बाह्रबिसकै मनसरा रावत पनि विवाह गर्दा कक्षा ७ मै पढिरहेकी थिइन्। मनसराका बुवा नन्दु परिवारको स्वीकृति बेगर १५ वर्षकै उमेरमा छोरीले विवाह गरेको बताउँछन्। विवाहसँगै उनको विद्यालय पनि रोकियो।
उमेर नपुगी विवाह गर्नु र विद्यालय छाड्नु बाजुराका बालबालिकाका लागि नौलो कुरा होइन। जिल्लाका १२ गाविसमा बालविवाह बारे हालै मात्र गरिएको सर्वेक्षणले कहालीलाग्दो तथ्य सार्वजनिक गरेको छ। गाविस, गाउँ बाल संरक्षण समिति, सेभ द चिल्ड्रेन र पिसविन संस्थाको सहकार्यमा गरिएको सर्वेक्षण प्रतिवेदनमा यी गाविसमा २०७२ सालमा भएका विवाहमध्ये ७० प्रतिशत बालविवाह थिए। “वर्षभरिमा ५७३ जनाले विवाह गरेकामध्ये ४०२ जना बालबालिका पाइएका छन्”, सेभ द चिल्ड्रेनका बाजुरा जिल्ला कार्यक्रम अधिकृत बाले विश्वकर्मा भन्छन्। उनका अनुसार, बालविवाह गर्नेमा २२९ बालिका र १७३ जना बालक छन्। सर्वेक्षण गरिएका गाविसहरूमा बाह्रबिस, वाई, जगन्नाथ, पाण्डुसेन, कोटिला, जुगाडा, बूढीगंगा, मनाकोट, गुदुखाती, बह्मतोला, तोलीदेवल र छतारा रहेका छन्।
“हाम्रो विद्यालयबाट मात्र दुई वर्षयता २३ जनाले २० वर्ष नपुगी विवाह गरेका छन्”, बाह्रबिसस्थित भगवती माविका प्रअ पूर्ण शाही भन्छन्। विवाह गर्ने अधिकांशले विद्यालय समेत छाडेको उनी बताउँछन्। जिल्ला शिक्षा कार्यालयका विद्यालय स्रोत व्यक्ति खड्क शाह जिल्लामा मावि तहको पढाइ नै नसकी विवाह गर्ने क्रम नघटेको बताउँछन्। “पढ्दा पढ्दै बिहे गर्छन्, केही पछि विद्यालय छाड्छन्”, उनी भन्छन्।
मुक्त घोषित गाविसमै बालविवाह बढ्नुले जिल्लामा बालविवाहको भयावह अवस्था देखाउने महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख केशरी रोकाय बताउँछिन्।
कानूनले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानूनी मानेको छ। तर, यी गाविसमा १२ देखि १८ वर्ष उमेरमै धेरैको विवाह भइरहेको छ।
सेभ द चिल्ड्रेनका विश्वकर्मा परम्परागत मान्यता, घरको दबाब, साथीको लहलहै र मोबाइल फोनका कारण पनि बालविवाहमा कमी नआएको बताउँछन्। “हातहातमा फोन र सामाजिक सञ्जालका कारण पनि केटाकेटी उमेर नै नपुगी विवाह गर्ने निष्कर्षमा पुगेका थुप्रै घटना देखिएको छ”, उनी भन्छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दल बोगटी कानूनी प्रावधानबारे जानकारी नहुनु, महीनावारी नहुँदै बिहे गरिदिनुपर्छ भन्ने पुरातन मान्यताका कारण पनि बालविवाह बढेको बताउँछन्।
२०६८ को राष्ट्रिय जनगणना प्रतिवेदन अनुसार बाजुराका २४ हजार ९१९ महिलाले २० वर्ष नपुगी विवाह गरेका छन्। यीमध्ये चार हजारको विवाह १५ वर्ष नपुग्दै भएको उल्लेख छ।
मिलेमतोको शंका
जिल्लाका १२ गाविसका बालविवाहको सर्वेक्षण प्रतिवेदनका दुई तथ्य झ्नै संवेदनशील छन्। पहिलो बालविवाह गरेकामध्ये ९१ प्रतिशतले भागेर विवाह गर्नु। र दोस्रो, अहिलेसम्म प्रहरीमा बालविवाहको कुनै पनि उजुरी नपर्नु। यसले कतिपय बालविवाह परिवारकै सहमतिमा भएको र परिवार–प्रहरीको मिलेमतोमा उजुरी नपरेको शंका जन्माउँछ।
जस्तो कि, छताराकी १२ वर्षीय काजु विकको विवाह परिवारकै समर्थनमा भएको थियो। गुदुखाती–४ का १५ वर्षीय भरत धामी पनि घरसल्लाहमै विवाह गरेको बताउँछन्। बाह्रबिस–५ का कृष्ण नेपाली आफ्नी छोरीले कक्षा ९ मा पढ्दापढ्दै भागेर विवाह गरेको सुनाउँछन्, तर गैरकानूनी विवाह रोक्न प्रहरीमा उजुरी भने दिएनन्। “विवाह गरिहाली, उजुरी हालेर के घर ल्याउनु जस्तो लाग्यो”, नेपाली भन्छन्।
महिला अधिकार मञ्च, बाजुराकी अध्यक्ष रुक्मिणी शाहको भनाइमा अधिकांश केटाकेटीको भागी विवाहमा आन्तरिक रूपमा अभिभावकको सहमति हुने गरेको छ। उनी भन्छिन्, “विवाह गराइदिएको थाहा पाएमा कारबाही हुने डरले अभिभावक खुल्न नचाहेका हुन्।”
प्रमुख नायब उपरीक्षक बोगटी भने उजुरी नआएकै कारण बालविवाह गर्ने र गराउनेमाथि कारबाही गर्न नसकेको तर्क गर्छन्। तर, सरकारवादी यस्ता मुद्दामा प्रहरी आफैं यस्ता अपराध रोक्न सक्रिय हुनुपर्ने दायित्वप्रति भने गम्भीर देखिंदैन। यसले बालविवाह नियन्त्रणमा खटिएका भनिएका गैरसरकारी संस्थाहरूका काममा समेत प्रश्न उठाएको छ।
केशरी रोकायको अनुभवमा पनि उजुरी गर्न नजाने र ढाकछोप गर्ने प्रवृत्तिकै कारण बालविवाहले प्रश्रय पाएको हो।
जोखिममा आमा
प्रसूति व्यथाले च्यापेपछि कुल्देउमाण्डौकी १९ वर्षीया सरस्वती शाहीलाई गाउँकै स्वास्थ्य उप–केन्द्र पुरुर्याइयो। बच्चाको एउटा खुट्टा निस्किएको तर शरीर पेटभित्रै भएको अवस्थाकी शाहीलाई देखेर अनमीले सुत्केरी गराउन नसक्ने बताइन्।
बेहोश अवस्थामै रातारात अछामको बयलपाटा अस्पताल पुर्याइएकी उनलाई बल्लतल्ल चिकित्सकले बचाए। शाही जस्तै उमेर नपुगी आमा बन्नेको संख्या जिल्लामा सामान्य बनिसकेको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी रामचन्द्र यादव आर्थिक वर्ष २०७२/७३ मा सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन आएका कुल दुई हजार २८८ गर्भवतीमध्ये ६८२ जना बालिका नै थिए।
जिल्लाको पूर्वोत्तर ११ गाविसका अधिकांश बिरामी आउने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्ष सुत्केरी गराउन आएका २४७ मध्ये ९७ जना २० वर्षभन्दा कमका रहेको डा. विकल लामिछाने बताउँछन्। भन्छन्, “कलिलो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई बढी नै जोखिम हुने कुरा बुझाउनै सकिएको छैन।” जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाई बालिका उमेरमै सुत्केरी भएकै कारण अकालमा ज्यान गुमाउनेहरू पनि थुप्रै भएको बताउँछिन्।