२३ असार २०७० | 7 July 2013

क्याबात लाक्पा

Share:
  
- ऋषिराम कट्टेल
लुक्ला, सोलुखुम्बुका लाक्पा छिरिङ शेर्पा गाउँका गरीब बालबालिका पढाउन विदेशीलाई हिमाल चढाइरहेका छन्।

विदेशीलाई हिमाल आरोहणमा सघाउने क्लाइम्बिङ गाइड हुन् या क्लाइम्बिङ लिडर, सोलुखुम्बुमा धेरै छन्। तिनैमध्येका एक लाक्पा छिरिङ शेर्पा (३१) भने अरूभन्दा भिन्न रूपमा चर्चित छन्। क्लाइम्बिङ लिडरको रूपमा डेढ दशकदेखि विदेशीहरूको अघि–अघि हिमाली उकालो–ओरालो गरिरहेका चौंरीखर्क, लुक्लाका उनी आफ्नो कमाइ गरीब र असहाय बालबालिकाको शिक्षामा लगानी गरिरहेका छन्।

लाक्पाले लुक्ला निमाविका २०, महेन्द्रज्योति उमावि चौंरीखर्कका १४ र काठमाडौंका चार विद्यार्थीको अध्ययनको सम्पूर्ण खर्च बेहोरिरहेका छन्। लुक्ला निमाविमा थप १९ जनाको पढाइ शुल्कको जिम्मा लिएका उनले काठमाडौंमा राखेका चार जना चाहिं हिमाली भरियाका छोराछोरी हुन्। उनीहरूको उच्च शिक्षाको लागि लाक्पाले हरेक महीना नेपाल इन्भेष्टमेन्ट ब्याङ्कमा रु.१००० सञ्चय गरिरहेका छन्। “लाक्पाको मिहिनेतबाट गरीब परिवारका ३८ बालबालिकाले शिक्षाको अवसर पाएका छन्”, महेन्द्र ज्योति उमाविका प्राचार्य वीरुमान राई भन्छन्, “उनको सेवाभावलाई हामी सलाम गर्छौं।”

सबैलाई १२ कक्षासम्म पढाउने प्रण गरेका लाक्पाले सात वर्ष अगाडि ३० किलोको भारी बोकेका लुक्लाकै पेम्बा छुटिङ र मिङमा याङ्जी शेर्पालाई भेटेपछि उनीहरुका लागि केही त गर्नैपर्छ भन्ने हुटहुटीबाट यो कर्म थालेका हुन्। त्यसो त, उनकै बाल्यकाल पनि पेम्बा र मिङमाको भन्दा भिन्न थिएन। स्कूल जाने मन हुँदाहुँदै घरखर्च जुटाउन ट्रेकिङ जानुपर्ने आफैंले भोगेका दिन सम्झेर उनीहरुलाई पढाउन काठमाडौं लैजाने तयारी गर्दा गर्दै अरू तीन जना त्यस्तै बालबालिका भेटेपछि सबैलाई लुक्लामै भर्ना गरेको लाक्पा बताउँछन्। “त्यसपछि यस्ता बालबालिका थपिंदै गए”, हिमालय गाइड्स एक्सपिडिसनका क्लाइम्बिङ लिडर लाक्पा भन्छन्, “उनीहरुलाई जसरी पनि १२ कक्षा कटाउने भनेर लागेको छु।”

यसका लागि उनी आफूले हिमाल पुर्‍याएका विदेशी आरोहीहरूलाई यो 'कज' बताउँछन् अनि अरूले पाउने भन्दा बढी 'टिप्स' थाप्छन्। त्यस बाहेक 'अफसिजन'मा आरोहण तालीम दिन स्वीट्जरल्याण्ड लगायतका युरोपेली मुलुक जाँदा टन्न नेपाली हस्तकलाका सामान बोक्छन्। र पनि, बढ्दो खर्च धान्न गाह्रो हँुदै गएकाले संस्थागत ढंगले सहयोग जुटाउन उनले हिमालयन एजुकेशन च्यारिटी फाउन्डेसन खोलेका छन्। “यसमा जोसुकै मनकारीले सहयोग गर्न सक्छन्”, लाक्पा भन्छन्, “सहयोग जुट्यो भने अहिले प्लस टु पुगेकाहरुको उच्च शिक्षाको चिन्ता पनि कम हुन्छ।”

comments powered by Disqus

रमझम