१६ असार २०७० | 30 June 2013

खतराको संकेत

Share:
  

हिमाल (९ असार) मा प्रकाशित 'बजारूले कुपोषण' समाचार यथार्थपरक लाग्यो। घरका पोषणयुक्त खानेकुरा बेचेर बजारिया खाने बानी परेका नेपालीमा यस्ता समस्या बढ्दै गएका छन्। शरीरलाई आवश्यक पर्ने पोषकतत्व खानाबाट पाइन्छ भन्ने कुराको सामान्य जानकारी नभएर हो वा आधुनिक बन्ने होडमा नेपालीले आफ्नो स्वास्थ्य आफैं बिगारेका छन्। आफ्नै खेतबारीमा उब्जाएको मकै, कोदो, गहुँ, जौ जस्ता पोषिला खानेकुरा बेचेर बजारको चाउचाउ र तयारी खानेकुरा खाने बानीले एउटा पुस्ता नै कुपोषित बन्दैछ।

मिलन बम, इमेलबाट

बेलैमा सोचौं

हिमाल (९ असार) मा प्रकाशित 'घट्दैछ उब्जनी' समाचारबाट हाम्रो वास्तविकता झ्ल्कन्छ। कृषि प्रधान मुलुकमा उब्जनी गर्नुभन्दा बाहिरबाट ल्याएर खाने प्रचलनको विकास हुँदै गएको छ। समयमा पानी नपर्नु, उन्नत बीउबिजन नपाइनु, समयमा मल नपाइनु मात्र होइन पछिल्लो समयमा काम गर्ने जनशक्तिको अभावमा ठूलो समस्या देखिएको छ। वर्षभरि खेती–किसानी गरेर ६ महीना खान नपुग्नु नेपाली किसानको वास्तविकता भएको छ। खेतीयोग्य जमिन बाँझिंदै जानुले पनि नेपालको कृषि प्रणाली धरासायी हुँदैछ भन्ने देखाउँछ। यसतर्फ सरकार र सम्बन्धित निकायको समयमै ध्यान जानुपर्छ।

गोपाल पौडेल, ललितपुर―९

स्तुत्य काम

हिमाल (९ असार) मा प्रकाशित 'प्याराग्लाइडिङमा महिला' समाचार सकारात्मक छ। केही वर्षअघिसम्म चुलोचौकोमा सीमित नेपाली महिलाहरू आज आफ्नो बुद्धि र विवेकले सक्ने काम गरेर जीविकोपार्जन मात्र गरेका छैनन्, धेरैको रोजीरोटीको बाटो पनि खोलिदिएका छन्। महिलाको काम साँच्चिकै तारिफयोग्य छ।

पशुपति श्रेष्ठ, इमेलबाट

तारिफयोग्य काम

हिमाल (२ असार) मा प्रकाशित 'नाच राम्रो नेपाली' समाचारमा एउटा विदेशीले नेपाली नृत्यको लागि गरेको कामको बारेमा पढ्न पाउनु खुशीको कुरा हो। नेपालका कला–संस्कृति, मौलिकता, मौलिक नाचका लागि युको ओकामोतोको काम तारिफयोग्य छ।

लोकेन्द्र देवकोटा, इमेलबाट

आधुनिकताको नाममा नेपाली कला–संस्कृति, मौलिकता भुलिरहेका बेला जापानी महिला युको ओकामोतोले लामो समयदेखि परम्परागत नृत्यको संरक्षणमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुपर्दछ।

तिलक दाहाल, इमेलबाट

comments powered by Disqus

रमझम