२३ असार २०७० | 7 July 2013

'कमजोरीलाई अवसर बनाउँदा सफल भयौं'

Share:
  

पवन चामलिङ

मुख्यमन्त्री, सिक्किम

सिक्किमका जनताले तपाईंलाई चारपटकसम्म विश्वास गरेर मुख्यमन्त्री जिताउनुको कारण के होला जस्तो लाग्छ?

यसको मूल कारण सिक्किमेली जनता नै हुन्। सिक्किमेली जनताको विश्वासकै कारण आज चारपटकसम्म मैले मुख्यमन्त्रीको रूपमा काम गर्ने अवसर पाएको छु। म जनतालाई अत्यधिक माया र सम्मान गर्छु, प्रेम र विश्वास गर्छु। जनतालाई धोका दिने र विश्वासघात गर्ने काम मैले कहिल्यै गरेको छुइनँ। जनतालाई जुन वचन दिएको छु, त्यसलाई इमान्दारी साथ पूरा गरेको छु। मेरो भनाइ र गराइ सधैं मिलेको छ। यही कारणले जनताले मलाई विश्वास गरेको हुनुपर्छ। मैले शुरूदेखि नै सार्वजनिक रूपमा भन्दै आएको छु, 'म मरिजाउँला, तर जनतालाई धोका कहिल्यै दिन्नँ'। मेरो यो वचनबद्धता र प्रतिबद्धतालाई मैले सधैं पालन गरेको छु। जनताको विश्वासलाई जनताकै सेवा र सुरक्षाको निम्ति प्रयोग गर्ने प्रतिबद्धतालाई मैले सधैं कायम गरेको छु। यिनै कारणले सिक्किमेली जनगणले मलाई साथ र समर्थन दिइरहेका छन् भन्ने लाग्छ।

भारतको राजधानी दिल्लीबाट टाढा रहेको सिक्किममा यति छिटो विकास हुनसक्नुको कारण के हो?

सिक्किम भौगोलिक रूपमा चीन, नेपाल, भुटानको सिमानामा अवस्थित दुर्गम पहाडी राज्य हो। यसको साथै देशको राजधानीदेखि धेरै टाढामा स्थित राज्य पनि हो। संवेदनशील सीमा राज्य हुनुसँगै पहाडी विकटताका कारण हामीले थुप्रै असुविधा भोग्नु परिरहन्छ। थपमा हामीसँग केवल १४ प्रतिशत जमिन मात्र खेतीयोग्य छ। रहल जमिन पहाड, हिमाल, खोलानाला, वन र बञ्जरभूमि छन्। यो विकटता र असुविधालाई नै हामीले सकारात्मक रूपले उपयोग गर्ने योजना बनायौं। नद–नदीको पानीबाट बिजुली उत्पादन गर्न र पहाड–हिमाल तथा वन–जंगल वा यहाँको प्रकृतिलाई प्रयोग गरी पर्याप्रिय पर्यटन विकास गर्न निश्चित गर्‍यौं। राज्यमा भएका पशु–पक्षीहरु मार्न नपाउने, रूखपात–जंगल काट्न–मास्न नपाउने नियम बनाएर सिक्किमको प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने योजनाहरु बनायौं। यसरी राज्यसित जे छ, त्यसैलाई संरक्षण, सम्भरण गरेर आफ्नो मौलिक शक्ति र साधन बनाउने लक्ष्यसहित हामीले नीति र नियमहरु बनायौं। यसो हुँदा अरूले नकारात्मक ठानेका असुविधा र विकटता पनि सिक्किमको हकमा अवसर र शक्ति बन्न पुग्यो। आज वर्षेनि राज्यको जनसंख्या भन्दा अधिक देशी–विदेशी पर्यटकहरु आउन थालेका छन्। बाह्र वटा जलविद्युत् परियोजनाहरु अहिले निर्माणाधीन छन्, जसबाट राज्यले निकट भविष्यमा २००० करोड रुपैयाँ वार्षिक राजस्व आर्जन गर्नेछ।

योसँगै हजारौं वर्षदेखि चलिआएको परम्परागत कृषिलाई हामीले जैविक खेतीको रूपमा विकास गर्ने नीति बनायौं। २०१५ भित्र राज्यलाई पूर्ण रूपले जैविक राज्य बनाउने मिसनमा आज हामी लागेका छौं। पारम्परिक खेतीबालीबाट जनगणलाई जीवन धान्न पनि मुश्किल पर्ने स्थितिमा हामीले यो कदम उठाएका हौं। यसले राज्यको सीमित खेतीयोग्य जमिनलाई पूर्ण उपयोग गर्नुसँगै माटोको उर्वरशीलतालाई पनि जोगाउने हुँदा अनि कृषि उत्पादनको मूल्य अभिवर्द्धन पनि गर्ने हुँदा जैविक प्रविधि अपनाउनु हाम्रो निम्ति एकदमै सही र वैज्ञानिक कुरो हुनसक्ने हामीले महसूस गर्‍यौं, र यो अभियान शुरू गर्‍यौं।

राज्यको शान्ति–श्रृंखलालाई कायम गरी सबै जाति समुदायलाई पूर्ण सामाजिक न्याय दिएर राज्यमा सुख, समृद्धि र सुरक्षाको वातावरण कायम गर्नुसँगै सुलभ र सहज रूपमा गुणात्मक सेवाद्वारा नागरिकहरुमा राज्यप्रति विश्वास र आस्था जगायौं। जसले राज्यको तीव्र विकासमा थप सहयोग दिएको छ।
यी सबै कामहरुका पछाडि हाम्रो जनप्रतिबद्धता र राजनीतिक इच्छाशक्तिले पनि निर्णायक भूमिका निर्वाह गरेको छ।

यसरी जनताप्रति प्रतिबद्ध बनेर सही र सटिक प्राथमिकताहरु तय गरी काम गर्दा हामीलाई जुन सफलता हात लाग्यो, यसैको प्रतिफल स्वरूप भौगोलिक विकटता रहँदारहँदै पनि हामीले राज्यमा विकास गर्न सक्यौं।

सिक्किममा विपक्षीहरु छैनन्? तपाईं र तपाईंको पार्टी यति सुदृढ हुनसक्नुको कारण के हो?

सिक्किममा विपक्षी पार्टीहरु नभएका होइनन्, छन्। तर उनीहरुको राजनीति गलत छ। उनीहरु जनताका निम्ति नभई आफ्नो स्वार्थको निम्ति राजनीति गर्छन्। जनताको पक्षमा उनीहरुसित कुनै एजेण्डा नभएकै कारण सिक्किमेली जनगणको विश्वास जित्न उनीहरु असफल छन्। सिक्किमेली जनताले पनि उनीहरुलाई बारम्बार दुत्कारेका छन्, अस्वीकार गरेका छन्। त्यसैले उनीहरु जनताका पंक्तिमा जनताको पार्टी बनेर खडा हुन सकिरहेका छैनन्।

हामी जनताको पक्षमा छौं। जनताको हित र सुरक्षाबाहेक हाम्रो अर्को कुनै एजेण्डा छैन। हामी जनताको निम्ति जनतासँग जनताकै पंक्तिमा खडा भएर जनताकै राजनीति गरिरहेका छौं। जनताले यो कुरो देखेका छन्, भोगेका छन्, अनुभव गरेका छन्। त्यसैले गणतन्त्रका मालिकहरुको साथमा रहेर हामीले उहाँहरुको सेवा गरेको हुँदा नै आज हामी जो छौं, त्यो हुनसकेका छौं।

सामाजिक न्यायको क्षेत्रमा भएका कामहरुले हो कि तपाईंको सरकारले दीर्घजीवन पाएको?

एसडीएफ पार्टी सिक्किमेली जनगणको सामाजिक, राजनैतिक, शैक्षिक, धार्मिक, बौद्धिक र आर्थिक स्वतन्त्रता र समृद्धिको लागि लडिरहेको छ। सिक्किमलाई देशकै सर्वश्रेष्ठ राज्य बनाउने हाम्रो लक्ष्य छ। सम्पूर्ण सिक्किमेली जनगणको सक्रिय सहभागितामा हामी यो अभियान चलाइरहेका छौं।

यी सबै कुराहरुको आधारमा हामीले सिक्किमेली जनगणका सम्पूर्ण आधारभूत आवश्यकताहरु पूरा गराएका छौं। थपमा सबै जाति–धर्मावलम्बीहरुको पहिचान, सामाजिक न्यायको ग्यारेण्टी, धार्मिक वा सांस्कृतिक स्वतन्त्रता, समान अवसर, शान्ति सुरक्षासँगै विकास र सुशासनका कारण जनता हामीसँग ढुक्क छन्।

चारपटकसम्म सिक्किमको नेतृत्व गरेको कारण भारतमा तपाईं र सिक्किमलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको महसूस गर्नुभएको छ?

सिक्किमलाई हिजोसम्म पछौटे र अविकसित राज्यको रूपमा गणना गरिन्थ्यो। हामीप्रतिको अवधारणा पनि त्यस्तै थियो। तर हामीले द्रुत गतिमा विकास गरेर सिक्किमको त्यो पहिचानलाई अहिले बदलिदिएका छौं। एउटा पछौटे, भूपरिवेष्ठित र संवेदनशील सीमा राज्य भएर पनि सिक्किमले सटिक प्राथमिकता र सही नीति–कार्यक्रमहरुको माध्यमबाट त्वरित विकास गरेबाट आज सीमा राज्यसम्बन्धी देशकै अवधारणा बद्लिएको छ र सिक्किमप्रति देश र देशवासीको ध्यान पनि आकर्षित भएको छ। राज्यप्रतिको अवधारणा पनि बद्लेको छ। फलस्वरूप आज सिक्किमसम्बन्धी मुद्दाहरुलाई देश वा केन्द्र सरकारले गम्भीर रूपमा लिन थालेको छ।

सिक्किमभित्रको नेपाली समुदायलाई जोड्ने नेपाली भाषालाई कमजोर बनाउने र नेपाली समुदायका विभिन्न जातजातिलाई विभाजन गर्न तपाईंको सरकारले काम गरिरहेको आरोप लागेको सुनिन्छ, त्यस्तो हो?

त्यो नकारात्मक प्रश्न हो। नेपाली भाषा बोल्ने क्षेत्री, बाहुन, गुरुङ, राई, लिम्बु, तामाङ, नेवार बलियो हुँदा नै नेपाली जाति पनि बलियो हुने हो। नेपाली समुदायका विभिन्न जातजाति बलियो हुँदा नेपाली कमजोर हुन्छन् भन्ने वैज्ञानिक कुरा होइन। नेपाली भाषा हाम्रो 'लिंक' भाषा भएको र त्यसले हामीलाई जोडेको सत्य नै हो। तर, नेपाली भाषाका उप भाषाहरू पहिले पनि थिए र अहिले पनि छन् भन्ने अर्को सत्य हो। हामीले अहिले ती सिर्जना गरेका होइनौं। भएका भाषाहरूलाई सुरक्षा, सम्वर्द्धन गरेर पढाएको मात्रै हो। यसले नेपाली भाषालाई अरू समृद्ध बनाउँछ। यसले हाम्रो सम्पर्क भाषा नेपाली नै हो भन्ने सत्य झन् स्थापित हुन्छ र त्यसले नेपाली भाषाको सम्मान अरू बढ्छ। नेपाली उप भाषाहरूलाई अवहेलना गर्दा र मर्ने अवस्थामा पुर्‍याउँदा नेपाली जातिको मात्र होइन, सम्पूर्ण मानव जातिकै नोक्सान हुन्छ। जस्तो, गुरुङको भाषा मर्दा गुरुङ मात्रै मर्दैन, तामाङको भाषा मर्दा तामाङ मात्रै मर्दैन। त्यसकारण, यो विषयलाई संकुचित रूपमा नहेरेर समग्रतामा हेर्नुपर्छ।

– सुवास देवकोटा

comments powered by Disqus

रमझम