२३ असार २०७० | 7 July 2013

चिया किसानको कारखाना बन्दै

Share:
  
कृषि मन्त्रालयले रु.३ करोड १० लाख अनुदान दिएपछि साना किसानको चिया कारखाना निर्माण अन्तिम चरणमा पुगेको छ।

गोपाल गड्तौला
साना किसान सहकारी संस्थाले खोलेको चिया कारखाना।
“साहुलाई हरियो पत्ती बेच्ने यो अन्तिम वर्ष हो” अर्को वर्षदेखि आफू जस्तै साना किसानहरूले मिलेर खोलेको कारखानामा चियाका पत्ती दिन पाउने भएपछि खुशी भएकी झापा पृथ्वीनगर–६ की इन्दिरा भट्टराईले भनिन्। उनको समेत लगानी रहेको 'साना किसान सहकारी संस्था' ले खोलेको चिया कारखानाको निर्माण अन्तिम चरणमा पुगेकोमा उनी जस्तै अरू किसान पनि उत्साही छन्।

२०५४ मा स्थापना भएको साना किसान सहकारीले त्यही बेला चिया कारखाना बनाउने योजना बनाएको थियो। पछिल्ला दुई वर्षमा कृषि मन्त्रालयले रु.३ करोड १० लाख अनुदान दिएपछि त्यो योजना कार्यान्वयनको बाटोमा अघि बढ्यो। त्यसपछि सहकारीमा आवद्ध किसानले रु.२० हजारदेखि रु.१ लाखसम्मको शेयर आपसमा बाँडेर रु.२ करोड ५० लाख उठाए। तर, कारखाना निर्माणमा अहिलेसम्म रु.५ करोड २५ लार्ख खर्च भइसकेकाले किसानहरूले अझै शेयर बाँडिरहेका छन्। कारखानाको मेशिन सेट भइसकेकाले साउनदेखि चिया उत्पादन गर्न सकिने विश्वासमा रहेका कारखानाको उत्पादन एकाइका प्रमुख चूडामणि खतिवडा भन्छन्, “चियाको नाम पनि साना किसान चिया नै राख्ने निधो गरेका छौं।” दैनिक २५ हजार केजी हरियो चियापत्ती प्रशोधन गर्ने क्षमताको कारखानाले दैनिक ६ हजार केजी तयारी सीटीसी चिया उत्पादन गर्न सक्ने खतिवडा बताउँछन्।

चियामा फाइदा

चियाबारीमा झापा पृथ्वीनगरकी इन्दिरा भट्टराई।
बलौटे दोमट माटोमा चिया धानभन्दा बढी उत्पादन हुने भएकाले त्यस्तै माटो भएको पृथ्वीनगरमा साढे तीन सय साना किसानले चिया लगाएका छन्। पृथ्वीनगरसहित घेराबारी, बालुबाडी, बनियानीलगायत गाविसका किसानले दैनिक सरदर ६० हजार केजी हरियो चियापत्ती झापादेखि इलामसम्मका कारखानालाई बेच्छन्। साहुले तोकेको मूल्यमा चिया बेच्नुपर्ने भएकाले साना किसानले आफैं चिया कारखाना निर्माण गरेका हुन्।

घरछेउको साढे आठ कट्ठा जमिनमा रोपेको चियाबाट खर्च कटाएर गत वर्ष नै रु.८० हजार आम्दानी गरेकी इन्दिरालाई सहकारीको कारखाना चल्न थालेपछि आम्दानी अरू बढ्ने आशा छ। पानी नजम्ने उनको जस्तो भिरालो जमिनमा चियाभन्दा अरू खेतीबाट त्यति आम्दानी नहुने उनको अनुभव छ।

एक बिघा (१३ रोपनी) जमिनमा सामान्यतः चियाका आठ हजार बिरुवा रोपिन्छ। रोपेको पाँच वर्षदेखि बिरुवाले पूर्ण क्षमतामा उत्पादन दिन शुरू गर्छ, प्रति बिरुवाले वार्षिक दुई केजीका दरमा। कारखाना निर्माण समितिका सदस्य डिल्लीराम खनाल एक बिघा जमिनमा वर्षको १६ हजार केजी हरियो चियापत्ती उत्पादन हुने बताउँछन्। कारखानाहरूले अहिले एक केजीको रु.२० दिइरहेकाले एक बिघामा उत्पादन हुने चियाबाट किसानले वार्षिक रु.३ लाख २० हजार पाउँछन्। बिरुवा, मल, ज्याला, औषधि र लगानीको ब्याज कटाउँदा पनि एक बिघाबाट किसानलाई वार्षिक रु.१ लाख २५ हजार आम्दानी हुने गरेको खनालको भनाइ छ।

गोपाल गडतौला, झापा


विद्यालयबाटै कम्प्युटर इञ्जिनियरिङ

पवन पौडेल
तनहुँको सत्यवती उमाविको कक्षा ९ मा अध्ययनरत कम्प्युटर इन्जिनियरिङका विद्यार्थी।
एसएलसी सकेपछि कम्प्युटर इञ्जिनियरिङ पढ्ने योजना बनाउँदै गरेकी तनहुँको सत्यवती उच्च माविकी छात्रा दुर्गा जिसीले ९ कक्षामै त्यो अवसर पाइन्। सरकारले यो वर्ष विद्यालयमा प्राविधिक शिक्षा शुरू गरेको १०० विद्यालयमा सत्यवती परेपछि दुर्गा जस्तै ४८ जना विद्यार्थी अहिले कम्प्युटर इञ्जिनियरिङको प्राथमिक कक्षा पढ्दै छन्।

यो कक्षा पढेका विद्यार्थीले एसएलसी पास गरेपछि सव–ओभरसियरको प्रमाणपत्र पाउँछन्। विद्यालयका सहायक प्राचार्य राजेन्द्र खनाल सव–ओभरसियरको त्यो प्रमाणपत्रले विद्यार्थीलाई रोजगारी दिलाउन सघाउने बताउँछन्। विद्यार्थी र अभिभावकलाई उत्साहित बनाएको यो कक्षा पढ्नेलाई इञ्जिनियरिङ पढ्न सहज बनाउने पनि उनी बताउँछन्। विद्यालयका प्राचार्य इन्द्रप्रसाद पौडेल पनि सरकारले शुरू गरेको यो कार्यक्रम विद्यालय शिक्षा प्रणालीमै नयाँ फड्को भएको धारणा राख्छन्।

९ कक्षाबाट शुरू भएको कम्प्युटर कक्षा आगामी वर्ष १० मा र त्यसपछि कक्षा ११ र १२ मा पनि पुर्‍याउने विद्यालयको योजना छ।

पवन पौडेल, तनहुँ


सेतो मुस्ली

झापा मेचीनगर–११ प्यारीभित्ताका खम्बबहादुर मगर (५०) ले राम्ररी धान फल्ने दुई बिघा खेतमा सेतो मुस्लीको व्यावसायिक खेती थालेको दुई वर्ष भयो। धानले भन्दा यो नयाँ वनस्पतिले दशौं गुणा बढी आय दिने बुझ्ेपछि उनले बरु चामल किनेरै खाने आँट गरेका हुन्। “रु.१२ लाख लगानीमा मुस्ली रोप्दा दोस्रो वर्ष चार लाख नाफा भयो”, मगर भन्छन्।

दोस्रो वर्षदेखि बीउ किन्नु नपर्ने भएकाले नाफा क्रमशः बढ्दै जाने उनले बताए। यो बुटीबाट आयुर्वेदिक, एलोपेथिक र युनानी गरी तिनै समूहका २४० भन्दा बढी औषधि बन्ने 'कमर्सियल फार्मिङ रिसर्च एण्ड डेभलपमेन्ट प्रोग्राम (सीएफआरडीपी)' चाबहिल काठमाडौंका संयोजक केशव पाठक बताउँछन्। उनी भन्छन्, “च्यवनप्रास पनि यसैबाट बन्ने हो।”

हरियो पातको तरकारी खान समेत मिल्ने मुस्लीको जरामा कार्बोहाइडे्रट ४१ प्रतिशत, प्रोटिन ८.९ प्रतिशत, सपोनिन १७ प्रतिशत र फाइबर ४ प्रतिशत पाइने उनले बताए। उच्च रक्तचाप, मधुमेह, पाइल्स लगायत विभिन्न रोग निदानमा सेतो मुस्लीलाई उपयोगी मानिन्छ। विश्वबजारमा अहिले वार्षिक ३५ हजार टन माग रहे पनि आपूर्ति पाँच हजार टन मात्र भइरहेको पाठक बताउँछन्। मध्यपूर्व, बेलायत, चीन, फ्रान्स, जर्मनी, स्पेन जापान, अमेरिका आदि देश सेतो मुस्लीको ठूलो बजार हो।

नेपालमा सम्भावना

तयार मुस्लीको जरा।
झ्ापा र कैलालीदेखि इलाम, ताप्लेजुङ, काठमाडौं, पाँचथर र सोलुखुम्बुसम्मका जिल्लामा किसानले सेतो मुस्ली लगाउन थालेबाट यसको खेती नेपालभर हुने देखाउँछ। यसबारे देश–विदेशको बजार अध्ययन गर्दा ठूलो सम्भावना देखेको बताउने मेचीनगर, ईंटाभट्टाका वासुदेव सिंजाली मगर (५१) ले पनि दुई बिघामा यसको खेती थालेका छन्। सिंजाली भन्छन्, “नेपाली किसानको जीवन परिवर्तन गर्न सक्ने बुटी हो, सेतो मुस्ली।”

कैलालीको थापापुर–२ महाद्यौलीका विधानचन्द्र शाह (३५) ले पनि अन्तर्राष्ट्रिय बजार बुझेरै सेतो मुस्लीको खेती थालेको बताए। किसानहरूका अनुसार, परापूर्व कालदेखि उपयोग भइरहेको सेतो मुस्लीको खेती नेपालमा शुरू भएको चार वर्ष मात्र हुँदैछ। नेपालमा अहिले यसको बिरुवा प्रति बोट रु.१६ को दरले किनबेच भइरहेको छ।

एक रोपनीमा २४०० बिरुवा रोपेर ८० किलोसम्म जरा निकाल्न सकिन्छ, जसको मूल्य नेपाली बजारमा प्रति केजी रु.२३०० पर्ने बताइन्छ। भारतका विभिन्न आदिवासी क्षेत्रबाट चोरीनिकासी हुने सेतो मुस्लीको जरामा सम्बन्धित राज्यहरूले बन्देज लगाएपछि विश्वबजारमा यसको भाउ उच्च भएको हो। मेचीनगरका सिंजालीका अनुसार, अहिले भारतमा सेतो मुस्लीको भाउ प्रतिकिलो भारु १,८०० छ।

सेतो मुस्ली धेरै किसिमका हुने र नेपालमा 'क्लोरोफिटम बोरिभिलिएनम' प्रजाति बढी उपयुक्त हुने सीएफआरडीपीका पाठक बताउँछन्। उनका अनुसार, नेपालमा २० देखि ४५ डिग्री सेल्सियससम्म तापक्रम हुने क्षेत्रमा यो प्रजाति राम्ररी सप्रन्छ। “यसका लागि ६–७.५ सम्म पि.एच भएको हल्का बलौटे दोमट माटो राम्रो हुन्छ”, पाठक भन्छन्, “बिरुवा जेठदेखि असार पहिलो सातासम्म लगाउनुपर्छ।

कपिल भट्ट, काठमाडौं


नेपालमा नयाँ वनस्पति

दि जर्नल अफ जापानिज वोटानी (वर्षः ८८, अंकः २, अप्रिल २०१३) मा प्रकाशित डा. केशवराज राजभण्डारीको लेख 'पोवा हिडेइकी–ओवाइ (पोवासेई), अ न्यू स्पेसिज इन नेपाल' ले विश्व वैज्ञानिक जगतलाई नेपालमा हर्वेरियम प्रजातिको अर्को नयाँ वनस्पति फेला परेको सविस्तार जानकारी गराएको छ। वरिष्ठ वनस्पतिविद् डा. राजभण्डारीले उक्त घाँस सन् १९९४ को साउनमा धादिङको पाटीखर्क नजिकको पाविल खर्क (+३४०० मिटर) बाट संकलन गरेका थिए।

डा. राजभण्डारीको यो खोज विश्व वनस्पति जगतकै लागि महत्वपूर्ण छ, यसको नौलोपनका कारणले। यसको नामकरण (पोवा हिडेइकी–ओवाइ) नेपालमा वनस्पति प्रजातिको खोज र अध्ययन–अनुसन्धानमा ठूलो योगदान पुर्‍याएका टोकियो विश्वविद्यालयका प्राध्यापक हिडेइकी ओवाइको सम्मानमा गरिएको छ। अब नेपालमा पोयसी परिवार अन्तर्गतका वनस्पतिका ११८ जाति र ३७८ प्रजाति पुगेको छ। पोवा हिडेइकी–ओवाइ प्रजातिको नयाँ

'होलो टाइप' गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा छ। 'होलो टाइप' भन्नाले वनस्पति प्रजातिको हर्वेरियम नमूना हो जसको विस्तृत विवरण तयार गरेपछि नामकरण गरिन्छ। संसारभर 'होलो टाइप' एउटै हुन्छ। नेपालमा पाइने पोयसी परिवार अन्तर्गतका ११८ जातिमध्ये 'पोवा' एक हो।

'पोवा' जाति अन्तर्गत यो नयाँसहित ३७ प्रजातिका वनस्पति नेपालमा प्राकृतिक अवस्थामा हुर्किरहेका छन्। यीमध्ये पोवा इमपेरियालिस, पोवा लाङटाङगेन्सीस, पोवा हाइलोबाटिस र पोवा हिडेइकी–ओवाइ गरी चार प्रजातिका वनस्पति विश्वका अन्य मुलुकमा भेट्टाइएका छैनन्। यस हिसाबले यी चार प्रजातिका वनस्पतिहरू नेपालका 'इन्डेमिक' प्रजाति हुन्।

डा. राजभण्डारीले १९८९ मा टोकियो विश्वविद्यालयबाट 'टेक्सोनोमी अफ द जिनस पोवा इन द हिमालयज्' मा डिएस्सी डिग्री हासिल गरेका हुन्। नेपालमा टेक्सोनोमी विधाका विज्ञमध्ये उनी अग्रणी मानिन्छन्। घाँस प्रजातिमा काम गर्ने टेक्सोनोमिष्टको संख्या विश्वमै कम छ। घाँस प्रजातिको अध्ययन–अनुसन्धानको क्षेत्रमा डा. राजभण्डारीको योगदानलाई ख्याल गरेर प्रसिद्ध वनस्पतिविद् डा. एच.जे. नोल्टीले घाँसको एउटा प्रजातिको नाम पोवा राजभण्डारी आइ राखेका छन्।

'प्लान्ट टेक्सोनोमी'को अध्ययन–अनुसन्धानमा निरन्तर सक्रिय डा. राजभण्डारीले विश्वका लागि १३ थरीका नयाँ वनस्पति प्रजाति पत्ता लगाएका छन् भने १०० भन्दा बढी प्रजाति नेपालका लागि नयाँ भएको पुष्टि गरेका छन्।

गंगादत्त भट्ट

comments powered by Disqus

रमझम