु.५० लाख र मेचीनगर कालीखोलाको रु.२३ लाख फ्रिज भएको बताउँछन्।

बेवास्ताको हद

सडक डिभिजन कार्यालयले समयमा पुल बनाइसक्न निर्माण कम्पनीहरूलाई हरेक महीना ताकेता पत्र पठाएको रेकर्डमा देखिन्छ। इञ्जिनियर भण्डारी भन्छन्, “तर, ठेकेदार कम्पनीहरूले फोन त उठाउँदैनन् नै, पत्र समेत नबुझदा फिर्ता आउने गरेको छ।”

सरकारी सूचनालाई बेवास्ता गर्ने ठेकेदार कम्पनीहरूले त्यस्ता सूचना सार्वजनिक नगर्न र ताकेता नगर्न राजनीतिक दलका नेताहरूलाई दबाब दिन लगाएको डिभिजन कार्यालयका एक अधिकारीले बताए। धेरै ताकेता गरे सरुवा गरिदिउँला भन्ने धम्की समेत नेताहरूबाट पाएको उनको भनाइ छ।

२७ जेठमा सडक विभागले 'साप सिबाको राजधानी ज्वाइन्ट भेञ्चर' लाई 'पुल निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेको, पटक पटकको मौखिक र लिखित ताकेताको बेवास्ता गरेको र गत २९ माघमा राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा प्रकाशित सार्वजनिक सूचनाको समेत बेवास्ता गरेकाले सम्झ्ौताका शर्त अनुसार ठेक्का सम्झ्ौता किन अन्त्य नगर्ने' भन्ने बेहोराको पत्र पठाएको छ (हे.पत्र)। इञ्जिनियर भण्डारी भन्छन्, “यो पत्रलाई पनि बेवास्ता गर्‍यो भने विभाग ठेक्का रद्द गरी त्यो कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउन बाध्य हुन्छ।”

गोपाल गड्तौला, झापा


गरिखान तम्सिए युवा

लक्ष्मण केसी
जिल्ला सदरमुकाममा समय बिताइरहेका रुकुमका विभिन्न राजनीतिक दल सम्बद्ध २६ युवकले उन्नत जातको गाईपालन शुरू गरेका छन्। सदरमुकाम खलङ्गाको सेरीमा रु.१७ लाख ५० हजार लगानीमा खोलिएको गाई फार्मका लागि युवा स्वरोजगार कोषले रु.८ लाख ऋण सहयोग गरेको युवा समूहका अध्यक्ष शिव शर्माले बताए। “खलङ्गा लगायतका बजारमा दूधको बढ्दो माग हेरेर गाईपालन शुरू गरेका हौं”, शर्माले भने।

उनीहरूले गाई खरीदमा रु.९ लाख र गोठमा रु.५ लाख लगानी गरेका छन्। गोठमा स्थानीय तीन युवकले रोजगारी पाएका छन्। वार्षिक रु.२५ हजार भाडा तिर्ने गरी लिइएको १० रोपनी जमिनमा खोलिएको फार्ममा अहिले जर्सी, ब्राउन्ससुइस र होलस्टिल जातका १४ गाई छन्। तीमध्ये ६ वटा दुहुना र ८ वटा ब्याउने छन्। ६ वटा गाईले दैनिक ६० लिटर दूध दिइरहेको र त्यसबाट रु.२४०० कमाइ भइरहेको शर्माले बताए।

चार युवकको अर्को समूहले खलङ्गाकै पीपलनेटामा प्राङ्गारिक तरकारी खेती थालेका छन्। वार्षिक रु.४० हजार भाडाको सात रोपनीमा जमिनमा रहेको तरकारी फार्मका अध्यक्ष छिवाङ गाविसका लोकेन्द्र ओली छन्। सहकारीको रु.८० हजार ऋण र साझेदारहरूको रु.७० हजारबाट व्यवसाय शुरू गरेको ओलीले बताए।

लक्ष्मण केसी, रुकुम

comments powered by Disqus

रमझम