२३ असार २०७० | 7 July 2013

'हाम्रो नेता भारतले बनाइदिने त होइन नि!'

Share:
  

गुट–उपगुटमा विश्वास नराख्ने कांग्रेस नेता डा. शेखर कोइराला तार्किक र स्पष्ट वक्ताका रूपमा चिनिन्छन्। योग्य–क्षमतावानहरुलाई अघि बढाउन सके आगामी संविधानसभा चुनावबाट कांग्रेसले इतिहास फर्काउने विश्वासमा छन् उनी। कोइराला भएकै नाताले पारिवारिक उत्तराधिकारी बन्ने दौडमा नरहेको बताउने डा. शेखरसँग हिमाल का लागि रामजी दाहालले गरेको कुराकानीः

विक्रम राई
४ मंसीरका लागि निर्धारित निर्वाचन रोक्न ३३ दलले आन्दोलन घोषणा गरेका छन्। चुनाव हुनसक्ला?

चुनाव हुनुपर्छ, तर सरकार वा चार दलले असन्तुष्ट समूहसँगको वार्ता ठीक हिसाबले अघि बढाइरहेको देख्दिनँ। संविधानसभा निर्वाचनमा सबैलाई सहभागी गराउन हुनुपर्ने जति पहल भइरहेको छैन। चार दलीय संयन्त्रका संयोजक विजय गच्छदारले नै चुनाव हुनेमा आशंका व्यक्त गरिरहनुभएको छ। यसबाट के बुझ्ने?

विपक्षीलाई वार्तामा ल्याउन नसक्नु संयन्त्रको कमजोरी हो कि सरकारको?

सरकारले चार दल र चार दलले सरकारले गरेन भन्न मिल्दैन।

विपक्षीले शक्तिपृथकीकरणको कुरा उठाइरहेका छन्। रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिंदा हुँदैन र?

शक्तिपृथकीकरण लोकतन्त्रको चुरो भएकाले यसैलाई आधार मानेर अगाडि जानुपर्छ भनेर कांग्रेसका २२ केन्द्रीय सदस्यले पार्टीमा लिखित विचार दियौं, तर चुनावको नाममा सबै दलका नेताले एकै व्यक्तिलाई सबै शक्ति सुम्पिए। खिलराजजीको छायाँ सर्वोच्चमा परिरहेकै छ। यो विषयलाई तत्काल टुंग्याउनुपर्छ। कि त खिलराजजीको हालको अवस्था संविधानसम्मत छ भन्न सक्नुपर्‍यो। मलाई फेरि मुद्दा सारिन्छ भन्ने लागिरहेको छ।

रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएर सरकारमा जानुपर्छ भनेको भोलिपल्टै कांग्रेसले अडान फेरेको थियो नि?

खिलराजजी आफैंले प्रधानमन्त्री हुने इच्छा जाहेर गर्नुभएको रहेछ, बनाइएको होइन रहेछ। यसमा पनि नेताहरूले गलत गर्नुभयो। 'थ्रेसहोल्ड' र फौजदारी अभियोग लागेकालाई उम्मेदवार बनाउने विषय सल्टिएपछि अब सभासद् संख्या ४९१ कि ६०१ भन्ने विवाद आएको छ। यसमा सहमति भएपछि पनि खिलराजजीको राजीनामाको सवाल रहन्छ नै। अब त कांग्रेसको गल्तीको कुरा पनि गौण भइसक्यो।

लोकतन्त्रका आधारभूत अडानहरू छाड्दा नै कांग्रेस राष्ट्रिय राजनीतिमा हराएको होइन र?

कांग्रेस हराएको छैन। कार्यकर्ताहरू ठीक ठाउँमा छन्।

अबको निर्वाचनमा कांग्रेसको 'पोजिसन' कस्तो होला?

अघिल्लो संविधानसभा चुनावमा दुई कांग्रेसबीच ६० र ४० को भागबण्डा हुँदा उम्मेदवार छनोट राम्रो भएन। त्यसमाथि, माओवादी त्रासका कारण सबै उम्मेदवार गाउँ–गाउँसम्म जान सकेनन्। र पनि, जनताले कांग्रेसलाई समानुपातिकमा २२ लाख भोट दिए। अहिले त माओवादीको बिगबिगी रहेको रोल्पा, रुकुम, मुगु, कालीकोट जस्ता जिल्लामा समेत कांग्रेसको माहोल छ।

गत निर्वाचनमा कांग्रेसले तराईमा पनि धेरै गुमायो नि?

त्यसबेला तराई–मधेशमा छिर्न सक्ने अवस्था थिएन। गत चार वर्षमा तराईका जनताले मधेशी नेताहरूको प्रस्तुति देखिसकेका छन् र कांग्रेसले तराईको भित्रभित्र पनि माहोल बनाएको छ।

अबको चुनावी मुद्दा चाहिं के?

शक्तिपृथकीकरणको सिद्धान्तलाई जतिसुकै 'बाइपास' गरे पनि चुनावी घोषणापत्रमा यसले उच्च प्राथमिकता पाउँछ। शासकीय स्वरुपमा हामी संसदीय प्रणाली भन्छौं। संघीयताको आधार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक हुन्छ। प्रदेश संख्या भोलि टिक्ने सामर्थ्यले पनि निर्धारण गर्छ। कांग्रेसले पहिचान, सामर्थ्य र दुई छिमेकीको चासोलाई पनि सम्बोधन गर्छ।

नेपाली राजनीतिमा पछिल्लो भारतीय भूमिकालाई कसरी हेर्नुहुन्छ?

नेपालको राजनीतिमा राणाशासनदेखि नै भारतको भूमिका रह्यो। बीपी, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद, महेन्द्रनारायण, गिरिजाप्रसाद जस्ता दूरदर्शी नेताहरूप्रति भारतीय समकक्षीहरूको ठूलो सद्भाव र सम्मान थियो। नेपालीहरूले भारतीय स्वतन्त्रता संग्राममा खेलेको भूमिकाका कारण पनि सम्बन्ध सुमधुर थियो। तर, अहिलेका नेपाली नेतामा न दूरदर्शिता छ न त भारतीय राजनीतिक नेतृत्वसँग सीधा सम्पर्क। नेपाललाई अघि बढाउन यो हुनुपर्छ, अन्यथा हुँदैन भनेर ठाडै भन्न सक्ने नेताको अभाव भयो। भारतीय नेताहरूसँग फोन उठाएर कुरा गर्न सक्ने नेता अहिले नेपालमा छैनन्।

कांग्रेसले सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाए पनि भारतले नचाहँदा हुननसकेको भनाइमा कत्तिको सत्यता छ?

कतैबाट पनि प्रधानमन्त्री हुने सम्भावना नदेखेपछि मैले उहाँलाई फोन गरेर उम्मेदवार नबन्नुस्, प्रधानमन्त्री बन्नुहुन्न भनेको थिएँ। तर, त्यसबेला 'नेगोसियसन' गरिरहेकाहरूले सही आकलन गर्न सकेनन्।

चिनियाँहरूसँग कांग्रेसको हिजो र आजको सम्बन्ध कस्तो छ?

यसमा पनि नेतृत्वको कमजोरी देखिएको छ। कांग्रेस विधानतः सामूहिक नेतृत्वमा छ। यसमा उहाँहरू तीनै जना बराबर जिम्मेवार हुनुहुन्छ। गतिलो नेता नहुनु हाम्रो मुख्य दुर्भाग्य हो। एमाले, माओवादी वा मधेशी मोर्चामा पनि त्यस्तै छ। बीपीले सगरमाथा त हाम्रो हो भन्दा चिनियाँ नेतृत्वले ससम्मान स्वीकारेको थियो। अकाट्य कुरा राख्न सक्नुपर्‍यो नि!

शेरबहादुर देउवाले भारतबाट पाएको पछिल्लो आतिथ्यलाई कसरी हेर्नुभएको छ?
यो विषयलाई धेरै महत्व नदिँऊ र सकारात्मक रूपले लिऊँ भन्छु।

कांग्रेस नेतृत्वमा देउवालाई महत्व दिएको भनेर बुझ्न सकिन्न?

हामी कमजोर नभएको भए यस्तो कुरा गरिरहेका हुने थिएनौं। हाम्रो नेता भारतले बनाइदिने त होइन नि!

हरेक निर्णायक क्षणमा भारतकै प्रभाव देखिने गरेको त छ नि?

हरेक कुरामा भारतलाई सोध्न जानु हाम्रा नेताको गल्ती हो। किन जानुपर्‍यो? हिजो बीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजाबाबुहरूले आफ्नो सुरले गर्नुहुन्थ्यो र छिमेकीलाई हामी यसरी गर्दैछौं है भन्नुहुन्थ्यो।

१२ बुँदे र माओवादीबारे तपाईंको मूल्यांकन के छ?

लोकतन्त्रप्रतिको प्रतिबद्धतामा माओवादी अहिले पनि संदिग्ध छ। यही कारण नेपाली प्रधानमन्त्रीको हैसियतमा भारत जाँदा बाबुराम भट्टराई र प्रचण्ड दुवैलाई सोनिया गान्धीले भेट दिइनन्।

पुष्पकमल दाहालबारे तपाईंको व्यक्तिगत बुझाइ के छ?

गिरिजाबाबुपछि एउटा राजनेताका रूपमा केही गर्न सक्नुहोला भनेर प्रचण्डजीबाट आशा गरेको थिएँ, तर उहाँ अहिले एउटा समूहको नेतृत्व लिएर आफैं जोगिने प्रयासमा हुनुहुन्छ।

१२ औं महाधिवेशनपछि कायम गुटबन्दीले कांग्रेसलाई कहाँ पुर्‍याउला?

अलि–अलि गुटबन्दी जहाँ पनि हुन्छ। गुटको समस्या चर्किएको भए कांग्रेस प्रचण्डजीको पार्टी जस्तो भइसक्थ्यो। अति गुटबन्दी कांग्रेसलाई पनि घातक हुनसक्छ। कांग्रेसका लागि घातक भनेको लोकतन्त्रका लागि घातक हो।

यसलाई कम गर्ने कसरी त?

कार्यक्रमबाटै कम हुन्छ र हुँदै पनि छ। १२ औं महाधिवेशनमा दुई प्यानल बन्यो, जसले गर्दा रामहरि खतिवडा, प्रदीप पौडेल जस्ता युवा नेताहरू चेट् भए। प्यानल नभएको भए हार्ने नेता थिएनन्, ती। हिजो प्यानलमा बसेकाहरू अहिले विस्तारै यताउति घुलमिल हुँदैछन्। सुशीलको प्यानलबाट जितेको मै पनि अहिले कुनै समूहमा छैन। सुशीलदा'सँग जुन दूरी छ, शेरबहादुरजीसँग पनि त्यही छ।

छुट्टै समूह बनाउनुभएको छैन?

मानिसहरू समूह चाहिन्छ भन्छन्, तर म त्यसमा विश्वास गर्दिनँ। त्यस्तो राजनीति गर्दा समूहको मात्र नेता भइन्छ, नेता त समग्र पार्टीको बन्ने हो।

कोइराला परिवारको उत्तराधिकारी खोज्ने समूहहरू पनि छन् नि?

अब तिमी अगाडि बढ्नुपर्छ भन्दै शेखर, सुजाता या सशांकको समूह बनाउन खोज्नेहरूको नियतै खराब छ।

त्यस्तालाई तपाईंहरूले प्रश्रय दिएको होइन र?

मेरो कुरा गर्नुहुन्छ भने भोलिका दिनमा अगाडि बढ्न सक्नेलाई प्रश्रय दिने गर्छु। भोलि कोही पछाडि रहे पनि कांग्रेस अगाडि जानुपर्छ। यसका लागि असल, सक्रिय र क्षमतावान मान्छे चाहिन्छ। कोही गाली गरून्, तर मेरो अगलबगलमा बलिया मान्छेहरू हुनुपर्छ।

कोइराला परिवारको उत्तराधिकारी को हो त?

म उत्तराधिकारीमा विश्वासै गर्दिनँ, तर दक्षिणएशियाको अभ्यासमा त्यो छ। कतिले मलाई कोइराला परिवारको 'लिगेसी' बोकेको भन्छन्। त्यसरी हेर्दा मभन्दा बढी सुजाताको हुन्छ, सशांकको हुन्छ। त्यो हिसाबमा मैले सशांकसम्म पुग्न अहिलेको भन्दा ५० प्रतिशत र सुजातासम्म पुग्न २५ प्रतिशत बढी काम गर्नुपर्छ। तर, कोइरालाको उत्तराधिकार थाम्ने कुरा कुन परिस्थितिमा कसले, कसरी आफ्ना कुरा राखेको छ भन्नेमा भर पर्छ। यसको मूल्यांकन जनताले गर्छन्।

आगामी महाधिवेशनमा कोइराला परिवारको उत्तराधिकार दाबी गर्नुहुन्न?

म कुन जिम्मेवारीको दाबी गर्छु, अहिले भन्न सक्दिनँ। साथीहरूसँगको सल्लाह अनुसार अघि बढ्छु। तर कोइराला भएकै कारण परिवारको उत्तराधिकारको दाबी गर्दिनँ।

comments powered by Disqus

रमझम