९ असार २०७० | 23 June 2013

माटोको मनितो

Share:
  
- मिलन बगाले
मान्छे चुत्थो हुनसक्छ, माटो होइन।

केही दिनअघि कामविशेषले एउटा सरकारी कार्यालय पुग्दा कर्मचारी बन्धुले नेपाली चलन अनुसार “यहाँको घर चाहिं कता पर्‍यो?” भनेर सोधे।

“तनहुँ।”

“ओहो, आदिकविको जिल्लाका पो हुनुहुँदोरहेछ, कस्तो राम्रो ठाउँको मान्छे तपाईं!” “तपाईंको नि?”

“मेरो त नुवाकोट हो। फटाहा ठान्छन् हाम्लाई त ...।”

उनले लामै सुस्केरा हाले। आफ्नो माटो बिटुल्याउन बनाइएको बिम्वप्रति दुखी थिए, उनी।

“अरे सर, बनाउने हो भने तनहुँमा जन्मेका फटाहाहरूको पनि सूची लामै हुन्छ। एउटा व्यक्तिको गुण वा अवगुणको आधारमा ठाउँको बद्नाम गर्न मिल्दैन।”

उनको हीनताबोध अलिकता कम भएको अनुभवले मलाई सन्तोष लाग्यो।

झापाली र स्याङ्जाली।

“घर स्याङ्जा, मामाघर झापा। चिन्याछस् मलाई?”

गत हिउँदको एक बिहान टोलको चियापसलमा केही युवक यसो भन्दै ठट्टा गरिरहेका थिए। साथीभाइबीच चलेको ठट्टा सामान्य जस्तो लागे पनि यसको लट्टा असामान्य थियो। किनभने, उनीहरूको यो ठट्टा स्याङ्जाली र झापाली 'एक नम्बरका फटाहा हुन्छन्' भन्ने भनाइमा आधारित थियो। नेपालमा सबभन्दा बढी सचेत मान्छे जन्माउने माटोलाई अकारण सरापिरहेछ दुनियाँ। त्यतैतिरको एक बन्धु 'डेन्जर ठाउँको डेन्जर मान्छे हुँ' भन्दै आफ्नै माटोको बद्नाम गरिरहेका थिए।

संसारमा जहाँ पनि राम्रा मान्छेहरूका बीच एकाध नराम्राहरू हुन्छन् नै। मरेपछि राम्रा मान्छेहरू स्वर्ग र नराम्राहरू नर्कतिरको बाटो लाग्छन् भन्छ, हिन्दूको धर्मले। यसरी पापी र धर्मात्माहरू सर्लक्कै छुट्टिने र छुट्टिएको अलग दुनियाँ यो धरतीमा छैन। तर, अमूक ठाउँको अमूक मान्छेले गरेका गल्तीमा अतिशयोक्ति गरेर 'त्यताका मान्छे त्यस्ता, उताका मान्छे उस्ता' भन्दै ठाउँलाई नै सराप्ने संसारमा नभएको चलन नेपालमा छ। यसरी आफ्नो माटोको बद्नाम गर्नेहरूले अनेकथरी आपत्तिजनक बिम्बहरू पनि रचेका छन्। जस्तो :

'स्याङ्जाली–झापाली जाली!'

'नुवाकोटे हिंडेको बाटै नहिंड्नु!'

'मधेशी जति जम्मै खत्तम!'

झापालीको 'भान्जो' ती 'स्याङ्जाली'को ठट्टाले मनलाई अलि दिन उद्विग्न बनाइरह्यो। मेरा थुप्रै स्याङ्जाली–झापाली मित्रहरू छन्। सुरुआती चिनापर्चीमा म सहज ढंगले 'म तनहुँको' भन्थें। झापालीहरूमध्ये कोही भद्रपुर, सुरुङ्गा, दमक, शनिश्चरे आदि भन्थे। स्याङ्जाकाहरू पनि कोही पुतलीबजार, वालिङ आदि भन्थे। कस्तो जिल्ला हो यो? जिल्लाबाटै आफ्नो परिचय खुलाउने हामी नेपालीको आम चलन भएकाले कतिसँग जिस्किएँ पनि। जिल्लामा जोड दिंदा कतिले 'झापा हो के' भन्थे। त्यस्ता आवाज कताकता पिसिंदै निस्किएका हुन्थे।

सत्य के हो भने, असल मान्छे भूगोलको चौघेरोभित्र अडिंदैन। राम्रा कामको प्रतापले ऊ देश र विश्वग्रामको सदस्य बन्छ। नराम्रो मान्छे आफ्नै गाउँको पनि रहँदैन। ऊ कतैको हुँदैन। नराम्रो चलन वा खराब मान्छेको बिम्ब बनाएर सिंगो ठाउँलाई अवगालमा पारिरहनु सभ्य समाजलाई सुहाउँदैन। जनक, सीता र बुद्धदेखि शहीद दुर्गानन्द झासम्मका मनीषीहरू तराई–मधेशका हुन्। मधेशीहरूलाई 'कमसल' देख्नु पहाडे राष्ट्रवादी संकीर्णता मात्र हो। कसैको दोषी चस्माले हीरालाई कीरा देख्छ भने हीराको के दोष?

माटोले मान्छेलाई जन्म र जीवन मात्र होइन, चाहेको बाटो खन्ने स्वतन्त्रता–स्वच्छन्दता पनि दिएको छ। गुनिला मान्छेहरू गुनकै गोरेटो खनिरहेका हुन्छन् र गुनका उत्तराधिकारीहरू त्यो गोरेटोमा उम्रेका बेकामे झारहरू हटाउँदै गुनको फराकिलो सडक बनाइरहेका हुन्छन्। अनि, बेकामे–पिराहा झारहरूको नामसँग जोडेर माटोलाई किन बद्नाम गर्नु? गुनिलो नेपालका सबै राम्रा मान्छेहरूको जय होस्।

comments powered by Disqus

रमझम