१२-१८ मंसिर २०७३ | 27 Nov - 3 Dec 2016

रुपान्तरित रचना

Share:
  

सात सन्तानमध्ये जेठी थिइन्, रचना सुनार। त्यसैले उनको बाल र किशोरीवय भाइबहिनी हुर्काउँदै बित्यो। राम्रो लगाउने र मीठो खाने त कल्पना मात्र थियो।

उनी १५ वर्ष हुँदा घरबाट विवाहको कुरा आयो। तर, छात्रवृत्तिमा स्कूल पढिरहेकी उनले विवाहबाट बच्न आफ्नै तरीका निकालिन्। “स्कूल छाडें भने तीन वर्षदेखिको छात्रवृत्तिको खर्च सबै तिर्नुपर्छ भनेपछि बुबाआमा डराए”, उनी भन्छिन्। तर, दुःखले एसएलसी पास गरेकी रचनाले आर्थिक अभावकै कारण प्लस टुमै पढाइ छाड्नुपर्‍यो।

तीन वर्षअघि सुर्खेत, मसेरीका दलित किशोरीको जीवनस्तर सुधार गर्न भन्दै एक गैरसरकारी संस्थाले 'मसेरी टोल किशोरी संवाद केन्द्र' गठन गर्‍यो। रचना केन्द्रकी सामाजिक परिचालक नियुक्त भइन्। एक वर्षमा परियोजना सकियो तर रचना रोकिइनन्। 'बाल बगैंचा' नामक आफ्नै संस्था खोलिन्, जसले दलित बस्तीका बालबालिकालाई खेलकुदको माध्यमबाट पढाउने उद्देश्य राखेको थियो।

रचनाले किशोरीका लागि 'साथी संवाद केन्द्र' र 'समावेशी किशोरी संवाद केन्द्र' पनि सञ्चालन गरेकी छन्। 'साथी संवाद केन्द्र' ले १२ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले किशोरावस्थाका शारीरिक परिवर्तन, उमेर नपुगी गरिने विवाहलगायतका समस्याबारे छलफल गर्छ भने 'समावेशी किशोरी संवाद केन्द्र' किशोरवयमै विद्यालय छाडेका, विवाह गरेका, आमा बनेकाहरूको समूह हो। “केन्द्रको पहलमा भर्खरै मात्र विद्यालय छाडेका तीन जना स्कूल भर्ना भएका छन्”, उनी सुनाउछिन्।

केन्द्रमार्फत धेरै किशोरीले सीपमूलक तालीम पाएका छन्। आयआर्जनका स्रोत पनि पहिल्याएका छन्। तर, रचना भने यी कामलाई आयस्रोतको माध्यम नबनाएको बताउँछिन्। “विद्यालय र ट्यूसन पढाएर आएको रकमबाटै केही जोगाएर संस्था चलाउँछु”, कोपिला भ्याली स्कूलकी शिक्षिका उनी भन्छिन्, “साथीसँगीले पनि पकेट खर्च जोगाएर सहयोग गरेका छन्।” बाल बगैंचा र दुई संवाद केन्द्र सञ्चालनका लागि छुट्टै भवन पनि बनेको छ। पुस्तकालय पनि बनाएका छन्।

रचनाको कामबाट प्रभावित भई नर्वेको स्ट्रोमी फाउन्डेसनले सन् २०१५ मा उनलाई 'युथ एक्सचेञ्ज प्रोग्राम' मा ओस्लो निम्त्यायो। त्यहाँ उनले अंग्रेजी भाषालगायत सञ्चार र विकासका थुप्रै कुरा सिकिन्। ओस्लोकै किन्डर गार्टनमा इन्टर्नसिप पनि गरिन्। “मलाई पश्चिमा संस्कृतिमा बालबालिकालाई कसरी हुर्काइने रहेछ भनेर जान्नुथियो”, उनी भन्छिन्।

जून, २०१६ मा 'ओस्लो फ्रिडम फोरम' मा 'बालिका पत्नी होइनन्' विषयमा प्रस्तुति पनि दिइन्। द गार्जियन लगायतका पत्रिकाले उनको सफलताका कथालाई स्थान दिए। “किशोरी र महिलाकै क्षेत्रमा उदाहरणीय काम गर्ने लक्ष्य लिएकी छु”, छात्रवृत्तिमा स्नातक पढिरहेकी उनी भन्छिन्।

शिव मुखिया


अभिनयका अभय

लमजुङको बेसीशहरबाट 'हिरो' बन्न राजधानी छिरेका अभय बराल (२६) को महत्वाकांक्षालाई लिएर बेलाबेला परिवारका सदस्य नै शंका गर्दथे। 'मैले सही गरें या गलत', अभय स्वयंमा पनि यस्तो सोच नआएको भने होइन।

तर, चलचित्र होस्टल रिटर्न्स ले उनको अभिनेता बन्ने निर्णय सही थियो भन्ने सावित मात्र गरेन, 'सही हो' भन्ने थेगो नै चर्चित बन्यो। अहिले 'सही हो' प्लस टु पुस्ताकै बोलीमा झुण्डिएको छ।

अध्याय बाट शुरु भएको अभयको यात्रा होस्टल रिटर्न्स, गाठो हुदै कुम्भकरण सम्म आइपुगेको छ। यी सबैमा उनले भिन्न चरित्रमा आफूलाई उभ्याएका छन्। सिल्भर स्त्रि्कनमा उनले पाएको चर्चाको आधारभूमि भने रंगमञ्च नै थियो।

अभिनयमा स्नातक अभयको रंगमञ्चमा छुट्टै परिचय छ। उपियाँको निबन्ध, मान भर्सेस मति, बदरंग लगायत आधा दर्जन बढी नाटकमा उनको अभिनयको प्रशंसा भइसकेको छ। “सही बाटो समातेको छु भन्ने लागेको छ, काम गर्न मजा आइरहेको छ”, उनी भन्छन्।

comments powered by Disqus

रमझम