हाइवे को हाई–हाई

Share:
  
५ साउनदेखि चलेको हाइवे लाई एकातिर हर कोणबाट खोटरहित नेपाली फिल्म भनिंदैछ भने अर्कातिर निरपेक्ष आलोचना गरिंदैछ।
r1

नेपाली कथानक चलचित्रको ५०वर्षे इतिहासमा मेकिङलाई लिएर पहिलो पटक नुमाफुङ ले उल्लेख्य चर्चा बटुल्यो। त्यसको एकदशकपछि अहिले त्योभन्दा ठूलो चर्चामा छ, दीपक रौनियार निर्देशित हाइवे। नुमाफुङ का नवीन सुब्बा साहित्य, नाटक र फिल्म समीक्षाबाट निर्देशनमा आएका थिए भने रौनियार फिल्मी पत्रकारिता र डकुमेन्ट्रीबाट। यसले विधागत ज्ञान भएका र आफ्नै शैलीमा केही गर्न चाहने युवा निर्देशकहरूकै कामले नेपाली सिने बजारमा बहसको वातावरण बनाएको देखाउँछ। 

प्रशंसकहरू यसअघि यति गजबको फिल्म नबनेको भनिरहेका छन्। यो लाइनमा रहेका चलचित्रकर्मी, कलाकार, पत्रकार र दर्शकहरू चियापसलदेखि विद्युतीय सामाजिक सञ्जालसम्म यस्तो तर्क गरिरहेका छन्। अखबार र टेलिभिजनमा पनि हाइवे कै चर्चा छ, सँगै रिलिज भएका अरू दुई फिल्मको नामोनिसान छैन। चर्चाको यो बेला हाइवे को केस्राकेस्रा केलाएर कमजोरीहरूको फेहरिस्त प्रस्तुत गर्ने काम पनि उत्तिकै जोडमा छ। यस्तो प्रयास फिल्मको राम्रोपनलाई अस्वीकार गर्नेभन्दा पनि यसलाई स्फटिकको रूपमा प्रचार गर्ने नियतप्रति लक्षित देखिन्छ, एक हदसम्म। यद्यपि, हाइवे अर्थपूर्ण भएकैले यो बहस चलेकोमा भने विवाद छैन। 'अफट्रयाक' हाइवे ले हलिउडको फिल्म निर्माण कम्पनीसँग सहकार्य, अमेरिकामा सम्पादन, बर्लिन फिल्म फेस्टिभलमा सहभागिता र सामाजिक सञ्जाल किकस्टारबाट रु.३० लाख संकलन जस्ता प्रदर्शनअघिका गतिविधिबाटै नेपाली दर्शकबीच उत्सुकता बढाएको थियो। नभन्दै, यसले नेपाली फिल्मको चालु ढर्रामा भरपुर नयाँपन दिएको छ। र, पक्षमा होस् या बिपक्षमा, प्रस्तुतिको यो नयाँपनले बहसको प्याकेज नै दियो। 

इलामबाट हिंडेको बस बन्दमा पर्छ, यात्रुहरूको चरित्र र मनोदशा छताछुल्ल पार्दै काठमाडौं आइपुगेपछि फिल्म सकिन्छ। यसमा मूलधारका सिनेमेकरहरूले नसोचेका पात्रहरू प्रयोग भएका छन् र सर्वथा फरक शैलीमा कथावाचन हुन्छ। हिरोको रोमान्स र अलौकिक विजय गाथा छैन। दर्शकले देखे–भोगेका विषय छ, पात्रहरू दर्शक जस्तै सक्कली हाउभाउ गर्छन् र स्वाभाविक संवाद हुन्छ। घटनाक्रम प्रतीकात्मक रूपमा अगाडि बढ्छ। र पनि, हाइवे सन्देशमूलक हैन, यथार्थ देखाउने फिल्म हो। 

फिल्म सलल नबग्नु, लगातार चुरोट सल्काउने महिला पात्रहरू परपुरुषसँग लागेकै हुनु फिल्मका खट्किने पक्षहरू हुन्। निर्देशकले प्रयोगको सीमाको ख्याल नगर्दा धेरै विषयको गज्याङमज्याङ भएर दर्शकलाई अल्मलाउँछ। धेरै पात्रका धेरै कथा ९० मिनेटमा च्यापिएको छ। ऋचा शर्माले नुहाएको दृश्यले निर्देशकमा रहेको ग्ल्यामर मसलाको थोरबहुत लोभ देखाउँछ। पत्रकार रवीन्द्र मिश्रको डाक्टरी 'रोल' नभएको भए पनि फिल्म सग्लो नै रहन्थ्यो। र पनि, फिल्मले दर्शकलाई मजाले बाँधेर राख्छ। ड्राइभरको प्रेमपछि यौन व्यवसाय त्यागेकी डान्सरसँग छोरी बिरामी हुँदा पैसा हुँदैन। ड्राइभर पनि बन्दमा थुनिन्छ। सन्तानको लागि छट्पटाएको लाहुरे पात्रले श्रीमती बाँचे पनि पेटको बच्चा मरेको समाचार सुन्नुपर्छ। यी दृश्यहरूले दर्शकलाई समात्छ। 

दुई वर्षअघि छायाङ्कन गरिएको यो चलचित्रमा रौनियारले पात्रहरूलाई कुशल अभिनय गराएका छन्। यीमध्येका दयाहाङ राई र सौगात मल्ल लूट बाट स्टार बनिसकेका छन्। यथार्थपरक छायाङ्कनका लागि कुनै राजनीतिक समूहलाई बन्द आयोजना गर्न लगाउनु कति जायज हो, यसबारे बहस हुन सक्छ। तर, फिल्ममा कथा अनुसार सही लोकेसनमा वास्तविक दृश्यहरू खिचिएका छन्। बन्दमा परेको सडकमा को कलाकार, को गैर–कलाकार छुट्टिदैन, जसले फिल्मलाई मजाको बनाएको छ। यसका लागि निर्देशकले गरेको मिहिनेतको अनुमान जसले पनि गर्न सक्छ। 

चौकठ नामको पुरस्कृत 'सर्ट फिल्म' बनाएका रौनियारले प(हिलो फिल्मबाटै ठूलो पर्दामा बाजी मारेका छन्। हाइवे लाई लिएर नेपाली फिल्मबजारमा चलेको दुवैखाले चर्चाले उनलाई निर्देशकमा स्थापित गरेको छ। यस्तै काम र बहसबाट उच्च कोटिको कलाकार, निर्देशक जन्मने हो। र, उच्चकोटिका निर्देशक, कलाकार नभई चलचित्रको विकास हुँदैन।

ऋषिराम कट्टेल 

comments powered by Disqus

रमझम