२३ असार २०७० | 7 July 2013

नेवानिको खानेबानी

Share:
  

विभिन्न उथलपुथलपछि नेपाल वायुसेवा निगमले दुई ठूला जहाज पाउने लक्षण देखिएको छ। सँगै स्थापना भएका थाई एयरवेज आज संसारभर दर्जनौं जहाजबाट चिरपरिचित हुंदा हाम्रो नेवानि भने काम नगरी खानेबानी परेको कर्मचारीदेखि निर्णायक तहसम्मका वक्रदृष्टिले 'ग्राउण्ड ह्याण्डलिं' मा सीमित हुन थाल्दैछ। अन्तर्राष्ट्रिय उडानका लागि साढे दुई दशकमा दुई जहाजका भरमा टिकेको छ भने आन्तरिकमा एउटा ट्वीन अटरले इज्जत धानिरहेको छ।

कुनैबेला नोकरीको आकर्षक ठाउँ यहाँका पाइलट, क्याप्टेन समेत भविष्य नदेखेर पलायन हुँदैछन्। बहुदलपछि पटक पटकका काण्डका कारण उल्टो दिनगन्ती शुरू भएको हो। नयाँ सडकको विशाल भवन बिक्री या भाडामा दिएर सिनामंलमा स्थानान्तरण भएर होस् या निजी क्षेत्रलाई ४९ प्रतिशत शेयर बिक्री गरेर सरकारले यसको नाम मात्रको नेतृत्व प्रदान गरेर नयाँ व्यवस्थापनलाई पूर्ण अधिकार नदिएसम्म यसको भविष्य उज्यालो देखिंदैन। जबकि बुद्ध र यतीले दर्जनौं जहाजका साथ आकाशमा बलियो उपस्थिति देखाइरहेका छन्। यो अवस्थामा दुर्गम क्षेत्रका जनतालाई सहुलियत उडान सुचारु गर्न नसके सरकारी स्वामित्व हुनुको के अर्थ?

हुन त दुई जहाज थप्दैमा नेवानिको कायापलट नै हुने त होइन। दीर्घकालीन योजना र चुस्त व्यवस्थापनमा मात्र यसको मुहार फेरिन सक्छ। तर यसका लागि कर्मचारीदेखि सरकारसम्म इमान्दार हुनुपर्‍यो। गोहीको आँसु चुहाउँदै आपसमा दोषारोपण गर्नुको साटो यसको साख जोगाउँदै प्रतिस्पर्धी बजारमा गुमेको बजार हिस्सा पुनर्स्थापित गर्नु महत्वपूर्ण सवाल हो। अब पनि चेत नआउने हो भने नेवानिको हालत आकाशको फल आँखा तरी मर मात्र हुनेछ।

श्रीकृष्ण राजवंशी

झागाझोली रातमाटा–१, सिन्धुली

हाल–कोटेश्वर

मनोवैज्ञानिक लेख

हिमाल (९ असार) मा प्रकाशित मिलन दीक्षितको 'अब के पढ्ने?' टिप्पणी आजको शिक्षा विकासका सन्दर्भमा अत्यन्त शिक्षाप्रद छ। वास्तवमा नेपालमा आधारभूत तहमा शिक्षण गर्ने सबै शिक्षकलाई लेखमा वर्णन गरिएको हवर्ड गार्नरको बहुमुखी प्रतिभाको सिद्धान्त अनुसार शिक्षण अभ्यास गर्ने परिपाटी लागू गरेमा प्रभावकारी हुनेथियो। मुख्य गरेर गार्नरले बताएका १० प्रतिभामध्ये मौखिक–भाषिक, स्थानगत, सांगीतिक, आध्यात्मिक, अस्तित्ववादी र नैतिक क्षमताका आधारमा शिक्षण गर्न नेपालको शैक्षिक सिद्धान्त, पाठ्यक्रम, पाठ्यपुस्तक एवं शैक्षणिक उद्देश्य अनुरुप हुनसक्ने कुरामा विश्वस्त हुन सकिन्छ।

यज्ञबहादुर कार्की, मन्थली, रामेछाप

व्यर्थको गाली

हिमाल (९ असार)को सम्पादकीय 'छिटो राहत पुर्‍याऊ' पढ्दा खल्लो लाग्यो। महाकालीको बाढीले आहत जनतामा तत्काल राहतको मलम लगाउनु सरकारको कर्तव्य हो भन्ने कुरामा कुनै शंका छैन तर हरेक अप्ठेरा परिस्थितिमा सरकारको मात्र दोष देखाउनुहुँदैन।

राहत बापतको रकम पठाउन ढिलाइ भएमा 'पीडितका मनले रेग्मीलाई दुत्कार्न सक्छन्' लेखेर सम्पादकले रेग्मीलाई शंकाको सुविधा दिएका छैनन् भने पीडितको मनमा नकारात्मक भावना भर्न खोजेका छन्। प्रकोपित क्षेत्रमा मन्त्री ढिलो गएको दोष दिएर हवाइ निरीक्षणको संस्कृतिलाई बढावा दिन खोजिएको छ। स्थलगत निरीक्षण गरी पीडितलाई सान्त्वना दिनु राम्रो हो तर प्रधानमन्त्रीले हेर्न चाहेको कुरा सिंहदरबारबाटै हेर्न सक्छन् र गर्न चाहेको कुरा गर्न सक्छन्। दीर्घकालीन रणनीति त न आजै बनाउन सकिन्छ न कार्यान्वयन गर्न। सरकार बनाउन दल असफल भएका बेला सरकारप्रमुख बनेर राज्यलाई राजनीतिक रूपमा असफल हुनबाट रेग्मीले जोगाएका छन्। उनलाई व्यर्थमा गाली गरेर केही फाइदा छैन।

मुना आचार्य, विराटनगर–११, मोरङ

आँसु थाम्न सकिनँ

हिमाल (९ असार)मा छापिएको 'रमेश रामको बिहे' पढेपछि निकै भावुक भएँ। लेखाइ निकै मार्मिक र यथार्थपरक छ। पढ्दै गर्दा आँखाबाट आँसुको धारा बगिरह्यो।

बीबी कार्की, इमेलबाट

comments powered by Disqus

रमझम