अर्थपूर्ण सम्झना

Share:
  
b1
टंकप्रसाद आचार्य र 
आजको नेपाल 
सम्पादकः गोविन्दप्रसाद दुलाल 
(शैलुङ्गे मामा) 
प्रकाशकः टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान 
मूल्यः रु.२००,
पृष्ठः १७०+६

नेपाल प्रजापरिषद्को स्थापनाकाल जनचेतनाका हिसाबले औंसीको रात झै निष्पट अँध्यारो थियो। शिक्षाको अवसर शासक वर्गमा सीमित थियो। नेपाल संसारबाट अलग थियो। सञ्चारमाध्यमका नाममा सरकारी मुखपत्र गोर्खापत्र र फाट्टफुट्ट केही पत्रिका निस्कन्थे। यस्तो बेला मुलुकमा प्रजातन्त्र स्थापनाका लागि खुलेको नेपाल प्रजापरिषद्ले छोटै समयमा राणा शासकहरूको चैन भंग गरिदियो।

परिणाम, राणाजीहरूले राजा त्रिभुवनको स्वीकृतिमा वि.सं. १९९७ मा नेपाल प्रजापरिषद्का शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमालाई मृत्युदण्ड दिए, टंकप्रसाद आचार्यलाई भने बाहुन भएकाले सर्वस्वहरण गरेर जेलमा हालियो।

२००७ सालमा १०४ वर्षे निरंकुश राणायुगको अन्त भएपछि मुक्त भएका उनी २०१० मा गृहमन्त्री र १२ माघ २०१२ देखि ३१ असार २०१४ सम्म प्रधानमन्त्री बने।

आचार्यकै पालामा निजामती कर्मचारी आयोग, नेपाल राष्ट्र ब्याङ्क र राष्ट्रिय योजना आयोग स्थापना भए। पञ्चवर्षीय योजना, नेरु–भारु स्थिर विनिमय दर, वनजंगल राष्ट्रियकरण, मोहियानी हकको सुरुआत, त्रिभुवन विश्वविद्यालयको अवधारणा पनि उनकै कार्यकालका उपलब्धि थिए। परराष्ट्र सम्बन्धलाई विशेष जोड दिएका प्रम आचार्यकै पालामा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बन्यो।

नेपालका यिनै १८औं प्रधानमन्त्रीको जीवनका विविध पाटाको विश्लेषण गर्दै राजनीतिज्ञ, प्रशासक र कूटनीतिज्ञदेखि पत्रकारसम्मले लेखेका गहकिला लेखहरूको सँगालो टंकप्रसाद आचार्य र आजको नेपाल प्रकाशनमा आएको छ। गोविन्द दुलाल (शैलुङ्गे मामा) को संयोजन र सम्पादनमा आएको यो स्मृति ग्रन्थले नेपालको इतिहासको एउटा अप्ठेरो कालखण्डमा प्रधानमन्त्री भएका आचार्यको योगदान प्रष्ट पार्छ। आचार्यको जन्मशताब्दी स्मारिकाको रूपमा आएको २८ आलेख संग्रहित ग्रन्थ लोकतन्त्र दिवस अर्थात् ११ वैशाख २०६९ मा आउनु आफैंमा अर्थपूर्ण भएको छ, जुन उनी दिवंगत भएको दिन पनि हो।

तुलसा दुलाल


 

चोटिलो लघुकथा संग्रह

 

b2
चौथो लिंगी 
लेखकः सुमन सौरभ 
प्रकाशकः साझा प्रकाशन 
मूल्यः रु.१३६,
पृष्ठः ६८+८

आख्यान विधाको कान्छो सन्तान लघुकथा मात्रै लेखेर साहित्यकारका रूपमा स्थापित हुने थोरै नाममध्येका एक हुन्, सुमन सौरभ। २०५० सालपछि लघुकथा लेख्न थालेका सौरभका आधुनिक लघुकथाहरू २०५२ र पराइ विचार २०६५ पछि तेस्रो संग्रह चौथो लिङ्गी आएको छ। सौरभका लघुकथाहरू पढ्दा उनलाई यसका सिद्धान्त, मर्म र विधागत उपादेयता केलाएर लेख्ने कथाकार हुन् भन्न कर लाग्छ।

चौथो लिङ्गी मा छुट्टाछुट्टै विषय र सन्दर्भका ४३ लघुकथा सङ्गृहीत छन्। चौथो लिङ्गी संग्रहभित्रकै एक शीर्षक हो। तेस्रो लिङ्गीसम्मको चर्चा हुँदै गर्दा आएको चौथो लिङ्गी स्त्रीको पीडाबोध गराउने लघुकथा हो। महिलालाई बच्चा जन्माउने मेशिन सम्झ्िने पुरुष प्रवृत्ति महिलाबाट श्रापित भएपछि गर्भ धारण गर्न विवश बन्दाको काल्पनिक अवस्था यसमा चित्रित छ।

सूक्ष्म सन्दर्भबाट बुनिएका लघुकथाहरू पनि यति चोटिला बन्न सक्दारहेछन् भन्ने प्रमाण हुन् सौरभका लघुकथा। छोराछोरीलाई होस्टलमा जबर्जस्ती राखेर पढाउने संस्कृतिबाट उब्जिने त्रासद परिणाम प्रशिक्षण लघुकथामा प्रस्तुत छ। जीवनबोध गराउने उल्टो यात्रा, गरीबीको विश्वव्यापी चित्रण गर्ने नियति, आतङ्क हिंसाको पराकाष्ठा नम्बर ८१ लगायतका चोटिला लघुकथाले संग्रह पठनीय बनेको छ। समग्रमा यस संग्रहका धेरैजसो लघुकथा महिलामैत्रीभाव र शैक्षिक विकृतिमा केन्द्रित छन्।
गहन विषय उठाएर थोरैमा धेरै चेतना जागृत गराउनु लघुकथाकारको विशेषता हो। लघुकथाले पाठकलाई व्यङ्ग्यात्मक रूपले च्वास्स पारेर मिठास दिनुपर्छ। सौरभका सिर्जनाहरू छन्, तर लघुकथालाई छुट्याएर लघुकथा लेखेको देख्दा आँखा बिझाउँछ।

तुलसीहरि कोइराला


 

इतिहासको उत्खनन्

b3
पुस्तकः रेडियो छाप सलाई 
लेखकः डियर कल्याण 
प्रकाशकः एमके पब्लिसर एण्ड 
डिस्ट्रिब्यूटर्स, काठमाडौं 
मूल्यः रु.३५०
पृष्ठः ३६१

२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको अग्रसरतामा तत्कालीन राष्ट्रियसभा सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठन भएको संचार नीति मस्यौदा कार्यदलका सदस्य राजेन्द्र दाहाल गैर–सरकारी क्षेत्रले पनि रेडियो स्टेशन चलाउन पाउने कुरा नीतिमा पार्न चाहन्थे। संचार मन्त्रालयका सचिव घनानाथ ओझाले त्यस्तो अनुमति दिन नसकिने अडान लिए पनि राजनीतिक नेतृत्वको उदार सोचबाट निजी क्षेत्रले रेडियो खोल्न पाउने नीतिगत र कानूनी व्यवस्थाहरू भए।

२०५१ मा एमाले नेता प्रदीप नेपाल संचार मन्त्री भएपछि स्वतन्त्र रेडियोको अवधारणा फेरि संकटमा परेको थियो। उनले दाहाललाई भनेका थिए, 'रेडियो चलाउने सरकारले हो तपाईंले हैन, साइकल चलाए जस्तो हो रेडियो स्टेशन?' संचार सचिव भोजराज पोखरेलले त नेपाल वातावरण पत्रकार समूह (नेवापस) का अध्यक्ष आदित्यमान श्रेष्ठलाई रेडियो उपकरण वागमतीमा लगेर फालिदिने धम्की नै दिए। पछि नेवापसले लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारका संचारमन्त्री झ्लनाथ खनालबाट ५ जेठ २०५४ मा प्रसारण अनुमतिपत्र पायो र दक्षिणएशियाकै पहिलो गैरसरकारी सामुदायिक रेडियो रेडियो सगरमाथा स्थापना गर्‍यो।


केशव स्थापितसँग जोडिएको रेडियोको प्रसङ्ग पनि घतलाग्दै छ। काठमाडौं नगरपालिकाको प्रमुख छँदा मेट्रो एफएम चलाउन चाहेका स्थापितलाई तत्कालीन संचार सचिवले 'पहिला राम्रोसँग कानून पढ्न' भनेछन्। त्यसपछि कराँते ड्रेसमा संचार मन्त्रालय गएर सचिवलाई झयालबाट खसालिदिने धम्की दिएका स्थापित अन्ततः एफएमको लाइसेन्स लिएरै फर्किए।
रेडियोमा 'डियर कल्याण' कार्यक्रम चलाउने कल्याण गौतमले हालै लेखेको उपन्यास रेडियो छाप सलाई मा पत्रकारहरूले स्वतन्त्र रेडियो शुरू गर्न राजनीतिक नेतृत्व र सरकारी अधिकारीसँग कसरी लड्नु परेको थियो भन्ने यस्ता धेरै प्रसङ्ग छन्। इतिहासको उत्खनन्, स्वतन्त्रताको खोजी, परिवर्तनको लडाईं र उपसंहार चार खण्डमा विभाजित उपन्यासमा २००७ सालको क्रान्तिताका रेडियोको प्रयोग कसरी भएको थियो भन्ने प्रसंग पनि छ।

२००८ मा गृहमन्त्री हुँदा बीपी कोइरालाले चुरोट सल्काउने गरेको रेडियो छाप सलाई बाट नाम जुराइएको उपन्यासलाई यसका सजीव पात्रले चहकिलो र पठनीय बनाएका छन्। माओवादी आन्दोलन, टनकपुर सन्धि र थारू वस्तीको चित्र समेत उतारिएको उपन्यासमा नेपालमा एफएम रेडियोको विकास, त्यसको दुरुपयोग, संचारकर्र्मीका पीडा र विद्रोहहरू छताछुल्ल छन्।

रेडियो छाप सलाई को प्रसंग अनावश्यक रूपमा दोहोरिरहनु र भरमार भाषिक त्रुटि उपन्यासका कमजोरी हुन्।

रामजी दाहाल


 

एउटै पुस्तकमा साम्बभक्त

b4
साम्बभक्त सुवेदीः 
सृजना र सम्झना 
सम्पादकः रोचक घिमिरे 
प्रकाशकः नवराज सुवेदी 
मूल्यः रु.६२५
पृष्ठः ६८२+

राणाकालमा शिक्षित भएर सार्वजनिक महत्वको विषयमा केही लेख्नु वा साहित्य सिर्जना गर्नुले ज्यान जानेसम्मको स्थिति आउँथ्यो। वि.सं. १९७७ मा मकैको खेती लेखेर जेल परेका ना.सु. कृष्णलाल अधिकारीको बन्दी अवस्थामै मृत्यु भएको थियो। तर, ज्ञान र साहित्यको भोकलाई शासकको कोर्राले रोक्न सक्दैन। नातामा भिनाजु पर्ने तिनै कृष्णलालबाट प्रभावित साम्बभक्त सुवेदी सानैदेखि साहित्यतिर आकर्षित भए। उनले सत्यव्रत (खण्डकाव्य) र मुरारि पुकार (स्तुतिकाव्य) लेखेर नेपाली साहित्यको भण्डारमा योगदान गरे। संस्कृतका विद्वान् सुवेदीका दुवै कृतिमा छन्दको सशक्त प्रयोग र भावको अतुलनीय गाम्भीर्य छ। यिनै साहित्यकार सुवेदीलाई अझ् सशक्त रूपमा चिनाउने काम गरेका छन् सम्पादक रोचक घिमिरेले, साम्बभक्त सुवेदीः सृजना र सम्झ्ना ग्रन्थमा।

लामो खोज र अध्ययनपछि निकालिएको बुझिने १० भागमा विभक्त ग्रन्थमा साम्बभक्तका सम्भवतः सबै रचना अटाएका छन्। यसले नेपाली साहित्यका अहिलेका पाठकलाई साम्बभक्तको लेखनीसँग परिचय गराएको मात्र हैन, राणाकालको अन्धकारबीच नेपाली कन्दरामा ज्ञानको दीप कसरी बल्ने गर्थ्यो भन्ने पनि प्रष्ट पारेको छ। ऊ बेलाका यस्ता स्वनामधन्य साहित्यकारको पुस्तकमा चर्चित पञ्चनेता नवराज सुवेदीको व्यक्तिगत विवरणले भने बाबुको भन्दा छोराको बढी विज्ञापन भएजस्तो लाग्छ। किताबमा लेखक–सम्पादकहरूको विवरण छापिनु बेग्लै कुरा, तर प्रकाशकको छापिनु आफैंमा पनि कम अनौठो छैन!

धर्म दाहाल

comments powered by Disqus

रमझम