१६ असार २०७० | 30 June 2013

'देशको रोग भयो सामन्ती सोच'

Share:
  

पिता हनुमानदास मारवाडीको परम्परागत कपडा व्यापारलाई ठेक्कापट्टा र पस्मिनादेखि एयरलाइन्स र चिया उद्योगसम्म फैलाएका वनवारीलाल मित्तल (७७) व्यवसायमा इमान–नैतिकतालाई दीर्घकालीन सफलताको सूत्र ठान्छन्। १० वर्षको उमेरदेखि बुबाको पसलमा बस्न थालेका मित्तलले बनारस र बम्बईमा विद्यार्थी रहँदा नेपाली छात्र संघको नेतृत्व गरे भने २० वर्षको हुँदा आफ्नै व्यवसाय शुरू गरे। र, अहिले श्री एयरलाइन्सको अध्यक्षको रूपमा सक्रिय छन्। नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषामा खोटरहित जिब्रो चलाउने उनी फुर्सदमा सामाजिक गैर–आख्यान पढ्न रूचाउँछन्। अगुवा धार्मिक पर्यटन व्यवसायी मानिने मित्तलसँग हिमाल का लागि रमेश कुमारले गरेको कुराकानीको अंशः

देवकी विष्ट
प्रजातन्त्र पुनर्स्थापनापछि निजी क्षेत्रको प्रगतिलाई कसरी हेर्नुभएको छ?

जाँगरका साथ नयाँ विषयलाई टिप्ने नेपालीको आफ्नै विशेषता छ। त्यही कारण, नेपालीलाई सुरुवालबाट प्यान्टमा आउन छिमेकीलाई धोतीबाट प्यान्टमा आउँदाको जति पनि समय लागेन। नयाँ काम तत्काल सिक्ने अनि परिश्रम र संघर्ष गर्ने उत्साह हामीसँग छ। बन्द अर्थ–व्यवस्थाबाट खुला बजारमुखी अर्थ–व्यवस्थामा आउँदा निजी क्षेत्रले सरकारी सहायताबिना नै धेरै परिवर्तन गर्‍यो।

कार्पेट र पस्मिनामा न हाम्रो कच्चा पदार्थ थियो न त प्रविधि। तिब्बती शरणार्थीका लागि जावलाखेलमा खुलेको कारखानामा कार्पेट र इन्द्रचोकमा कसैले भुवा आउने पस्मिना बेचेको देखेर नेपालीले यी काम सिकेका हुन्। २०४७ पछिका एयरलाइन्स, ब्याङ्क, होटल, कलेज, अस्पताल आयात–निर्यात व्यापार आदि पनि वातावरण पाए नेपालीले काम गरेर देखाउँछन् भन्ने उदाहरण हुन्। सिमेण्ट, फलाम, औषधि आदि उद्योगलाई पनि निजी क्षेत्रले कहाँदेखि कहाँ पुर्‍याइसकेको छ।

नेपालमा खराबी चाहिं के भने, नीति दीर्घकालीन हो भन्ने प्रत्याभूति अझै छैन। उठान गरे पनि गुणस्तर टिकाइरहन नसक्नु अर्को समस्या हो। पस्मिना र कार्पेटको गुणस्तर सुधार्नतिर लागेनौं। 'गुड विल' को अर्थ दिने नेपाली शब्द छैन, यसलाई 'साख' भनेर चिन्छौं। तर, त्यही 'साख'लाई पनि महत्व दिएनौं। म घर र अफिसका सदस्यहरूलाई 'गुड विल'को अर्थ बुझ्न टाढा हेर्न सिक भन्छु।

हाम्रो निजी क्षेत्रलाई कर्पोरेट चरित्रको भएन, गार्हस्थ्य जस्तो मात्र भयो भनिन्छ नि!

नेपालमा संस्थानहरू समेत कर्पोरेट चरित्रका छैनन्। निजी क्षेत्र त गार्हस्थ्य क्षेत्र जसरी नै चलेको छ। सबैभन्दा धेरै कमाउने नेपाल टेलिकम न्यून गुणस्तर र महँगो शुल्कका कारण चलेको छ। कर्पोरेट संस्कृतिका लागि मान्छे मात्र योग्य भएर पुग्दैन, मानसिकता पनि त्यस्तै चाहिन्छ। अर्को कुरा, नेपालमा आर्थिक क्रियाकलापका दृष्टिले अझै कानूनी शासन छैन। निजी क्षेत्रको २५ प्रतिशत समय चाकडी र अर्को २५ प्रतिशत समय चन्दा माग्न वा दबाब दिन आउने समूहहरूसँगको माथापच्चीमा जान्छ। आफू 'ठूलो नभएको' देखाउन पनि ब्युरोक्र्याट्स, नेता इत्यादिकोमा नगई हुँदैन।

हजारौंलाई रोजगारी दिने आर्थिक क्रियाकलापमा संलग्न व्यवसायीहरूले सिंहदरबार छिर्दा फटाहाले जस्तो व्यवहार भोग्नुपर्छ। भित्र छिर्न हात जोड्दा पालेले हुँदैन भन्छ। अब यो सामन्ती चाला हटाउनु पर्‍यो।

निजी क्षेत्र नाफाखोर, जालसाज र कर छल्ने वर्गको छविको शिकार भएको हो?

एकदिन मेरो एकाउन्टेन्टले 'सर, आज राम्रै फाइदा भयो' भन्यो। कुरा बुझ्दा एउटा व्यापारीले हिसाब भुलेर फाइदा भएको रहेछ। मैले तुरुन्त एकाउन्टेन्टलाई त्यो रकम फिर्ता गर्न लगाएँ। भाउमा नाफा खाने व्यापारको अधिकार हो, तर हिसाबमा नाफा खानु चोरी हो।

मानिस सबभन्दा स्वार्थी प्राणी हो, स्वार्थको कुनै सीमा हुँदैन। सँगसँगै मान्छे एकदमै त्यागी पनि हुन्छ– लक्ष्य दिन जानियो भने। म त्यसलाई 'ओरियन्टेसन' भन्छु। हामीकहाँ 'ओरियन्टेसन'को समस्या छ। समाजले अहिले पनि निजी क्षेत्रलाई नाफाखोर देख्छ। तर, जहाँ पनि असल र खराब हुन्छन्। खराबहरूले त सहेर, धाएर, लोभ देखाएर, दिक्क बनाएर पनि काम गर्छन्, तर स्वाभिमान भएका असलहरू यस्तोमा टिक्दैनन्। असलको संरक्षण नहुँदा वनमारा मौलाएको छ, अहिले। वनमारालाई उम्रने ठाउँ भए पुग्छ, फूललाई त पानी पनि चाहिन्छ!

नेपालमा नीतिगत अस्थिरता र खराब मानसिकताले निजी क्षेत्रको उडानमा पखेटा काटिदिने काम गरेको छ। निजी क्षेत्रको गलत मुनाफालाई कानूनी कारबाहीद्वारा निरुत्साहित पारिनुपर्नेमा राम्रो गर्नेको मानमर्दन भएको छ। व्यवस्थापकीय र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा ध्यान गएको छैन। देशकै रोग भएको सामन्ती सोचले मान्छेहरूलाई असल बन्नबाट रोकेको छ।

निजी क्षेत्रलाई सरकारले दिएको सम्मान, पहिचान सन्तोषजनक छैन?

म अहिलेलाई तक्मा भन्दा पनि काम गर्न सजिलो वातावरण बनाइदिए पुग्ने ठान्छु। सम्मान र भूमिका दिने नाममा नजिकका दुई–चारलाई तक्का लगाइदिंदा इमान्दारहरू हतोत्साही हुन्छन्। अहिलेलाई लगानी मैत्री वातावरण र नीतिगत स्थिरता नै निजी क्षेत्रलाई सरकारले गर्ने सबभन्दा ठूलो सम्मान हुनेछ।

निजी क्षेत्रलाई धक फुकाएर लगानी गर्न के–के अप्ठ्यारो छ?

लगानीकर्तालाई लगानी पूर्ण सुरक्षित छ भन्ने अनुभूति छैन। राज्य, राजनीतिक दल र समाजको कुनै तप्काले कुनै पनि बेला निजी सम्पत्तिमा हस्तक्षेप गरिदिने भय यथावत् छ। निजी सम्पत्ति र लगानी सुरक्षित छ भन्नेमा लगानीकर्ता आश्वस्त नभएसम्म नयाँ व्यवसाय–उद्योगधन्दा खुल्दैनन्। बरु, पूँजी बढी लाभ हुने ठाउँतिर पलायन हुन्छ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू आफैं विभाजित र गुटगत स्वार्थबाट आक्रान्त हुँदा साझा मुद्दाले महत्व पाएको छैन। किन यस्तो?

त्यसको असर समाजको हरेक क्षेत्रमा देखिएको छ। टाढा हेर्न जानेको भए हाम्रो नेतृत्व सफल भएर समाजलाई अगाडि बढ्न सहज हुन्थ्यो। तर, सामाजिकदेखि व्यापारिक र राजनीतिकसम्मका संस्थामा पदको लोभ हावी भएको छ। स्वार्थका गुटहरू बलिया देखिएका छन्।

तपाईंलाई धेरैले नेपाली समाजको अध्येता पनि भन्छन्, तर सधैं 'लो प्रोफाइल' मा बस्नुभएको देखिन्छ, किन?

नेपाली हुन पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु र आफूलाई घमण्डी मान्छे भन्छु। यो समाजबाट पाएको माया यति ठूलो छ कि म हरदम यसको बोझ्ा महसूस गर्छु अनि कुनै दुर्गम ठाउँको गरीब–अपहेलित परिवारमा जन्मिएको भए अहिलेसम्म भातकै लागि संघर्ष गरिरहेको हुने थिएँ हुँला भन्दै चित्त बुझाउँछु। मलाई काठमाडौंको व्यापारी परिवारमा जन्माइदिएको भगवान्ले र सम्मान दिएको नेपाली समाजले हो। यसमा मैले के 'प्रोफाइल' देखाउने?

पारिवारिक व्यवसायमा आएको नयाँ पुस्ता कस्तो छ?

पुरानो पुस्ताको कार्यशैली तत्कालीन सामाजिक संरचना अनुसारकै थियो। मारवाडी र अरू समुदायका पनि पुरानो पुस्ताका उद्योगी–व्यापारी पारिवारिक संस्कृति/अनुशासनमा दीक्षित भएर आए, उनीहरूले सामाजिक व्यवहार, आचरण र दृष्टिकोणलाई व्यवहारमा उतार्न खोजे। अहिलेको समाज कुनै व्यक्तिको आचरण भन्दा कम्पनीको अवस्था नियाल्छ। त्यसमाथि, नयाँ पुस्तालाई सानैदेखि बाहिर पढाइएकाले उनीहरूमा परम्परागत अनुशासन कम छ। असल लक्ष्य दिन सक्दा उनीहरूको जोशले समाजलाई सजिलै अगाडि लैजान्छ।

तपाईंको आफ्नै व्यवसाय चाहिं अहिले कस्तो छ?

म सोख वा फुर्ती देखाउनलाई काम गर्दिनँ। दिगो सम्भावना देखियो भने जुन क्षेत्रमा पनि लगानी गर्छु। निर्माण र पस्मिना लगायतका व्यवसाय अहिले छैनन्। सात वटा हेलिकप्टर भएको श्री एयरलाइन्समा हेलिकप्टर थप्न फ्रान्सेली कम्पनीसँग कुरा भइरहेको छ। अब 'फिक्स्ड विङ्ग' सेवामा जानेबारे अध्ययन गरिरहेको छु। भर्खरै नयाँ चिया बगान शुरू गरें।

नेपालमा एयरलाइन्सको अवस्था र सम्भावना के छ?

अहिले चुनौतीपूर्ण छ, तर सम्भावना व्यापक छ। सरकारले अलिकति प्राथमिकता दियो भने यो क्षेत्रमा फड्को मार्न सकिन्छ। श्री एयरलाइन्सले राष्ट्रसंघको टेण्डर पारेर अफ्रिकामा हेलिकप्टर उडाइरहेको छ। यसमा हामीले विश्वका ठूला कम्पनीहरूलाई जित्यौं। नेपाल पहाडी मुलुक भएकाले पर्याप्त दर्शनीय ठाउँ छन्। धार्मिक पर्यटनमा हेलिकप्टरको उस्तै सम्भावना छ।

comments powered by Disqus

रमझम