१६ असार २०७० | 30 June 2013

'म फिल्म नै हेर्दिनँ'

Share:
  

कान्तिपुर टेलिभिजनका भिडियो जक्की र म्युजिक भिडियो निर्देशक सुरजसिंह ठकुरी कथानक चलचित्र कर्कश मा देखिएका छन्। फिल्म नहेर्ने अनि कहिल्यै अभिनय गर्छु भनेर नसोचेका ठकुरीसँग अनुशीलले गरेको कुराकानीः

विक्रम राई
'ट्रयाक चेञ्ज' गरेको हो?

१० वर्षसम्म 'कल कान्तिपुर' चलाइयो। एउटा भिजेको रूपमा त्योभन्दा माथि जाने ठाउँ छैन भन्ने लागिराखेको थियो। स्टुडियोभन्दा बाहिर पनि जानुपर्छ भन्ने लागिरहेको बेला साथी आसीफले भन्यो, भूमिका मन पर्‍यो अनि गरिहालें।

साथीले भनेर मात्रै?

रहर थिएन। म्युजिक भिडियो र विज्ञापनहरू निर्देशन गरिसकेकाले मलाई अभिनय गर्नुभन्दा गराउनु मजा लाग्छ। तर, फ्रेण्डसिप डेको दिन आसीफले मेरो फिल्ममा इभानविक्रम शाहको रोल तँलाई मेरोतर्फबाट गिफ्ट भनेकाले पैसा नलिइकन खेलिदिएको हुँ। कथा पनि मन परेरै हो।

अभिनय सजिलो लाग्यो?

एक्सन, कट भन्न सजिलो, एक्टिङ गर्न गाह्रो। तर, सबै साथीभाइमाझमा भएकाले मलाई त्यस्तो गाह्रो भएन। डाइरेक्टरले एक्सन भन्दा पनि पख् न एकछिन् मूडै आ'को छैन भन्न पाइयो। साथीहरू बसेर गफ गरिराख्दा एउटा क्यामेरा पनि साइडमा थियो जस्तो मात्रै भयो।

फिल्म हेरेपछि कस्तो लाग्यो?

राम्रै भएछ, राम्रै गर्दो रहेछु जस्तो लाग्यो। सिक्ने ठाउँहरू धेरै भए पनि पहिलो प्रयासमा यत्तिको हुनु भनेको फस्ट डिभिजन नै हो। गुनासो वा आत्मग्लानिको ठाउँ छैन।

कर्कश कस्तो फिल्म हो?

यो सन्देश हैन, मनोरञ्जन दिने फिल्म हो। देशका नेताहरूले नै सन्देश दिएका छैनन् भने फिल्मले के सन्देश दिने? श्रीमतीसँग ठाकठुक भएको, हाकिमले गाली गरेको, साथीसँग झगडा परेको, पैसाको अभाव भएको आदि कुरालाई हल बाहिर छोडेर भित्र छिर्ने अनि फेन्टासीको दुनियाँमा हराउने। यो फिल्म सन्देश नदिनको लागि बनाइएको हो।

अरू फिल्म पनि गर्दै हुनुहुन्छ?

राम्रो प्रोजेक्ट आयो र मन पर्‍यो भने गर्छु। मन नपरे मै हुँ भन्ने निर्देशकले दिए पनि गर्दिनँ। मन परे सित्तैंमा पनि खेलिदिन्छु, पैसा र त्यो निर्देशकको नाम कति ठूलो हो भन्ने कुराले फरक पर्दैन।

अफर आएका छैनन्?

१०–१२ वटा फिल्मको प्रस्ताव पहिल्यै आएको थियो। तर, खेल्नु नै छैन भने नजाने गाउँको बाटो किन सोध्नु भनेर अस्वीकार गर्थें।

अब त स्वीकार गर्न मन लाग्ला नि?

त्यो त म आफैंलाई थाहा छैन। मन लागेन भने नखेल्न सक्छु। बिहान साढे नौदेखि राति आठ बजेसम्म टेलिभिजनमा काम गरिराखेको हुन्छु। चलचित्र भनेको थुक्पा, चाउमिन होला, कान्तिपुरको जागिर भनेको मेरा लागि दाल–भात हो। अनि म बडो भाते मान्छे हो।

कर्कश का लागि कसरी समय निस्क्यो? बिदाको दिन काम गरें। मैले यो फिल्मका लागि १० देखि १२ दिन दिएँ।

तपाई आफैं कत्तिको नेपाली फिल्म हेर्नुहुन्छ?

म कुनै फिल्म हेर्दिनँ। हलमा गएर, तीन घण्टा थच्चिएर हेरेको चलचित्र रंग दे वसन्ती हो। त्यसपछि भक्तराज आचार्यको जीवनी भएको आचार्य हेरेको थिएँ।

फिल्म निर्देशन गर्ने सोच छ?

हिरो हुनलाई उमेरको हद होला, तर निर्देशक बन्नलाई छैन। त्यसकारण, अहिले हतार छैन।

comments powered by Disqus

रमझम