९ असार २०७० | 23 June 2013

के पढ्ने, कहाँ पढ्ने?

Share:
  
- रामजी दाहाल/सन्त गाहा मगर
छोराछोरीको सुरक्षित भविष्यका लागि उनीहरूकै रूचि–क्षमताका आधारमा कलेज छान्नु राम्रो हुन्छ।

तस्वीरः विक्रम राई, आवरण तस्वीरः मीनरत्न बज्राचार्य
२८ जेठमा प्रकाशित २०६९ को एसएलसीको नतिजामा कुल ४ लाख ३ हजार ९३६ परीक्षार्थीमध्ये १ लाख ६७ हजार ९३७ जना (४१.५७ प्रतिशत) मात्र उत्तीर्ण भए। उत्तीर्ण विद्यार्थीलाई उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन लिएका ३,५९७ उमाविमा दामासाहीले भाग लगाउँदा एउटा कलेजमा ४७ जनाले भर्ना पाउने देखिन्छ।

भर्नाको यो चरणमा विद्यार्थीहरू के विषय लिएर कुन कलेजमा पढ्ने भन्ने अन्योलमा छन्। तिनका अभिभावक समेत के आधारमा कलेज छनोट गर्ने भन्ने द्विविधामा छन्। परीक्षाफल प्रकाशित भएलगत्तै विद्यार्थी तान्न कलेजहरूले छापा र विद्युतीय संचारमाध्यममा प्रवाहित गरेका प्रतिस्पर्धी विज्ञापनले उनीहरूको द्विविधालाई अरू बढाएको छ। कतिपय अभिभावकले कलेज नहेरी यस्ता विज्ञापनकै आधारमा छोराछोरी भर्ना गर्दा अनेक समस्या बेहोरेको अनुभव पनि छ।

कसरी छान्ने?

शिक्षाविद् डा. तीर्थराज खनिया विज्ञापनको आकर्षणमा बहकिन नहुने बताउँछन्। यस्ता अनावश्यक विज्ञापनप्रति अभिभावकहरू बढी होसियार हुनुपर्ने उनको भनाइ छ। कलेज कति पुरानो हो, शैक्षिक क्षेत्रमा उसको स्थान कहाँ छ, उमावि शिक्षा परिषद्को वार्षिक परीक्षामा त्यहाँका विद्यार्थीले कति अंक ल्याएका छन्, त्यहाँबाट उत्पादित विद्यार्थी कहाँ के गरिरहेका छन् भन्ने जस्ता पक्ष बुझेर मात्र भर्नाको मेलोमेसो मिलाउनुपर्ने डा. खनियाको सुझ्ाव छ। उनी भन्छन्, “पढाइको स्तर र पढाउने शिक्षकबारे त्यहीं पढेका विद्यार्थीबाट जस्तो भरपर्दो जानकारी अन्यत्रबाट पाउन सकिंदैन।”

कतिपय विद्यार्थीले शुल्क बुझाउन नसकेर बीचैमा कलेज छाडेका उदाहरण पनि भेटिन्छन्। कतिले मानसिक तनाव झेल्नलाई कलेज भर्ना भएको जस्तो अनुभव गरेका छन्। यस्तो समस्याबाट जोगिन भर्नाअघि अभिभावक बढी सचेत हुनुपर्छ। कलेज छान्न अभिभावकहरूको ठूलो भूमिका भए पनि विषय छनोटमा चाहिं विद्यार्थीको रूचि र क्षमतालाई नै निर्णायक बनाउँदा सफलता हात लाग्ने डा. खनिया बताउँछन्। “छोराछोरीको रूचि र क्षमताभन्दा बाहिरको विषय पर्‍यो भने अभिभावकको लगानी मात्र खेर जान सक्छ”, खनिया भन्छन्।

अहिले उमावि शिक्षा परिषद्ले तयार गरेको आमसञ्चार, होटल म्यानेजमेण्ट, ट्राभल एण्ड टुरिज्म, बिजनेस स्टडिज, कम्प्युटर साइन्स जस्ता रोजगारमूलक विषयमा विद्यार्थी आकर्षण बढेको छ। परिषद्ले यसै वर्षदेखि १०० पूर्णाङ्कको जनरल ल र २०० पूर्णाङ्कको स्पोर्टस् साइन्स पनि थपेको छ। योसँगै परिषद्को पाठ्यक्रममा समावेश विषय १३९ पुगेको छ। यसरी पाठ्यक्रममा विविधता आउँदा अभिभावक र विद्यार्थीका लागि विषयको विकल्प बढेको परिषद्को पाठ्यक्रम महाशाखा प्रमुख रामचन्द्र पाण्डे बताउँछन्।

नियमित निगरानी

विद्यालय तहको अनुशासित वातावरणमा अध्ययन गरेका विद्यार्थी एसएलसीपछि खुकुलो महसूस गर्छन्। यसैको परिणाम हो– कतिपय कलेजमा विद्यार्थीले आफूखुशी डे्रस लगाउनु, कक्षा बङ्क गर्नु, जथाभावी मोटरसाइकल चलाउनु, मोबाइल फोनको दुरूपयोग आदि। यस्तो कलेजमा भर्ना भएका जेहेन्दार विद्यार्थी समेत संगतबाट पछुताउनु परेको छ।

दश जोड दुई तहका अल्लारे विद्यार्थीमा देखिएका यस्तो प्रवृत्ति केलाउँदै शिक्षा मन्त्रालयले २८ असोज २०६९ मा ६३ बुँदे आचारसंहिता जारी गरेको थियो। उमाविलाई स्तरीय, मर्यादित र सुलभ शिक्षा बनाउन मन्त्रालयले जारी गरेको आचारसंहितामा कक्षा बङ्क गर्न नपाउने, अनिवार्य ड्रेस, स्कूल ड्रेसमा मोटरसाइकल चलाउन नपाउने, विद्यालय हाताभित्र मोबाइल फोन, मादक पदार्थ सेवन, धुम्रपान निषेध लगायतका प्रावधान छन्। विद्यार्थीमाथि यस्तो नियम लागू गरेर आफैंले नियमित निगरानी राख्नुपर्नेमा कतिपय कलेजले यसप्रति आँखा चिम्लेका हुन्छन्। चमक–धमकपूर्ण विज्ञापनको भरमा त्यस्ता कलेजमा भर्ना भएका विद्यार्थी र अभिभावक पछुताउको अवस्थामा पुग्छन्।

उमाविलाई स्कूल शिक्षा मानिने हुँदा विद्यार्थीले गृहकार्य गरे/नगरेको र कक्षामा नियमित उपस्थिति भए/नभएको अनुगमन गर्ने दायित्व सम्बन्धित कलेजकै हुन्छ। तर, एसएलसीपछि 'खुकुलोपनमा विश्वास गर्ने' कतिपय विद्यार्थी–अभिभावकले विद्यालयको यस्तो अनुगमनलाई कडाइका रूपमा बुझने गरेका छन्। “विद्यालयले गर्ने यस्तो अनुगमनलाई त राम्रो अर्थमा बुझेर अभिभावकले सहयोग पो गर्नुपर्छ”, नेपाल प्रहरी विद्यालय साँगाका समादेशक राजुबाबु श्रेष्ठ भन्छन्।

विश्वविद्यालयमा विद्यार्थी आपूर्ति गर्ने उमाविहरू परीक्षा केन्द्रित हुँदा सैद्धान्तिक पक्षले मात्र मह140व पाएको सन्दर्भमा उमाविहरूले सामाजिक मूल्य–मान्यतामा आधारित व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उमावि संघ नेपाल (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ बताउँछन्। प्रसादी एकेडेमी ललितपुरका प्रिन्सिपल विक्रम राई भने उमाविहरूले व्यवहारिक शिक्षामा पर्याप्त जोड दिएको बताउँछन्। त्यही कारण नेपाली विद्यार्थी संसारका जुनसुकै ठाउँमा प्रतिस्पर्धा गर्न सक्ने भएको राईको भनाइ छ।

साथमा रमेशकुमार र मीना शर्मा

comments powered by Disqus

रमझम