२३ असार २०७० | 7 July 2013

'ढल निकासको प्रबन्ध छैन'

Share:
  

वर्षायामको सुरुआतसँगै देशका कैयौं क्षेत्र बाढी र डुबानको चपेटामा परेका छन्। व्यवस्थित बसोबासको अपेक्षा गरिने शहरी क्षेत्र समेत जलमग्न हुने गरेको घटना नौलो हुन छाडेको छ।

गतसाता हिमाल ले देशका प्रमुख १२ शहरका ३७३ सर्वसाधारणसँग गरेको सर्वेक्षणले पनि टोल र शहरमा व्यवस्थित ढल निकासको प्रबन्ध हुन नसकेको देखाएको छ। 'तपाईंको टोल र शहरमा ढल निकासको अवस्था के कस्तो छ?' भनेर सोधिएको प्रश्नमा आधाभन्दा बढी अर्थात् ५५.८ प्रतिशतले ढल निकासको व्यवस्था राम्रो नभएको उत्तर दिए। २२.८ प्रतिशतले ढल निकासको व्यवस्था नै नभएको बताए भने ढल निकासको व्यवस्था राम्रो भएको बताउने १९ प्रतिशत मात्र थिए। यसैगरी २.४ प्रतिशतले थाहा नभएको बताए।

उत्तरदाताको जवाफले, देशका प्रायः प्रमुख शहरमा ढल निकासको समस्या भएको देखाउँछ। जनकपुरका ९२, बुटवलका ७६ तथा वीरगन्ज, धनगढी र दमकका ६८ प्रतिशतले आ–आफ्नो शहरमा ढल निकासको उचित प्रबन्ध नभएको उत्तर दिए।

घोराहीका ५६, नेपालगन्जका ४४, पोखराका २९.२, नारायणढका ३२, काठमाडौंका ५४.५ र विराटनगरका ४४ प्रतिशतले पनि ढल निकासको प्रबन्ध नराम्रो भएको बताए। कतिपय शहरमा त ढल निकासको व्यवस्था नै नभएको अध्ययनले देखाएको छ। नेपालगन्ज र नारायणगढका ५६, पोखराका ५०, विराटनगरका ३६, दमकका ३२, घोराहीका २०, वीरगन्जका २८ र धनगढीका १६ प्रतिशतले आ–आफ्ना शहरमा ढल निकासको व्यवस्था नै नभएको उत्तर दिए। नेपालगन्ज, जनकपुर र दमकका शतप्रतिशत उत्तरदाताले शहरमा ढल निकासको व्यवस्था नै नभएको तथा निकासको अवस्था राम्रो नभएको उत्तर दिएका छन्। आफ्नो टोल वा शहरमा ढल निकासको व्यवस्था राम्रो भएको भन्नेमा सबैभन्दा धेरै धरानका ५६, काठमाडौंका २८.३ र बुटवलका २४ प्रतिशत छन्।

'तपाईंले आफ्नो टोल वा शहरमा बाढी या डुबानको समस्या भोग्नु परेको छ?' भनेर सोधिएको प्रश्नमा बहुमत अर्थात् ५६.६ प्रतिशतले भोगेको छु भन्ने जवाफ दिए। ४०.८ प्रतिशतले भोगेको छैन भन्ने उत्तर दिए भने २.७ प्रतिशतले थाहा नभएको बताए। सबैभन्दा धेरै धनगढी र नेपालगन्जका शतप्रतिशत तथा दमकका ९२, जनकपुरका ८४, वीरगन्जका ७२ र विराटनगरका ६८ प्रतिशतले आफ्नो टोल वा शहरमा बाढी वा डुबानको समस्या भोगेको बताए।

ब्ाहुमत उत्तरदाताहरूले शहरमा ढल निकासको राम्रो प्रबन्ध नभएर बाढी र डुबानको समस्या भोग्नुपरेको बताएका छन्। बाढी र डुबानको समस्या भोगेको छु भन्नेहरूलाई सोधिएको 'शहरमा बाढी र डुबानको समस्या के कारणले भोग्नुपरे जस्तो लाग्छ?' भन्ने प्रश्नमा ५४ प्रतिशत उत्तरदाताले ढल निकासको राम्रो व्यवस्था नहुनुलाई दोष दिए। २७ प्रतिशतले जथाभावी घर र अन्य संरचना निर्माण गरेकाले तथा १७.५ प्रतिशतले पानी धेरै परेर बाढी र डुबानको समस्या भोग्नुपरेको बताए।

'देशका अन्य भागमा बाढी र डुबानले ठूलो समस्या निम्त्याएका बेला तपाईंको शहरमा पनि डुबान या बाढीको समस्या आउने सम्भावना देख्नुहुन्छ?' भन्ने प्रश्नमा ५७.६ प्रतिशतले त्यस्तो खतरा आउने सम्भावना देखेको उत्तर दिए। ३५.२ प्रतिशतले त्यस्तो खतरा नदेखेको बताए भने ७.२ प्रतिशतले थाहा नभएको उत्तर दिए। धनगढी र नेपालगन्जका शतप्रतिशत उत्तरदाता सम्भावित डुबान र बाढीबाट त्रस्त देखिए भने दमकका ९६, विराटनगरका ६८, बुटवलका ८० र पोखराका ७५ प्रतिशतले पनि त्यो खतरा आउन सक्ने बताए।

प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारको सय दिनको कामप्रति बहुसंख्यक उत्तरदाता असन्तुष्ट देखिए। 'यो सरकारको १०० दिनको कार्यकाललाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ?' भन्ने प्रश्नको जवाफमा ३८.९ प्रतिशत उत्तरदाताले यो सरकार पनि पहिलेका सरकार जस्तै भएको बताए। १९.८ प्रतिशतले सरकारको काम कारबाही पहिलेका सरकारभन्दा पनि नराम्रो भएको जवाफ दिए भने २१.२ प्रतिशतले ठीकै/सन्तोषजनक भएको उत्तर दिए। यो सरकारलाई पहिलेका सरकारभन्दा राम्रो भन्ने ७.८ प्रतिशत भेटिए भने ११.३ प्रतिशतले थाहा नभएको तथा १.१ प्रतिशतले भन्न नचाहेको उत्तर दिए।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम