सुध्रने आशा

Share:
  
- डा. मुकेशकुमार साह
दशकौंदेखि विभागीय प्रमुखमा रजाइँ गरिरहेकाहरू बिदाइ गरिनुले पीकेआईएचएसमा व्याप्त बेथिति अन्त्य हुने संकेत देखिएको छ।

सञ्चालनमा आएको २३ वर्षपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) को जीवनमा एकखाले तरंग उत्पन्न भएको छ। आफ्नो पदावधि सकिन करीब एकसाता बाँकी रहँदा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले वर्षौंदेखि विभागीय प्रमुख रहेका व्यक्तिहरूलाई पदच्यूत गरेका छन्। र, दोस्रो मर्यादाक्रममा रहेका चिकित्सकलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका छन्।

पछिल्लो परिवर्तनले प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागको प्रमुखमा प्राध्यापक प्रह्लाद कार्कीको स्थानमा प्राध्यापक सञ्जीवकुमार शर्मा, शल्यक्रिया विभागमा प्राध्यापक सीएस अग्रवालको स्थानमा प्राध्यापक शैलेश अधिकारी, स्त्री तथा प्रसूति रोग विभागमा डा. शैलजा श्रेष्ठको ठाउँमा डा. मोहनचन्द्र रेग्मी, बाल तथा शिशु विभाग प्रमुखमा डा. गौरीशंकर साहको स्थानमा प्राध्यापक रूपा राजभण्डारी सिंह, चिकित्सा विधिशास्त्र विभाग प्रमुखमा प्राध्यापक बीएन यादवको ठाउँमा डा. शिवेन्द्र झा र रेडियो डायग्नोसिस् विभागमा डा. आरके रौनियारलाई हटाउँदै डा. मुकेशप्रसाद गुप्ता नियुक्त भएका छन्।

वरिष्ठताक्रममा आफूभन्दा माथि रहेका कतिपय विभागीय प्रमुखलाई एकाएक हटाई नयाँ व्यक्ति नियुक्त गर्नुलाई धेरैले उपकुलपति दासको जाँदाजाँदैको सकारात्मक कार्यका रूपमा अर्थ्याएका छन्। किनकि आजसम्म प्रतिष्ठानमा उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रारजस्ता पदहरूमा परिवर्तन भए पनि ती विभागीय प्रमुखहरूमा भने सधैं एकै व्यक्तिको हालीमुहाली रहन्थ्यो। उनीहरूमा आफूलाई कसैले हटाउन नसक्ने दम्भ प्रष्ट देखिन्थ्यो। यो दम्भले अन्य प्राध्यापक, शिक्षक र कर्मचारीलाई समेत काम गर्न गाह्रो भइरहेको गुनासो सुनिन्थ्यो। विभागीय प्रमुखको कृपा नहुँदा अनुत्तीर्ण गराइने हो कि भन्ने भय विद्यार्थीमा पनि हुन्थ्यो। उपकुलपति स्वयंले पनि कतिपय विभागहरूबाट पटकपटक सास्ती भोग्नुपरेको देखिन्थ्यो। दासको यो कदम यसैको परिणति हुनुपर्छ।

आवश्यक तर अपूर्ण

उपकुलपतिको यस्तो कदमले धेरैलाई झ्ट्का दिए पनि गत वर्षको प्रतिष्ठान ३८औं सञ्चालक परिषद् (सिनेट) को बैठकले नै उनलाई विभागीय प्रमुख परिवर्तन गर्न निर्देशन दिएको थियो। र, यसका लागि चार वर्षदेखि प्रयास गरिंदै आएको थियो। हरेक तीन वर्षमा विभागीय प्रमुख परिवर्तन गर्ने सिनेटको निर्णयप्रति दासले अहिलेसम्म भने मौनता साधिरहेका थिए।

ढिलै सही, विभागीय प्रमुख परिवर्तनको निर्णय प्रशंसित भए पनि विवादरहित भने बन्न सकेन। किनकि दासले २३ मध्ये ७ वटा विभागका मात्र प्रमुख परिवर्तन गर्न सके। त्यसो त तीमध्ये कतिपय विभागमा तीन वर्षको पदावधि नसकिएका, एडिसनल प्राध्यापक नभएका कारण पनि यसो भएको हुनसक्छ। तर, कम्युनिटी मेडिसिन, अर्थोपेडिक्स, प्याथोलोजी र नाक, कान, घाँटीजस्ता केही विभागमा विभागीय प्रमुख पुरानै रहनुको कारण भने उपकुलपति दासले पुष्टि गर्न सकेका छैनन्। यसमा भने उनको स्वार्थ लुकेको प्रतीत हुन्छ।

आफ्नो कार्यकालको अन्त्यमा चलाखीपूर्वक गरिएको जस्तो देखिने यस्तो निर्णयलाई लोकतान्त्रिक मान्न सकिन्छ? दासले प्रश्न गर्न सकिने ठाउँ भने दिएका छन्। विभागीय प्रमुख छनोटमा पारदर्शिता नअपनाउँदा यो घटनालाई कतिपयले कारबाहीका रूपमा समेत बुझनसक्ने देखिन्छ। नवविभागीय प्रमुखहरूको दक्षता र अनुभवबारे पनि खासै छलफल भएको देखिंदैन। दोस्रो वरियतामा हुँदैमा उनीहरू विभागीय प्रमुख हुन योग्य र अनुभवी हुन्छन् भन्ने ग्यारेन्टी के छ? आफूलाई प्रतिकूल विभागमा मात्र उपकुलपतिले विभागीय प्रमुख फेरेका त होइनन्? भन्ने जस्ता यावत् प्रश्न स्वाभाविक लाग्छन्।

वरिष्ठता, शैक्षिक योग्यता, कार्यविधि, प्रशासनिक दक्षता तथा अनुभव समेतलाई आधार बनाई मापदण्ड तयार गरेर मात्र व्यक्ति चयन गरिए समस्याको दीर्घकालीन समाधान हुने विश्वास गर्न सकिन्छ। तर, कुनै पनि विश्वविद्यालय वा प्रतिष्ठानका प्रशासनिक पदहरूमा व्यक्ति चयन गर्दा लोकतान्त्रिक मूल्यांकन विधि नअपनाइनु नै सबै ठाउँको समस्या बनिरहेको छ।

(बीपीकेआईएचएसबाट एमबीबीएस उत्तीर्ण, अस्पताल व्यवस्थापन र सम्बन्धित कानून विषयका जानकार साह दमकस्थित निम्स नेशनल अस्पतालमा कार्यरत छन्।)

comments powered by Disqus

रमझम