९ असार २०७० | 23 June 2013

उत्कृष्ट १० उमावि

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल ले यसपटक राजधानी र जिल्लाका उत्कृष्ट उमाविको छुट्टाछुट्टै सूची बनाएको छ। राजधानीका उत्कृष्ट उमावि छनोटमा विगतदेखि अपनाउँदै आएको मापदण्ड प्रयोग गरिएको छ। अर्थात्, उच्च माध्यमिक शिक्षा परिषद्ले लिने कक्षा १२ को परीक्षामा कम्तीमा ३० विद्यार्थी सहभागी गराएर पछिल्लो पाँच वर्ष लगातार ८० प्रतिशत माथि उत्तीर्ण गराएका राजधानीका उमाविहरू 'टप १०' मा परेका छन्।

गुणस्तरीय शिक्षाको मापन विद्यालयहरूले अन्तिम परीक्षामा ल्याएको उत्तीर्ण प्रतिशतबाट मात्र हुँदैन भन्ने जान्दा–जान्दै पनि हाम्रो जस्तो शिक्षा प्रणाली भएको देशमा परीक्षाको नतिजा नै मूल्यांकनको कम विवादित आधार भएकाले हिमाल ले यो विधि अपनाएको हो। सूचीमा परेका उमाविहरूलाई पाँच वर्षको औसत नतिजाको आधारमा क्रमबद्ध गरिएको छ।

पाँच वर्षको उत्तीर्ण दर ८० प्रतिशत भन्दा बढी भए पनि परीक्षामा सहभागी विद्यार्थी संख्या ३० भन्दा कम भएकाले बूढानीलकण्ठ उमावि यो सूचीमा परेन। विद्यार्थी र अभिभावकले थाहा पाउनैपर्ने भर्ना शुल्क, मासिक शुल्क, प्रवेश परीक्षाका लागि चाहिने एसएलसीको न्यूनतम अंक र सीट संख्या सार्वजनिक नगर्ने अडानका कारण ललितपुरको युनाइटेड एकेडेमीलाई पनि यो सूचीमा राख्न सकेनौं।

प्रसादी एकेडेमी उमावि, मानभवन, ललितपुर

प्रसादीका संस्थापक प्रमुख विक्रम राई विद्यार्थीलाई पढाउने भन्दा पनि पढ्न सिकाउने शिक्षण पद्धति अपनाएको बताउँछन् (हे.अन्तर्वार्ता)। यो उमावि निरन्तर उत्कृष्टको सूचीमा रहँदै आएको छ।

वीरेन्द्र सैनिक उमावि, सल्लाघारी, भक्तपुर

उल्लिखित शुल्क 'सिभिल' विद्यार्थीलाई हो। सैनिक परिवारका बालबालिकालाई यही शुल्क लाग्दैन। यसका उप–प्रशासक हरि पौडेल कुशल शिक्षकका कारणले राम्रो रिजल्ट आउने गरेको बताउँछन्।

एसओएस हर्मन माइनर उमावि, ठिमी, भक्तपुर

अनुशासित वातावरणमा अनुभवी शिक्षकहरूबाट नियमित पढाइ हुने भएकाले निरन्तर राम्रो नतिजा ल्याउन कलेज सफल भएको प्रिन्सिपल शंकर पौड्याल बताउँछन्।

सेन्ट मेरिज उमावि, जावलाखेल, ललितपुर

अनुभवी एवं दक्ष शिक्षकको निगरानीमा नियमित गृहकार्य र कडा अनुशासनमा ध्यान दिंदै आएको यस उमाविले निरन्तर राम्रो नतिजा ल्याएको छ।

काठमाडौं मोडल कलेज, काठमाडौं

कलेजका निर्देशक धु्रव भट्टराईका अनुसार विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्न काउन्सिलिङ, अनुशासन र शान्त वातावरणमा जोड दिइएकोले राम्रो परिणाम ल्याउन सफल भएको छ।

एनसीसीएस उमावि, पकनाजोल, काठमाडौं

एनसीसीएसका निर्देशक प्रज्वल बानियाँ क्षेत्री विभिन्न आन्तरिक परीक्षा र कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिएकाले नै राम्रो नतिजा ल्याउन सफल भएको बताउँछन्।

नामग्याल उमावि, गोकर्ण, काठमाडौं

कुशल प्रशासन, अतिरिक्त पढाइसहितको पूर्ण आवासीय कक्षा र अनुशासनले नामग्याल कलेजलाई निरन्तर उत्कृष्ट बनाएको प्रधानाध्यापक लेखनाथ हुमागाई बताउँछन्।

लिटिल एन्जेल्स उमावि, हात्तीवन, ललितपुर

२०५५ सालमा स्थापित लिटिल एन्जेल्सले शान्त वातावरणमा गुणस्तरीय शिक्षालाई जोड दिएको कलेजका संस्थापक उमेश श्रेष्ठ बताउँछन्।

नेशनल स्कूल अफ साइसेन्स (निस्ट), गोकर्ण

कुशल व्यवस्थापन, अनुभवी शिक्षक र विद्यार्थीको लगनशीलताले उत्कृष्ट नतिजा ल्याउन सफल भएको कलेजका प्रिन्सिपल डा. माधवप्रसाद बराल बताउँछन्।

ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौं

अनुभवी, पूर्णकालीन शिक्षक, नियमित पढाइ र विद्यार्थीको मिहिनेतले निरन्तर सफलता हासिल गरेको कलेजका प्रिन्सिपल खगेन्द्र ओझा बताउँछन्।

comments powered by Disqus

रमझम