२३ असार २०७० | 7 July 2013

किसानी कुरा

Share:
  
- मिलन बगाले
१० कट्ठा जमिन हुनेले पनि परिवार पालेर वर्षमा ४०–५० हजार नगद बचाउन सक्ने डुमरवानाको जस्तो किसानी सबै ठाउँमा आवश्यक छ।

मिलन बगाले
जोरलैयाकी सावित्री सापकोटा बोरिङको पानीले मकैखेतीमा सिंचाइ गर्दै।
'थाप्लो दुखेर' धादिङको बुढाथुम गाविसबाट बाराको डुमरवाना―८ बेहरीमा बसाइँ सरेकी शिवमाया दाहाल (५७) लाई मैले वैशाख मसान्तमा भेटें। डुमरवानाको गर्मीले उनको थाप्लो केही महीना भतभती पोल्छ। तर, नाम्लोले डसेको तुलनामा घामको डसाइ केही नभएको उनले सुनाइन्। “दुई घण्टा पानी ओसार्‍यो, दुई घण्टा घाँस”, शिवमायाले सुनाइन्, “खानामा चाहिं सधैं अलिकति ढिंडो। थाप्लो र पेट दुवैले दुःख पाएपछि खप्न नसकेर २०३६ सालमा मधेश झ्रियो।”

बेस्सरी उब्जाउ हुने माटो र थरीथरीका मेसिनले मधेशको खेतीपाती सजिलो भएको उनको अनुभव थियो। हुन पनि, डुमरवानामा फसल काट्न पर्दैन, मरी–मरी बोक्न पर्दैन अनि ढिकीजाँतोमा कुट्न पर्दैन। खेती गर्दा आकाशको पानी पर्खन पर्दैन। अन्न नबिक्ने चिन्ता हुँदैन। खेती–किसानी सजिलो भएको छ। बेहरीका किसान वैशाख अन्तिम साता मकै थन्क्याएर धान लगाउने चटारोमा थिए। उनीहरू अलौटो मकै खलोमै छोडाएर प्रति क्लिन्टलको रु.२२०० मा बेचिरहेका थिए।

हाताहाती बिकेपछि न घुनको डर न कीराको। ७ कट्ठा जमिनमा २५ क्लिन्टल मकै फलाएका फत्तेपुरका भूमेश्वर चौधरीले मकैको थुप्रोमा बेल्चा चलाउँदै यतिले रु.४५ हजार हातलागी हुने बताए। रु.२० हजार खर्च कटाउँदा पनि ३० हजार कहीं नजा। उनले मकै होइन, चाँदी फलाएका थिए। डुमरवानाका खेत–खेतमा ठूल्ठूला बोरिङ गाडिएका रहेछन्। बोरिङ गाड्न नसक्नेले रु.१५० तिरेपछि एक घण्टा सिंचाइ गर्न पाउने रहेछन्।

यो क्षेत्रमा मकै बाहेक एकै वर्षमा धान, गहुँ र तोरी लगाइँदो रहेछ। सरकारले कृषि सिंचाइमा विद्युत् सहुलियत दिएको रहेछ– 'पिक आवर' प्रतियुनिट रु.३.८५ मात्र लाग्ने। खनजोत गर्ने, काट्ने, छोडाउने, ओसार्ने सबै काम मेशिनले गरेपछि उत्साहित थिए– डुमरवानादेखि कलैयासम्म भेटिएका किसान। बजार पनि उनीहरूको खेतमै आइपुग्न थालेको रहेछ।

खेती–किसानीमा दुःख धेरै, उब्जाउ थोरै भएर पहाडका धेरै युवा खाडी वा मलेसिया पसेका छन्। मधेशमा आएको औजार–उपकरणको सजिलो अब पहाडका गह्रा―कान्लामा पनि नपुर्‍याई हुँदैन। कृषिमा आधुनिक प्रविधि अपनाउँदा पहाडमा समृद्धि नफल्ने कुरै आउँदैन।

'थाप्लो दुख्यो' भन्दै १७ प्रतिशत भूभागमा सबै थुप्रिंदा उन्नति होइन, संकट निम्तिन्छ। बाँकी ६८ प्रतिशत पहाडी र १५ प्रतिशत हिमाली भूभागमा फल्ने जति तरकारी, अन्न र फलफूल फलाएर बजार पुर्‍याउने पहल थाल्नुपर्छ।

उन्नत बीउ, राम्रो मल, औजार–प्रविधि, बजार र उत्प्रेरणाको अभावले देशका धेरै गह्रा बाँझ्ो बनिरहेछन्। मधेशका किसानले आफैं अपनाएको प्रविधि पहाड पुर्‍याउने प्रक्रिया सरकारसँगै गैर–सरकारी संस्थाहरूले थाल्न सक्छन्। कृषि सहकारीमार्फत गरिने सामूहिक व्यावसायिक खेती–किसानीले हिमाल–पहाडको कृषिले समृद्धि भित्र्याउँछ। थाप्लोमा ठेला उठाउँदा पनि जीविकोपार्जन कठिन हुने पहाड र हिमालको दुःख दुर गर्न प्रभावकारी पहल गर्नेहरूको जय होस्।

comments powered by Disqus

रमझम