आतंकवादको चेतावनी?

Share:
  
- रविराज थापा
जघन्य हत्या–हिंसाका घटनाको कारण अनुमानसम्म गर्न सकिएन भने जनमानसमा अबको शिकार को होला भन्ने त्रास पैदा हुन्छ र सम्पूर्ण समाज नै असुरक्षित महसूस गर्न थाल्छ।
p24
तस्बिर: ऋषिराम कट्टेल

आतंकको पछाडि आपराधिक मनसाय छिपेको हुन्छ। हत्या–हिंसाको मनसाय र लक्ष्य स्पष्ट नहुँदा त्यसले समाजको सुरक्षा अनुभूति खल्बल्याउँछ, समाजलाई आतंकित पार्छ। त्यसबाट सुरक्षा निकाय र सरकारको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा हुन्छ।

भट्टीमा हुने झ्गडा र हिंसा–हत्यालाई जाँड–रक्सी, महिला वा अन्य कुनै विवादले भयो होला भन्ने अनुमान गरिन्छ। सुन पसलमा साहू–कामदारलाई हातखुट्टा र मुखमा पट्टी बाँधेर गरिने डकैती, चोरले गर्ने सुरक्षामा बसेको व्यक्तिको हत्या, काठमाडौंका गुण्डा र डनहरूले अन्तर्राष्ट्रिय अपराध जगतमा आफ्नो उपस्थिति देखाउन गर्ने हत्या, अपहरणकारीले फिरौतीको कुरा नमिल्दा वा आफ्नो पोल खुल्ने डरले गर्ने हत्यामा पनि अपराधको मनसाय प्रष्टै हुन्छ।

राजधानीमा यसअघि भएका सांसद् मिर्जा दिलसाद वेग, जमिम शाह लगायतको हत्या विगतमा उनीहरूसँग सरोकार राख्ने संगठित अपराधजगतका 'हिटम्यान' ले गरेका हुनसक्छन् भनेर अनुमान गर्न सकिन्थ्यो। तर, गएको १८ जेठमा युएनपार्क छेउबाट कारमा कार्यालय जाँदै गरेका सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याले भने नेपाली समाजमा हिंसा र आतंकको नयाँ चरण शुरू भएको त होइन भन्ने प्रश्न खडा गरेको छ। किनभने यो हत्याको उद्देश्य सहज प्रकृतिको देखिंदैन। आम जनताले बुझदै आएको भन्दा भिन्न यो हत्याको उद्देश्य देशमा आतंक फैलाएर सामाजिक सुरक्षा र सद्भाव भत्काउनुभन्दा अरू के हुनसक्छ?

केन्द्रीय कारागारका बन्दीलाई बाहिरबाट आएको अपराधीले गोली हानेर मार्ने प्रयास गरेको घटनाले अपराधीको दुस्साहस मात्र देखाउँदैन, नेपालमा को कति सुरक्षित छ भन्ने प्रश्न नै खडा गर्छ। त्यसपछि राजधानीको केन्द्रमा रहेको रत्नपार्क छेउमा एक मुस्लिम समाजसेवीको दिनदहाडै हत्या भयो। महानगरीय प्रहरी आयुक्त कार्यालय, त्रिचन्द्र कलेज र जामे मस्जिदको सामुन्ने अपराह्न तीन बजे भएको यो हत्यामा अपराधीले जति आँट र दम्भ देखायो आम सर्वसाधारणमा त्यति आतंक सञ्चार भयो। सँगसँगै, मुलुकको सुरक्षा अवस्था कस्तो छ भनेर लेखाजोखा गर्नेे आवश्यकता पनि दर्शायो। न्यायाधीश बम हत्या प्रकरण आपराधिक दृष्टिकोणले रहस्यमय र जटिल छ। न्यायाधीश बमलाई मुद्दा हेर्ने कामबाट अलग राखिएकोले कुनै विवादित फैसलाका कारण हत्या भएको मान्न सकिन्न। उनको पेशागत र व्यक्तिगत जीवनलाई नियाल्दा पनि हत्या हुनुपर्ने ठोस कारण देखिंदैन। उनी कुनै आपराधिक इलाकामा हिंडिरहेका पनि थिएनन् जहाँ गुण्डाहरूसँग जम्काभेट भएर हत्या हुनेसम्मको अवस्था सिर्जना होस्। 

मुख छोपेर मोटरसाइकलमा आएका न्यायाधीश बमका हत्याराले कोलम्बियाका कुख्यात लागूऔषध तस्कर पाब्लो एस्कोबार समूहको शैली (मोडस अपरेण्डी) अपनाएको देखिन्छ। न्यायाधीश बमसँगै गाडीमा रहेका राम गिरी (हास्यकलाकार दीपकराज गिरीका बाबु) लाई पनि गोली हानिनु संयोग मात्र थिएन भने यसको आपराधिक मनसाय के हुनसक्छ? अस्पष्ट छ। घटनास्थलमा भेटिएको पर्चाले हत्याको पछाडि राजनीतिक र सामाजिक सद्भाव खल्बलाउने उद्देश्य हुनसक्ने संकेत गर्दछ। सबैभन्दा मह140वपूर्ण पक्ष, संविधानसभा भंग भएको र निर्वाचन गर्ने सरकारको लक्ष्यलाई अन्य पार्टीले चुनौती दिइरहेको अवस्थामा 'नेपालवाद पार्टी' (जसको नाम, ठेगाना र स्वामित्व कसैले जानेसुनेको थिएन) को पर्चा भेटियो जसको उद्देश्य जनतालाई रनभुल्ल पार्नु, तर्साउनु, आतंकित गर्नु वा असुरक्षित महसूस गराउनु हुनसक्छ।

नेपालको असफलताको खातामा नयाँ अध्याय थपेको न्यायाधीश बमको हत्याले आम मानिसलाई झ्नै हतोत्साही र पराजित गराएको छ। विभिन्न स्वार्थ बोकेका स्वदेशी–विदेशी समूहहरूलाई चाहिं सामाजिक शान्ति र सद्भाव खल्बल्याउने अर्को हतियार जुराइदिएको छ। आम जनतालाई भने सरकारले हत्यारा समातेर न्याय प्रदान गर्छ भनेर आशा गर्न सक्ने हैन हत्याराको हातमा 'कीरा परोस्' भनेर बस्नुपर्ने अवस्थामा पुर्‍याइदिएको छ। 

(थापा सशस्त्र प्रहरी बलका अवकाशप्राप्त एआईजी हुन्।)

comments powered by Disqus

रमझम