२३ असार २०७० | 7 July 2013

किताब विना विद्यालय

Share:
  

शिखर–१ दार्चुलाको शिखर सेठी प्रावि २०५४ सालमै खुलेको भए पनि शिशुदेखि ३ कक्षासम्मका ५० विद्यार्थी एउटै कोठामा पढ्छन्, त्यो पनि विश्व खाद्य कार्यक्रमको हलुवा तयार भएको घण्टी नलागेसम्म। दिउँसो हलुवा खाएपछि विद्यार्थीलाई रोक्न तीन शिक्षकलाई हम्मेहम्मे पर्छ।

कक्षा ३ मा अध्ययनरत विद्यार्थी।

विद्यार्थीका साथ सामूहिक तस्वीर खिचाउँदै शिक्षक।

विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर कठायतले प्राथमिक तहमा विद्यार्थी फेल गर्न नमिल्ने भएकाले ३ कक्षासम्मका आफ्ना विद्यार्थीलाई १,२,३ गन्दै १०० पुर्‍याउन र कदेखि ज्ञसम्म लेख्न वा पढ्न नआए पनि पास गराउनुपरेको बताए। “सबै पास हुने भएकाले अभिभावकहरुले विद्यार्थीलाई विना किताब–कापी खाजाको लागि मात्र स्कूल पठाउँछन्”, प्रअ कठायत भन्छन्।

हलुवाको पर्खाइमा बसेका विद्यार्थी।

स्कूल परिसरमा बाख्रा।

प्रअ कठायतले जिल्ला शिक्षा कार्यालयले वितरण गर्ने किताब आफ्ना विद्यार्थीलाई उपलब्ध चाहिं गराएकै रहेछन्। रु.१००० तलबमा एक्लै पढाउन थालेका प्रअ कठायत विद्यार्थी र शिक्षक संख्या बढे पनि पढाइमा सुधार गर्न नसकेकोमा दुःखी छन्। अहिले जिल्ला शिक्षा कार्यालयबाट प्रअ कठायत र शिक्षक कलावती लोहारले मासिक रु.१३,६५० तलब बुझिारहेका छन् भने निजी स्रोतका पुष्प कठायतले मासिक रु.२४००।

शब्द/तस्वीरः देवयानी सिवाकोटी, दार्चुलामा

comments powered by Disqus

रमझम