२३ असार २०७० | 7 July 2013

बैतडीदेखि बलिउड

Share:
  

बैतडीकी साध्वी भट्ट (२४) बम्बईमा रिलिज हुन लागेको चलचित्र बेसर्म र गीति अल्बम नैना बाबरे को पर्खाइमा छिन्– गतिलो परिणाम निस्कने विश्वासका साथ। ब्लकबस्टर फिल्म 'दवङ्ग'का निर्देशक अभिनव कस्यपको दोस्रो प्रोजेक्ट बेसर्म को मुख्य गीत 'मै लुट गयी ए यारा तेरे मोहल्ले' मा मुख्य नृत्याङ्गना रहेकी साध्वीले टि–सिरिजको अल्बम नैना बाबरे मा सातमध्ये तीन गीत गाएकी छन्।

बेसर्म मा रणवीर कपुर र पल्लवी शारडासँग देखिने साध्वी फिल्मको सहायक निर्देशक पनि हुन्। निर्देशक अभिनवले 'यसमा पनि काम गर' भन्दै जोड दिएपछि 'आइटम डान्स' गरेको उनले बताइन्। यो कामलाई बाल्यकालदेखिको सपना पूरा गर्ने मौकाको रुपमा लिएर भाग्यको ढोका खुल्ने गरी काम गरेको उनी बताउँछिन्।

बैतडी, देहीमाण्डौकी साध्वीले लामो संघर्षपछि बम्बईमा यो स्थान बनाएकी हुन्। यसका लागि उनले नेपाल र भारतका विश्वविद्यालयहरुमा पढिन्। अनुपम खेरको 'इन्ष्टिच्युट'मा अभिनयको कोर्ष गरिन्। त्यही बेला 'डान्स इण्डिया डान्स'मा नृत्य प्रस्तुत गरेपछि लखनऊबाट बम्बईको बाटो खुल्यो।

अनुपम खेरसँग।

आमा सुशीला भट्टले बाल्यकालमै साध्वीमा नृत्यमोह भरेकी थिइन्, सानो उपहारबाट। धनगढीको बोर्डिङ्ग स्कूलमा कक्षा २ मा पढ्दा आमाले त्यतिबेलाको चर्चित 'आँखिया मिलाके' गीतमा माधुरी दीक्षितले लगाएको जस्तै ड्रेस दिएदेखि नै साध्वीको हृदयमा नृत्य बसेको थियो। त्यही कारण बैतडी कांग्रेसका सभापति रहेका बुबा शिवराज भट्टले विज्ञान पढ् भन्दाभन्दै उनी काठमाडौं विश्वविद्यालयमा संगीतको विद्यार्थी हुनपुगिन्। त्यसपछि छात्रवृत्तिमा उनी लखनऊको भारतखण्डे विश्वविद्यालय र त्यहाँबाट मुम्बई पुगिन्।

मुम्बईमा शुरुमा उनले म्यूजिक भिडियो, सर्ट फिल्म, थिएटर र स्टेज कार्यक्रमहरुमा काम गरिन्। सर्टस्टोरी, गीत र स्त्रि्कप्टहरु पनि लेख्न थालिन्। आउँदो महीना सार्वजनिक हुने हिन्दी अल्बम नैना बाबरे को 'इस्क', 'भिगे भिगे' र 'याद रहेगा मन मे' को रचनाकार पनि साध्वी हुन्। चाँडै नै उनको संयुक्त कविता संग्रह पनि आउँदैछ। मुम्बईका चर्चित १० कविको त्यो संग्रहमा साध्वीका पाँच कविता समेटिएका छन्।

बेसरम फिल्ममा आइटम डान्स' को तयारीमा।

यसरी फिल्म नगरी मुम्बईको बौद्धिक सर्कलमा समेत परिचय बनाएकी साध्वीलाई नेपालका चार जना निर्देशकले पाँच वटा फिल्मको प्रस्ताव राखेको उनी बताउँछिन्। “नेपाली फिल्ममा काम गर्ने मन पनि छ, तर; उता दुई वटा ठूलो प्रोजेक्ट भएकाले हुन्छ भन्न सकिनँ”, हालै घर आएर फर्कने हतारमा रहेकी साध्वीले भनिन्, “बरु अहिलेलाई मलाई सबैले आशीर्वाद दिनुहोस्।”

बच्चु विक, धनगढी

comments powered by Disqus

रमझम