गोरेटो त्यो गाउँको लौन...,
पर लैजाऊ फूलहरु, छोपी देऊ तारा जून...,
तारा मात्र हैन तिमीलाई...,
देउरालीमा बतास चल्यो...,
तोरी फुल्यो...,
गुलाबी घुम्टो...,
हाँस्ने रहरहरु...,
टाढा भै गयौ फेरी...,
यो नेपाली शिर उचाली...,
यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो...
२००९ सालमा संगीत गुरु भैरवबहादुर थापाको शब्द–संगीतको 'अँधेरी रात...' गीतबाट रेडियो नेपालमा स्वर परीक्षा दिएर क श्रेणीमा उत्तीर्ण हुँदा प्रेमध्वज १७ वर्षका थिए। उनलाई स्थापित गर्ने गीत भने भूपि शेरचनको रचना र नातिकाजीको संगीत रहेको राष्ट्रिय गीत 'यो नेपाली शिर उचाली...' बन्यो। त्यसपछि 'गोरेटो त्यो गाउँको..., घुम्तीमा नआऊ है...' लगायतका तीन दर्जन गीत गाएपछि प्रेमध्वज रोमान्टिक उँचाइमा पुगे।
माइतीघर फिल्मको गीत गाउन भारतीय संगीतकार जयदेवले छानेपछि प्रेमध्वज प्लेब्याक सिङ्गरको रूपमा स्थापित भए। अनि आए 'नमान लाज यसरी...', 'हाँस्ने रहरहरू...', 'टाढा भै गयौ फेरी...' आदि सदाबहार फिल्मी गीतहरू। प्रेमध्वज कमैले रोमान्टिक गीत गाएको समयमा प्रेमीहरूको आवाज बनेर उदाएका थिए। अहिले बुढेसकालमा पनि गीत–संगीतलाई साथी बनाएका उनी भन्छन् “संगीतले मनमा शान्ति मिलेको छ।”
आधा शताब्दीदेखि नेपाली रोमान्टिक गीतमा राज गरेका प्रेमध्वज आफूलाई भने रोमान्टिक मान्दैनन्। किरणदेवीसँग २०२८ सालमा उनको विवाह पनि मागी नै भयो। ६०० गीत गाएका उनका तीन वटा अल्बम निस्केका छन्। उनी यही ८ असारमा अष्ट्रेलियाको सिड्नीस्थित वेस्ले कन्फ्रेन्स सेण्टरको पलेंटी कार्यक्रममा प्रस्तुत हुँदैछन्। त्यसमा उनले एक दर्जन सदाबहार गीत गाउनेछन्।
–अनुशील