९ असार २०७० | 23 June 2013

डुप्कामा सुदूरपश्चिमको स्वाद

Share:
  

राजधानीमा एकपछि अर्को नेवारी, थकालीदेखि किरातसम्मका परिकार पस्कने रेष्टुरेण्टहरु खुलिरहेको अवस्थामा सुदूरपश्चिमेली स्वादको बानेश्वरको डुप्का फेमिली रेष्टुरेण्ट गन्तव्य बनेको छ। सूर्यविक्रम ज्ञवाली मार्गमा एक वर्षअघि खुलेको डुप्का रेष्टुरेण्टको 'डुप्का' नै विशेष परिकार हो। मेनुमा डुप्का थाली भेज र ननभेजमा उपलब्ध छ। यो परिकार मास र गहतको पेष्ट अनि गहतकै घोलबाट तयार गरिन्छ।
तोरीको तेल, टिमुरको धूलो, कागतीको रस, तोरी, अदुवा, लसुनको पेष्टमा बनेको डोटेली सेकुवा, सुदूरपश्चिमकै चामलको माणा (रोटी), भड्डुमा गालेको मटन, तावामा भुटेको मसलेदार हरियो तावा मकै लगायतका डुप्काका परिकारले सबैको जिब्रोलाई जितिरहेको छ। यसबाहेक साँधेको चिकन, पोलेको लेकाली आलु, खुट्टीको सुरुवा, सिस्नु सुप आदि परिकार पनि धेरैले रूचाएका छन्।

राजधानीका र्‍याडिसन, सोल्टी लगायतका तारे होटलमा सेफ रहिसकेका बसन्त जोशी डुप्का सञ्चालकमध्येका एक हुन्। गाउँघरमा लुकेको खानाको प्रवर्द्धनका लागि यो रेष्टुरेण्ट खोलेको उनले बताए। सुदूरपश्चिमेली परिकारको जिम्मा डोटीकी पार्वती भट्टले लिएकी छन्। २५० देखि ३०० जनासम्म अटाउने पार्टी हलसहितको डुप्कामा इण्डियन, चाइनिज र कण्टिनेण्टल परिकार पनि पाइन्छन्।

अनुशील

comments powered by Disqus

रमझम