९ असार २०७० | 23 June 2013

खाँचोः सौर्य ऊर्र्जा प्रवर्द्धनको

Share:
  
- के. आर. खनाल
सौर्य ऊर्जामा सरकारी सहयोगले देशको पैसा मात्र नभई वातावरणमा पनि जोगाउँछ।

ग्रामीण भेगसम्म सौर्य विद्युत् ऊर्जाको प्रवर्द्धन गरेको राज्यले सौर्य ताप (सोलार थर्मल) ऊर्जालाई भने वास्ता गरेको छैन। जबकि, गर्मी र ठण्डा दुवै मौसममा उत्तिकै प्रभावकारी हुने सौर्य ताप ऊर्जा शहरदेखि दूरदराजसम्म पुर्‍याउन सकिन्छ। यसको विस्तारले वन फँडानी रोक्नदेखि पेट्रोलियमको आयात घटाउन पनि योगदान पुर्‍याउँछ।

सौर्य ताप ऊर्जाबाट पानी तताउन, खाना पकाउन, बिस्कुन सुकाउन र फलफूलको सुकुटी बनाउन सकिन्छ। भरपर्दो सडक नहुँदा कुहिएर खेर जाने गरेको कर्णालीको स्याउको सौर्य ताप ऊर्जाबाट सुकुटी बनाउँदा स्थानीय किसानको जीवनस्तर सुधार गर्न सहयोग पुग्छ। सौर्य ताप ऊर्जाबाट अदुवाको सुकुटी बनाउन सकिन्छ।

पैसा बचत

सरकारले अहिले प्रति ग्याँस सिलिण्डरमा करीब रु.५०० अनुदान दिइरहेको छ। यसरी जनताबाट उठेको कर विकासमा नलगाउँदा खेर गइरहेको छ। अहिले त हिमाली भेगका बजारमा समेत हेलिकप्टरबाट सिलिण्डर ग्याँस पुर्‍याउन थालिएको छ। सौर्य ताप ऊर्जा प्रवर्द्धनमा जोड दिने हो भने विकासको पैसा काटेर पेट्रोलियममा अर्बौ रुपैयाँ अनुदान दिने बाध्यताबाट सरकारले मुक्ति पाउँछ। खोलामा बगाए जसरी पेट्रोलियममा पैसा खेर फाल्नु भन्दा यो क्षेत्रमा एक पटक अनुदान दिने हो भने वर्षौंलाई फाइदा हुन्छ। राज्यले पेट्रोलियम आयात बढ्दा जति राजस्व पाएको छ त्योभन्दा धेरै गुणा बढी फाइदा सोलार थर्मल प्रवर्द्धनबाट हुन्छ।

सौर्य ताप ऊर्जामा गरिएको लगानी एक/दुई वर्षमा नै 'पे ब्याक' हुन्छ। जस्तो कि रु.४० हजार खर्च गरेर जडान गरेको सौर्य ताप ऊर्जाले एक दिनमा २०० लिटर पानी तताउन सकिन्छ। यसरी त्यही पैसाले एक वर्षमा ७३ हजार लिटर पानी तात्छ। जबकि, रु.१५०० पर्ने सिलिण्डर ग्याँसले एक लिटर पानी तताउन कम्तीमा रु.३ लाग्छ। रु.४० हजार खर्च गरेको सोलार थर्मलबाट एक वर्षमा तताए जति पानी ग्याँसबाट तताउँदा रु.२ लाख भन्दा बढी खर्च हुन्छ।

सौर्य ताप ऊर्जाबाट खाना पकाउने हो भने वन फँडानी पनि कम हुन्छ। त्यसले कार्वन ट्रेडिङबाट विदेशी मुद्रा आर्जनको बाटो पनि खोल्छ। सौर्य ताप प्रवर्द्धन भएमा अहिलेको घण्टौं लोडसेडिङबाट समेत मुक्ति पाउन सकिन्छ। बिजुलीले पानी तताउने, खाना बनाउनेहरूलाई सोलार थर्मलमा आकर्षित गर्न सक्दा ऊर्जा संकट पनि कम हुन्छ। आकाशबाट आइरहेको अथाह सौर्य ताप ऊर्जा खेर जान नदिने सोलार प्यानल जडान गर्न झ्ञ्झ्ट पनि छैन, एकै दिनमा गर्न सकिन्छ।

सरकारी प्रवर्द्धनको प्रतीक्षा

सरकारले सौर्य ताप ऊर्जामा अझैसम्म कर छुट दिएको छैन। कुनै मन्त्रीले विशेष निर्णय गरेर छुट दिने बाहेक यो गुणकारी प्रविधिले नीतिगत रूपमा सरकारबाट कुनै राहत पाएको छैन। धनीहरूले उपयोग गर्ने वस्तु भनेर सरकारले यसलाई बेवास्ता गर्दै आएको छ। आफूले उत्पादन गरेको अन्नपात तथा फलफूल बिस्कुनको रूपमा सुकाउन कोही धनाढ्य भइरहनु पर्दैन। जाडोमा पानी तताएर नुहाउने अधिकार धेरै पैसा हुनेलाई मात्र छैन। त्यसैले सौर्य विद्युत् ऊर्जामा जस्तै अनुदान दिएर सरकारले सौर्य तापलाई सबैको पहुँचमा पुर्‍याउनु आवश्यक छ। यसले गरीब जनताको जीवनशैलीलाई सहज र व्यवस्थित बनाउने छ। शहरका केही सीमित व्यक्तिले चलाउने ग्याँसमा अनुदान दिने सरकारले वातावरणीय दृष्टिले महत्वपूर्ण यो क्षेत्रलाई बेवास्ता गर्नुहुँदैन। त्यसैले आगामी आर्थिक वर्षको बजेटदेखि नै नीतिगत रूपमा सौर्य ताप ऊर्जालाई सम्बोधन गरिनुपर्छ भन्ने हाम्रो माग छ।

राज्यले चासो नदेखाए पनि उपभोक्ताले आफ्नै पहलमा सोलार थर्मल जडान गर्ने क्रम बढेको छ। तर, कहाँ उत्पादित तथा कस्तो उपकरण हो भन्ने हेक्का नराखी खरीद गर्दा गुणस्तरमा समस्या देखिएको छ। त्यसले सौर्य ताप ऊर्जाबारे नकारात्मक सञ्चार प्रवाह गर्न सक्छ। त्यसैले ग्राहकले यस सम्बन्धी उपकरण खरीद गर्दा गुणस्तरमा चनाखो हुन जरूरी छ।

(खनाल सौर्य ताप ऊर्जा संघ नेपालका अध्यक्ष हुन्।)

comments powered by Disqus

रमझम