९ असार २०७० | 23 June 2013

'अनुशासनमा सम्झौता गर्दैनौं'

Share:
  
उच्च माध्यमिक शिक्षा परिषद्को वार्षिक परीक्षामा झण्डै एक दशकदेखि सर्वोत्कृष्ट नतिजा ल्याउन सफल ललितपुरको प्रसादी एकेडेमीका संस्थापक प्रिन्सिपल विक्रम राई 'एकल व्यवस्थापन एक कार्यक्रम' लाई सफलताको सूत्र मान्छन्।

देवकी विष्ट
प्रसादीका विद्यार्थीले हरेक वर्ष राम्रो नतिजा ल्याएका छन्। यो सफलताको सूत्र के हो?

कुनै पनि विद्यार्थी सफल नहुँदासम्म हामी फलोअप गरिरहन्छौं। हामी यति धेरै फलो गर्छौं कि, विद्यार्थीमा आफूलाई सफल हुने गरी तयार पार्नुको विकल्प नै हुँदैन। 'एकल व्यवस्थापन एक कार्यक्रम' हाम्रो विशेषता हो। विद्यार्थीलाई हामी यति मात्र भन्छौं– कलेजमा पढ्ने होइन, शिक्षकले पढ्न सिकाउने मात्र हो। पढ्ने त विद्यार्थीले हो र घरमै पढ्ने हो।

तपाईंको कलेजमा अतिरिक्त क्रियाकलाप चाहिं किन हुँदैन?

खेलकुद सामग्री पर्याप्त भए पनि हामीले त्यता ध्यान दिएका छैनौं। हाम्रो मुख्य काम विद्यार्थीलाई खेलाउने नभएर पढाउने हो। अरू कतिपय स्कूल–कलेजले खेलकुदका कुरा गर्छन्, तर बिहान, दिउँसो, बेलुका तीनै सिफ्ट कक्षा चलाउँछन्। अचम्म लाग्छ, तिनले विद्यार्थीलाई कसरी, कहाँ र कुनबेला खेलाउँछन् होला?

विद्यार्थीका लागि गाडी सुविधा पनि हटाउनुभो नि!

शुरूका पाँच वर्ष गाडीको व्यवस्था गरेका थियौं। त्यसबेला काठमाडौंमा त्यति धेरै कलेज खुलेका पनि थिएनन्। तर १० वर्षयता हामीले गाडी हटाएका छौं। किनभने पछिल्लो समय जताततै राम्रा कलेज खुलेका छन्। हिंडेर पुगिने कलेजमा पढ्नु राम्रो हुन्छ। मिहिनेत भनेको विद्यार्थी आफैंले घरमा गर्ने हो। साथै विद्यार्थीलाई सार्वजनिक यातायात चढ्ने बानी बसोस् भनेर पनि हामीले कलेजको बस हटाएका हौं।

प्रसादीमा विद्यार्थीमाथि निकै कडाइ हुन्छ भनिन्छ नि?

साँचो कुरा के हो भने हामी विद्यार्थीका बारेमा नियमित अनुगमन गरिरहेका हुन्छौं। गृहकार्य गरे/नगरेको, कक्षामा नियमित उपस्थिति भए/नभएको बारे मिहीन अनुगमन गर्छौं। विद्यार्थीहरू कक्षामा नियमित हुनैपर्छ। आन्तरिक परीक्षामा उत्तीर्ण नभइकन हामी उच्च माविको परीक्षा फर्म भर्न दिंदैनौं। यसका लागि हामीले दश वर्षअघि नै आचारसंहिता बनाएर लागू गरिसकेका छौं। हाम्रो काम पढाउनु हो। पढाउने सवालमा विद्यार्थीलाई अनुशासनमा राख्नुलाई कडाइ गरेको भनिन्छ भने त्यो आरोप हामीलाई स्वीकार्य छ।

अबको योजना के छ?

कलेज स्थापना भएको १६ वर्ष भयो। यहाँसम्म आइपुग्दा कलेज राम्रोसँग चलाएका छौं। अबको १० वर्षभित्र कलेजलाई समुदायमा हस्तान्तरण गर्ने हाम्रो योजना छ। चार वर्षपछि नै स्थानीय समुदायलाई भित्र्याउन शुरू गर्छौं। निजी क्षेत्र मात्रै हैन, समुदायले पनि राम्रा स्कूल/कलेज चलाउन सक्छन् भनेर देखाउन हामी यस्तो सोचाइमा पुगेका हौं। त्यसअघि चाहिं हामी प्रसादीलाई १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा परिणत गर्छौं। र, त्यसको सुरुआत आगामी शैक्षिक वर्षदेखि नै गर्दैछौं।

किन त यो कदम?

अबको १० वर्षपछि आउने विद्यार्थीमा जुन उत्साह हुन्छ, तिनलाई 'इन्टरटेन' गर्ने ऊर्जा त्यतिबेला ममा हुँदैन। त्यसका लागि मैले अरुमा भर पर्नुपर्छ। हामी सञ्चालकहरुले विद्यार्थीकै हितका लागि एउटा समयपछि निवृत्त हुनैपर्छ।

पैसा धेरै कमाएर निवृत्त हुन लाग्या हो कि?

हरेक वर्ष ६०० विद्यार्थीको भर्नाबाट पैसा कमाईंदैन। उद्देश्य पैसा कमाउने भएको भए प्रसादीको ब्राण्डमा ६ हजार विद्यार्थी भर्ना गर्थें होला। तर पछिल्लो डेढ दशकको विद्यालय सञ्चालनको अनुभवबाट नाम चाहिं पक्कै कमाइएको छ।

समुदायलाई हस्तान्तरण गरेपछि कलेजप्रति तपाईंको दायित्व चाहिं के हुन्छ?

समुदायलाई हस्तान्तरण गरेपछि पनि म कलेजबाट बाहिरिने नै भनेको होइन। मेरो सहभागिता रहनेछ। दैनन्दिनको सक्रियता हुने छैन।

आफू चाहिं के गर्नुहुन्छ?

प्रसादीको नियमित सेवाबाट निवृत्त भएपछि कुनै दूरदराजमा गएर निःशुल्क विद्यालय सञ्चालन गर्ने योजना बुन्दैछु।

comments powered by Disqus

रमझम