९ असार २०७० | 23 June 2013

प्याराग्लाइडिङमा महिला

Share:
  

प्रतिभा बोगटी
तीन वर्षअघि सराङकोट प्याराग्लाइडिङको कार्यालयमा काम गर्दा प्रतिभा बोगटी (२७) ले बारम्बार 'नेपाली महिला प्याराग्लाइडिङ पाइलट छैनन्?' भन्ने विदेशीहरूको प्रश्नको सामना गरिरहनुपर्थ्यो। जिज्ञासु विदेशीहरूलाई उत्तर दिंदादिंदै उनको मनमा आफैं प्याराग्लाइडिङ पाइलट बन्ने इच्छा जाग्दै गयो। प्रतिभा भन्छिन्, “अनि ब्लुस्काई प्याराग्लाइडिङमा कोर्ष ज्वाइन गरें।”

त्यसरी प्याराग्लाइडिङ पाइलट बनेकी उनको सोलो (एक्लो) उडान नै २००० घण्टा पुग्न लागेको छ। पाँच दिनको 'कोर्ष' गरेर टेण्डम (दुई जना) उडान गरिरहेकी लेकसाइडकी प्रतिभा अब चाँडै नै व्यावसायिक प्याराग्लाइडिङ पाइलट बन्दैछिन्। १००० घण्टा सोलो गरेपछि टेण्डम उडानको लागि अनुमति पाइन्छ। व्यावसायिक प्याराग्लाइडिङ पाइलटिङका लागि १५ वटा टेण्डम उडान गरेको हुनुपर्छ। १५० टेण्डम उडान गरेपछि यात्रु लिएर उड्न पाइन्छ। प्याराग्लाइडिङमा अवसर र आय दुवै राम्रो रहेको प्रतिभाले बताइन्।

सुनिता थापा

पोखरामा तीन विदेशी, पाँच नेपाली गरी आठ जना महिला प्याराग्लाइडिङ पाइलट छन्। तीमध्ये टेण्डम कोर्ष गरेकी प्रतिभा नै हुन् भने पाँच वर्षअघि प्याराग्लाइडिङ पाइलट कोर्ष गरेकी तिर्सा बमजन (२५) एक महीनापछि टेण्डमको तयारीमा छिन्। पोखराकी तिर्साको सोलो भने ५००० घण्टा छ। उनका श्रीमान् राजेश पहिलो नेपाली प्याराग्लाइडिङ पाइलट हुन्।

व्यावसायिक प्याराग्लाइडिङ पाइलटिङकी अर्की आकांक्षी कृसु पौडेल (२१) ले पनि फेवातालको आकाशमाथि पाँच महीनामा ५०० घण्टा उडान गरिसकेकी छिन्। यसैगरी, हेम्जाकी सुनिता थापा (२२) को उडान १०० घण्टा पुगेको छ। २०० सोलो उडान गरिसकेकी पुनम बमजन (२९) भने अहिले फिनिक्स प्याराग्लाइडिङ कम्पनी संचालनमा व्यस्त छिन्।

पोखरामा सन् १९९८ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भए पनि सरकारले यसलाई व्यवस्थित गर्ने नीति बनाएर लागू गरेको छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयले लागू गरेको हवाई खेलकुद सम्बन्धी निर्देशिका अपर्याप्त भएको व्यवसायीहरूको भनाइ छ।

माधव बराल, पोखरा

comments powered by Disqus

रमझम