२३ असार २०७० | 7 July 2013

'रिभ्यू कल्चर'

Share:
  
बजारमा आएका कुनै सामान किन्नुअघि त्यसको 'रिभ्यू' हेर्दा फाइदा हुन्छ।

चाबहिलका माधव पोख्रेलले दुई वर्षअघि आईटी मेलामै लञ्च भएको प्रिन्टर किने। त्यसबेला अनेकथरी सुविधाले 'इन्टिग्रेटेड' भनिएको त्यो प्रिन्टर साथीहरूको बीचमा आफूसँग 'वान–पिस' भएको पोख्रेललाई लागेको थियो। तर, दुई महीनापछि एक बिहान १० पेज प्रिन्ट गरिसकेपछि ह्याङ्ग भएको प्रिन्टरले कहिल्यै राम्ररी काम गर्न सकेन। नचलेको ब्राण्ड भएकाले पार्टस् पनि पाइएन। त्यसपछि प्रिन्टर थन्कियो।

हजारौं खर्चेर किनेका यस्ता ग्याजेटहरूले चाहना अनुसार काम नगर्दा धेरैलाई दिक्क बनाएको हुनसक्छ। चलाउने बेलामा हैरान बनाएपछि यस्ता सामान अन्ततः त्यत्तिकै फालिन्छ। त्यसकारण बजारमा आएका कुनै पनि सामान किन्नुअघि त्यसबारे जानकारी गराउन 'रिभ्यू कल्चर'को विकास गरिएको छ। यसका लागि आफूले किन्ने योजना बनाएको या चलाइरहेको ग्याजेटको मोडलबारे वेबसाइट सर्च गर्दा पुग्छ, जुन थोरैले मात्र गर्छन्।

यसमा अर्को महत्वपूर्ण कुरा के छ भने, सर्च गर्नेहरूले पनि त्यो डिभाइसमा के–के सुविधा छन् भनेर बढी खोज्छन्। सर्च नगर्नेहरू पसलेले दिने जानकारी र सामानको प्याकमा लेखिएको विवरणमा निर्भर हुन्छन्। ध्यान दिएर क्याटलग पढ्नेहरू पनि ज्यादै कम हुन्छन्। तर, मिहिनेतको कमाइलाई उत्पादनमुखी बनाउन ग्याजेट किन्नुअघि त्यसको 'रिभ्यू' हेर्नै पर्छ।

तपाईंले चलाइरहेको या किन्न लागेको सामानको पहिलो प्रयोगकर्ता अरू नै कोही भएको लगभग पक्का छ। अर्थात्, विश्वको कुनै ठाउँका कसैले तपाईं हामीभन्दा पहिले नै त्यो सामान किनेर चलाइसकेको हुनसक्ने सम्भावना धेरै हुन्छ। त्यस्ता प्रयोगकर्ताले त्यो सामान चलाउँदा गरेको अनुभव, चित्त नबुझ्ोका वा राम्रो लागेको विशेषता, त्यसमा चाहेका अरू 'फिचर' बारे लेखिएको कुरा नै त्यसको 'रिभ्यू' हो। यस्तो रिभ्यू लेख, अडियो वा भिडियोको स्वरुपमा हुन सक्छ।

इन्टरनेटः क्यामेरा, मोबाइल, टिभीदेखि फ्रिजसम्मका सामानका 'रिभ्यू' इन्टरनेटमा हेर्न पाइन्छ। कुनै खास सामानको मात्र 'रिभ्यू' राख्ने वेबसाइटहरू छन्। जस्तो, मोबाइल फोनको लागि www.gsmarena.com र क्यामेराका लागिwww.dpreviews.com . www.cnet.com मा भने ल्यापटप, क्यामेरा, मोबाइल लगायत सबैजसो ग्याजेटका 'रिभ्यू' पाइन्छ। www.cnet.com सबभन्दा बढी हेरिने 'रिभ्यू वेबसाइट' पनि हो। कुनै वेबसाइटको लिंक नपाए गुगलको सर्च बक्समा सीधै ग्याजेटको नाम र review लेखेर सर्च गर्दा हुन्छ।

फ्रिक टकः हाम्रो वरिपरि हामीले चिनेका प्रविधिबारे जानेसुनेका 'टेकफ्रिक'हरू हुनसक्छन्। प्राविधि बुझेका तिनीहरूबाट पनि आफूलाई 'रिभ्यू कल्चर'मा समाहित गर्न सकिन्छ। हिजोआज टेलिभिजन र रेडियोमा समेत 'फ्रिक टक' अवधारणामा आधारित कार्यक्रमहरू चलाउन थालिएको छ।

कम्पेरिजनः आफूले किनेको वा किन्न लागेको ग्याजेट र अरु सामान बीचको समानता वा भिन्नता थाहा पाउनु व्यावहारिक रूपमा फाइदाजनक हुन्छ। आफूले किनेको मोबाइल र त्यही ब्राण्डको सबभन्दा महँगो मोबाइलबीच के–के भिन्नता वा समानता छ भनेर बुझ्न 'कम्पेरिजन' गरिन्छ। मोबाइल फोनको तुलनामा www.gsmarena.com र क्यामेराहरूबीच तुलना गर्न www.snapsort.com प्रसिद्ध वेबसाइटहरू हुन्। त्यसका अलावा गुगलमा गएर सीधै दुई वटा ग्याजेट बीच खक लेखेर सर्च गर्दा पनि तुलना गरिएका धेरै वेबलिंकहरू हेर्न पाइन्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम