२३ असार २०७० | 7 July 2013

सपना साकार

Share:
  
भुटानका शासकको दमन र नेपालको कष्टकर शरणार्थी जीवन सम्झँदै अमेरिकामा रहेका भुटानी युवा योग्य र सक्षम बन्न कम्मर कसेर लागेका छन्।

जाङ्बु शेर्पा, स्यान फ्रान्सिस्को, अमेरिका

दलबहादुर खत्री।
सरकारी दमन सहन नसकेर १७ वर्षअघि भुटानबाट नेपाल आएका दलबहादुर खत्रीका लागि झ्ाापा खुदुनावारीको शरणार्थी जीवन लामो र पट्यारलाग्दो थियो। तर, मानिसको जीवनको कुनै भर हुँदैन भने जस्तै उनको जीवनले अहिले अर्कै मोड लिएको छ। अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल विश्वविद्यालयमा न्यूरो विज्ञानमा पीएचडीको तयारी गर्दै अमेरिकामा सरकारी वा निजी कम्पनीमा जागिर खाने योजना बुनिरहेका उनी भन्छन्, “सुरक्षा र बस्ने आधार पाउँदा जीवन अघि बढाउन त्यति असहज नहुने रहेछ।”

संसारकै समृद्ध मुलुक अमेरिकामा भाग्यरेखा कोरिरहेका दलबहादुरको भुटानी निरंकुशताप्रति आक्रोश छ भने नेपालमा बिताएको क्षणप्रति दुःख। देशप्रतिको माया र भविष्यप्रतिको स्नेहमा फरक रहेको महसूस गरेका उनी नागरिकता दिने देश अमेरिकाप्रति अनुगृहीत छन्। योग्यता नभई जिन्दगीको गाडी अघि बढाउन कठिन हुने सत्य किशोर अवस्थामै बुझेका उनी अहिले भविष्यप्रति पहिले जस्तो चिन्तित छैनन्।

योग्य बन्ने अभियान

शरणार्थीको रूपमा अमेरिका प्रवेश पाएका भुटानीहरू अहिले त्यहाँ आफूलाई योग्य बनाउन कम्मर कसेर लागेका छन्। तिनैमध्येका एक सुदर्शन गौतमले त्यहाँको म्यासेचुटे राज्यको स्पि्रङफिल्ड कलेजबाट 'अकुपेशनल थेरापी' मा स्नातकोत्तर सकेका छन्। काम नपाउने डर र भविष्यप्रतिको अन्योल लिएर अमेरिका छिरेका उनलाई अहिले त्यो डर छैन। सफलता पाउन मान्छेलाई स्वतन्त्रता चाहिने मान्यता बनाएका उनीसँग अहिले पनि भुटानको निरंकुशता र नेपालको दुःखको सम्झ्ाना भने छँदैछ।

गणेश शर्मा, तेज मिश्र।
नेपालबाट चार वर्षअघि अमेरिका पुगेका १९ वर्षीय गणेश शर्माले कन्कर्ड उच्च माध्यमिक विद्यालयबाट उत्कृष्ट नतिजासहित दश जोड दुई उत्तीर्ण गरेका छन्। झण्डै एक हजार प्रतिस्पर्धीलाई पन्छाएर संसारकै धनी विल गेट्सले जेहेन्दार विद्यार्थीका लागि स्थापना गरेको 'गेट्स मिलिनियम फाउण्डेसन' को छात्रवृत्ति पाएपछि स्नातकसम्मको चारवर्षे अध्ययन उनको लागि निःशुल्क हुने भएको छ। रकेट सम्बन्धी 'एरो स्पेस' बन्ने लक्ष्य राखेर अध्ययन गरिरहेका उनलाई खुदुनावारीको छाप्रोमा बिताएका दिनहरूको दुःखद् सम्झनाले बेलाबेला सताउँछ।

खुदुनावारीको छाप्रोमा जीवन बिताउँदा पनि मानसिक रूपमा आफूलाई शरणार्थी महसूस नगरेका युग दवाडी अहिले वासिङ्टनको आईडवा स्टेट विश्वविद्यालयमा चिकित्सा विज्ञानमा स्नातकोत्तर गर्दैछन्। नेपालमा बिताएका दुःखद् क्षणले लगनशील बन्दै केही गर्न प्रेरणा दिएको मान्ने उनको चिकित्सा विज्ञानमै पीएचडी गर्ने लक्ष्य छ। पढ्ने खर्च जुटाउन नेपालमा पढाउँदै पढेका उनीसँग नागरिकता नहुँदा भने जति पैसा तिरेर पनि चिकित्सा विज्ञान पढ्न नपाएको दुःखद् अनुभव छ।

नेपालमा रहेका अरू शरणार्थीलाई अमेरिका आउन प्रेरित गर्दै उनी भन्छन्, “अवसरहरूले पर्खिरहेको यहाँ नेपाल जस्तै वातावरण भएकाले आउन डराउनु पर्दैन।”
पाँच वर्षअघि नेपालबाट अमेरिकाको सियाटल आएका प्रजा सुवेदीको भुटान फर्कने चाहना करीब मरिसकेको छ। नर्थ क्यारोलिना विश्वविद्यालयमा सिभिल इन्जिनियर अध्ययन गरिरहेका प्रजा अहिले आफ्नो भविष्य सुरक्षित गर्न मिहिनेत गरेर पढ्नेभन्दा अरू सोच्नु राम्रो नहुने मान्छन्। दुई छाक जोहो गर्न काठमाडौंमा दिनरात भौंतारिएको सम्झँदै उनी आफूलाई नागरिकता दिने देश अमेरिकाका लागि नै केही गर्ने सोचमा छन्।

प्रजा सुवेदी, युग दवाडी।
वोष्टन विश्वविद्यालयमा पब्लिक हेल्थमा स्नातकोत्तर गरिरहेका तेज मिश्रको नेपालमा हुँदाको पीडा पनि प्रजाको जस्तै छ। एसएलसी उत्तीर्ण गरेपछि माइक्रो वायोलोजी पढ्न धरान पुगेका उनले नागरिकता नभएकै कारण कलेजमा भर्ना पाएनन्। त्यस्तै अनेक दुःख बोकेर नेपालमा १८ वर्ष बिताएका तेजलाई अहिलेको जीवन कहिलेकाहीं सपना जस्तै लाग्छ।

अमेरिकामा बसे पनि तेजले आफ्नो मुलुक भुटानलाई बिर्सेका छैनन्। आफू सक्षम बनेपछि देशबारे आवाज उठाउने योजना बनाइरहेका उनी आफूहरूको आवाजले भुटानको निरंकुशता कुनै दिन ढल्ने विश्वासमा छन्।

अमेरिकाका २० राज्यमा छरिएर बस्दा भुटानी प्रजातान्त्रिक आन्दोलन कमजोर बन्ने र शरणार्थीको भुटान फिर्ती अरू टाढा हुने केही शरणार्थीकै आशंका रहे पनि अमेरिकाको अवसरलाई उपयोग गरेर सक्षम बनेका भुटानीबाट आन्दोलन अरू बलियो हुने विश्वास गर्ने तेज जस्ता युवा पनि छन्।

comments powered by Disqus

रमझम