२३ असार २०७० | 7 July 2013

'ज्ञ' को गोलमाल

Share:
  
नेपाली वर्णमालाले १०० वर्षदेखि बालबालिकालाई 'ज्ञानी' कहलिन दाह्री पालेको बूढो मान्छे हुनुपर्छ भन्ने सिकाइरहेको छ।

पाटनको एउटा पुस्तक पसलमा आमासँग आएकी सानी नानीले किताब चलाउन थालिन्। आमाले पटक–पटक 'नचलाऊ, च्यातिन्छ' भन्दा भन्दा पनि नानीले किताब निकाल्ने, चित्र हेर्ने अनि कतै राखिदिने बालसुर छाडिनन्। यसबाट साहुजी चिन्तित नहुने कुरै भएन। उनले भने, “नानी त कति ज्ञानी है! भनेको मान्छिन् नि! ठूलो भएपछि सबै किताब पढ्ने ल! अहिले नचलाऊ है!”

“नाइँ, म त ज्ञानी होइन, ज्ञानी मान्छे त बूढो पो हुन्छ!”

नानीको तत्काल जवाफ सुनेर त्यहाँ भएका हामी अलमल्ल पर्‍यौं, कोही हाँसे।

त्यसको केही दिनपछि संयोगवश, मेरो आँखा हिजोआज बालबालिका माझ् लोकप्रिय All in One किताबमा पर्‍यो। यो पुस्तकलाई पहिलाको सानो वर्णमालाको परिमार्जित रूप हो भन्दा फरक पर्दैन। यसमा बालबालिकालाई आवश्यक ठानिएका अंग्रेजी–नेपाली अक्षर, अङ्क, केही गीत तथा अन्य जानकारीहरू आकर्षक ग्राफिकसहित राखिएको छ। कबाट कलम, खबाट खरायो, ज्ञबाट ज्ञानी जस्ता कुरा सचित्र बुझाउने प्रयास गरिएको छ। मेरो ध्यान ज्ञबाट ज्ञानीमा गएपछि मलाई 'ज्ञानी मान्छे त बूढो हुन्छ' भन्ने ती नानीको भनाइको अर्थ खुले जस्तो लाग्यो।

किताबमा झ्प्प दाह्री फुलेका बृद्ध, ऋषि वा साधु–सन्तको पहिरनमा रहेका पुरुषलाई पुस्तकले ज्ञानी देखाएको छ। त्यो बुझेपछि मलाई हाम्रा बाबु–आमा पुस्ताले के पढेर कस्ता मान्छेलाई ज्ञानी बुझे भन्ने कुराले कुत्कुती लगायो। त्यसपछि, मदन पुरस्कार पुस्तकालयमा रहेका करीब ३५ वटा वर्णमालाका ज्ञानीहरूको आकृति नियाल्दा हाम्रा बाबुआमाले पढेका/देखेका र ती नानीले देखे/बुझेको ज्ञानी मान्छेको आकृतिमा कुनै फरक पाइनँ। अर्थात्, ज्ञानी कहलाउन दाह्री–जुँगा भएको, अगाडि केही लेखिरहेको/पढिरहेको, तपस्या, होम वा यज्ञ गरिरहेको बूढो मान्छे हुनुपर्छ। यस्तै किताब पढेकी नानीका लागि पनि ज्ञानीको परिभाषा त्योभन्दा भिन्न हुन सकेन। उनले ज्ञानी हुन खास रूप, रङ वा पहिरनका साथ बूढो पनि हुनपर्ने बुझिन् र सहज तरिकाले व्यक्त गरिन्।

नेपाली अक्षर सिकाउने प्रयोजनका निम्ति विक्रमीय १९६० को दशकदेखि नै यस्ता वर्णमालाहरू प्रकाशित तथा विक्री–वितरण भएको देखिन्छ। यसरी हेर्दा नेपाली वर्णमाला प्रयोग हुन थालेको १०० वर्षमा पनि यसको आधार वा मान्यता फेरबदल नभएको देखिन्छ। यसका ग्राफिक्सभित्रका मान्यता पनि उही देखिन्छ। एक–दुई वर्णमालामा ज्ञ अक्षर सिकाउन बुद्धको ग्राफिक प्रयोग भए पनि समग्रमा ती नानीले बुझे झै मात्र भएको छ।

नेपाली बृहत् शब्दकोशले ज्ञानीको अर्थ खोल्दै भन्छ– '१– आत्मज्ञान वा ब्रह्मज्ञान प्राप्त गरेको, ज्ञानवान्; २– भनेको मान्ने, कुरा बुझने (बच्चा) वा ३– दैवज्ञ, ऋषि।' बालबालिकालाई सिकाउन तयार गरिएका नेपाली वर्णमालाहरूले ज्ञानीलाई खास उमेर, लिङ्ग वा आकार–प्रकार वा ऋषिका रूपमा बाहेक अन्य रूपमा बुझाउन सक्दैन। सत्यमोहन जोशीको नेपा वर्णमाला ले समेत स्वयं जोशी जस्ता व्यक्तिहरू र ती नानी पनि ज्ञानीमा पर्न सक्छन् भन्ने कल्पना गर्न सिकाउँदैन।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

comments powered by Disqus

रमझम