१ मंसीर २०७१ मा प्रहरीले एटीएम ठगी प्रकरणमै एक टर्किस नागरिकलाई पक्राउ गरेको थियो। जुन एटीएम ठगीमा विदेशी पक्राउ परेको पहिलो घटना थियो। त्यसयता ९ जना यूरोपेली एटीएम ह्याकर पक्राउ परिसकेका छन्। (हे.इन्फो)
पक्राउ परेका ह्याकरले बयानका क्रममा १२ हजार नेपालीको एटीएम कार्डको विवरण विदेशका आफ्ना ह्याकर साथीहरूलाई इमेल गरिसकेको बताएपछि प्रहरीले तत्काल सबै कार्ड प्रयोगकर्तालाई विज्ञप्तिमार्फत पिन नम्बर परिवर्तन गर्न सूचित गरेको थियो।
सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल नेपालीभन्दा पनि अमेरिका, अष्ट्रेलियासहित १३ देशका विदेशीले जम्मा गरेको रकमप्रति ह्याकरको आँखा गडेको बताउँछन्। “अहिले पक्राउ परेका ह्याकरले पनि अधिकांश विदेशीकै रकम विभिन्न गुप्त उपकरण प्रयोग गरेर चोरेको पाइयो”, उनी भन्छन्।
सजिलै चोरी
ती ह्याकरले गुप्त क्यामेरा, कार्ड स्किमिङ मेसिन, कार्ड राइटर, नक्कली किप्याड, ल्यापटपलगायतका उपकरण प्रयोग गरेर एटीएम प्रयोगकर्ताको कार्डको पिन नम्बर र विवरण चोरेका थिए। स्किमरको प्रयोग गरी एटीएम कार्डको सक्कल विवरण चोरी गरी सूचनाहरू यताउता गरेको सीआईबीका सूचनाप्रविधि विभागका इन्चार्ज तथा प्रहरी उपरीक्षक नरेश मल्ल बताउँछन्। “ठगले एटीएमको सूचना मात्र चोरेका हुन्। ब्यांकको सम्पूर्ण सूचना भने ह्याक गर्न सकेनन्”, उनी भन्छन्।
ठगले नेपाल आएर चोरिएको विवरण विदेशबाट ल्याएका खाली कार्डमा स्ट्रीप मेसिनको मद्दतले भरेको सीआईबीका प्रहरी उपरीक्षक दिवेश लोहनी बताउँछन्। उनीहरू बिहान सबेरै एटीएम बुथ पसेर गुप्त क्यामेरा, स्ट्रीप मेसिन र नक्कली किप्याड जडान गर्थे। “ग्राहकले झ्ुक्किएर मेटल स्ट्रीपमा कार्ड छिराउँदा कार्डको सम्पूर्ण रिड हुने रहेछ”, उनी भन्छन्।
यो प्रविधिबाट ठगहरूले अष्ट्रेलिया, इन्डोनेसिया, फ्रान्स लगायतका मुलुकका ब्यांक खातामा रहेको रकम नेपालका एटीएमबाट निकालेका थिए। एटीएम ठगीमा पहिल्यै पक्राउ परेका एक बुल्गेरियन ह्याकरले फ्रान्सका अधिकांश ब्यांकको पैसा भिसा कार्डमार्फत चोरी गरेको बताएको अनुसन्धानमा संलग्न सीआईबीका प्रहरी निरीक्षक गोविन्द थापा बताउँछन्। तर, नेपाली ब्यांकका एटीएम बुथमार्फत विदेशी ब्यांकमा जम्मा भएको कति रकम चोरी भएको छ भन्ने यकिन विवरण पत्ता लागिसकेको छैन।
गैरजिम्मेवार ब्यांक
नेपालका एटीएम बुथबाट सहजै पैसा चोरी हुने एउटा महत्वपूर्ण कारण हो– म्याग्नेटिक स्ट्रिप प्रणाली। नेपालका एटीएम मेसिनहरू पुरानै स्ट्रिप प्रणालीमै चलिरहेको हुनाले ह्याकरलाई चोरी गर्न सजिलो भएको हो।
एटीएम ठगीलाई मध्यनजर गर्दै ७ साउन २०७२ मा नेपाल राष्ट्र ब्यांकले सबै ब्यांकलाई सन् २०१७ भित्रमा चिप्समा आधारित एटीएम प्रणाली लागू गर्न निर्देशन दिइसकेको छ। तर, निजी ब्यांकहरूले निर्देशनको बेवास्ता गरिरहेका छन्। राष्ट्र ब्यांकका प्रवक्ता नारायणप्रसाद पौडेल एटीएम ठगीको घटनापछि ब्यांकहरूलाई आकस्मिक बैठक बोलाई एटीएमको सुरक्षा प्रणालीबारे सावधानी अपनाउन आग्रह गरिएको बताउँछन्। “नेपाली ब्यांकहरूकै असावधानीका कारण असुरक्षाको प्रश्न उठेको हो”, पौडेल भन्छन्, “त्यसैले ठगीका घटनामा उनीहरू जवाफदेही हुनुपर्छ।”
ह्याकर एटीएम बुथभित्र पसेर चोरी गर्ने उपकरण जडान गर्दा समेत ब्यांकहरूलाई अत्तोपत्तो नहुनुले ब्यांकको चरम लापरवाही पुष्टि गर्छ। ठमेल र दरबारमार्ग क्षेत्रका एटीएमलाई शिकार बनाएका ह्याकरले सिंगल क्याबिन भएका र शहरका भित्री एटीएम बुथबाट चोरी गरेका थिए। एटीएम बुथ खुला राखिए चोरीका घटना कम हुने देखिएको सीआईबीका मल्ल बताउँछन्।
आफ्नो एटीएमबाट पैसा चोरी भएको थाहा भए पनि छवि बिग्रने डरले प्रहरीलाई उजुरी नगर्नुले पनि ब्यांकको गैरजिम्मेवारीपन देखाउँछन्। उता ग्राहकले पनि चोरी भएको रकम इन्स्योरेन्समार्फत प्राप्त गर्ने हुनाले घटना सार्वजनिक नहुने प्रहरीको भनाइ छ।
एटीएमहरूको सुरक्षा प्रणालीसँगै कमजोर कानूनी व्यवस्थाका कारण पनि ह्याकरका अन्तर्राष्ट्रिय गिरोह नेपालमा आकर्षित भएको प्रहरीको ठम्याइ छ। 'ब्यांकिङ कसूर सजाय ऐन २०६४' का अनुसार ब्यांकमार्फत १० देखि ५० लाख रुपैयाँसम्म चोरी गरेमा एकदेखि दुई वर्षसम्म थुनामा राख्न सकिने व्यवस्था छ। सजाय अवधि कम भएकै कारण पनि चोरीका धन्दा नरोकिएको प्रहरीको दाबी छ।
सटही केन्द्रको कालोबजारी
प्रहरीका अनुसार, एटीएम ठगीमा हालसम्म पक्राउ परेका नौ जना ह्याकरबाट ६३ हजार ९१० अमेरिकी डलर, ७६ लाख ४७ हजार ५०० नेरु, ६८ लाख नौ हजार २०० यूरो र ४७० फिलिपिनो मुद्रा बरामद गरिएको छ। यो हिसाबमा उनीहरूले नेपालका एटीएमबाट करीब दुई करोड रुपैयाँ चोरी गरेको अनुमान गर्न सकिन्छ। प्रहरीका अनुसार, ह्याकरले चोरिएको नेपाली रुपैयाँलाई ठमेलका विभिन्न मुद्रा सटही केन्द्र (मनी एक्सचेन्ज सेन्टर) बाट अमेरिकी डलर र यूरोमा साटेका थिए। सटही गर्दा उनीहरूले एक अमेरिकी डलरको रु.११० पर्नेमा रु.१२५ सम्म तिरेका थिए। कतिपयले यही रकमबाट महँगो सामान किनेका थिए। १९ कात्तिकमा पक्राउ परेका रोमानियाका एलेक्स क्रिस्टियन बुघिउर्लानले करीब २६ लाख रुपैयाँ पर्ने हुब्लो कम्पनीको स्वीस घडी किनेर लगाएका थिए।
सीआईबीका प्रमुख डीआईजी सिलवाल ह्याकर समूह हुण्डी कारोबारमा पनि संलग्न भएको बताउँछन्। “एटीएमबाट नेरु चोर्ने र डलरमा साटेर विदेश पुर्याउने काममा ह्याकरको संलग्नता देखिन्छ” सिलवाल भन्छन्, “मनी एक्सचेञ्जबाट अवैध मुद्राको कारोबारबारे राजश्व अनुसन्धान विभागसँग मिलेर अनुसन्धान थालेका छौ।”
मनी एक्सचेन्ज सञ्चालनको अनुमति दिने राष्ट्र ब्यांकले अनुगमन गर्न नसक्दा कालोबजारी भइरहेकोे देखिन्छ। राष्ट्र ब्यांकका प्रवक्ता पौडेल पनि मनी एक्सचेन्ज सेन्टरले अनिवार्य रूपमा विदेशीले रकम साटेको विवरण फरेन एक्सचेन्ज इनक्यासमेन्ट रिसिप्ट (एफईईआर) भर्नुपर्नेमा कतिपयले नियम पालना नगरेको स्वीकार्छन्। भन्छन्, “गडबडी यहींनेर देखिन्छ।” यसखाले अवैध कारोबार बढेपछि राष्ट्र ब्यांकले उपत्यकाभित्र नयाँ मनी एक्सचेञ्ज सेन्टरको दर्ता रोकेको छ। गत असार मसान्तसम्म राष्ट्र ब्यांकबाट ४०२ वटा मनी एक्सचेन्ज सेन्टरले अनुमति लिएका छन्, जसमा उपत्यकामा मात्र १६४ सेन्टर सञ्चालित छन्।
ह्याकरः अन्तर्राष्ट्रिय अपराधी
एटीएम ठगी आरोपमा पक्राउ परेका ह्याकरहरूको समूह अवैध हातहतियार र लागूऔषधको कारोबारमा पनि संलग्न देखिएको छ। इन्टरपोलको सूचनाको आधारमा सीआईबीले पक्राउ गरेकामध्ये पाँच जना अन्तर्राष्ट्रिय अपराधमा सजाय पाइसकेका व्यक्ति हुन्। २५ कात्तिकमा पक्राउ परेका टर्किस नागरिक मुहरेम उज्जुनले स्वदेशमै प्रतिलिपि अधिकार उल्लङ्घन र एटीएम चोरीमा सजाय पाइसकेका थिए। उता याबरले पनि गालीबेइज्जती र धम्कीको आरोपमा टर्किस सरकारबाट सजाय पाइसकेका थिए। अवैध हतियार कारोबार, यौन दुराचार, कागजात किर्ते र ठगीका आरोपित उनी फरार अभियुक्त हुन्।
यस्तै, १९ कात्तिकमा पक्राउ परेका रोमानियाका गिता हुजुम, इओसिफ मोरारु र एलेक्स क्रिस्टियन बुघिउर्लान पनि आपराधिक क्रियाकलापमा संलग्न भएको इन्टरपोलले पुष्टि गरेको छ। हुजुम स्पेनमा अवैध लागूपदार्थ ओसारपसारमा संलग्न भएको आरोपमा सन् २००७ मा दुई वर्ष नौ महीना, मोरारु इटालीमा जालसाजी र नागरिक स्वतन्त्रतामा अवरोध पुर्याएको आरोपमा सन् २०१२ मा १० महीना र बुघिउर्लान जर्मनीमा चोरीको आरोपमा सन् १९९० मा तीन वर्ष ६ महीना सजाय भोगिसकेका थिए।