२३ असार २०७० | 7 July 2013

जापानी युवतीको नेपाली नृत्य

Share:
  

ऋषिराम कट्टेल

नृत्य शिक्षिका युको ओकामोतोकी चेली हायासिदा कुमीको अहिले जापानस्थित नेपाली समुदायमा चर्चित नेपाली नृत्याङ्गना हुन्। ओकामोतो र कुमीको दुवै टोकियोका रैथाने जापानी हुन्, तर दुवै नेपाली नृत्यमा सिपालु। नेपालका सबैखाले नृत्यको अध्ययन गरेकी ओकामोतो १९ वर्षदेखि कोमागोमेमा नेपाली नृत्यशाला संचालन गरिरहेकी छन् भने कुमीको चार वर्षदेखि नृत्य सिकिरहेकी छन्। नेपाली संघसंस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा नृत्यका लागि निम्त्याइने कुमीको आफूलाई नेपाली परम्परागत नृत्यका मुद्रा र भावले तानेको बताउँछिन्।

यसरी नेपाली नृत्यमा आएकी सिबुया (टोकियो) की कुमीकोले आफ्ना लागि नेपाली नृत्य सोखमा मात्र सीमित नभएको बताइन्। १० पटकको नेपाल भ्रमणले उनको यो सोखलाई गहिरो रुचि बनाउन सघाएको छ। पहिलो पटक प्राकृतिक सुन्दरता हेर्न नेपाल आएकी उनी त्यसपछि सांस्कृतिक पर्यटक बनेको बताउँछिन्। “नृत्यले मलाई भावनात्मक रूपले पनि नेपाल निकट बनाएको छ”, कुमीकोले भनिन्, “अब नेपाल जाँदा गरीब परिवारका बालबच्चाका लागि कार्यक्रम पनि लैजाने सोच बनाएकी छु।”

ऋषिराम कट्टेल, जापान

comments powered by Disqus

रमझम