गल्दै गएका दादालाई हेर्दा मेरो मनमा एउटा विचार उब्जिएको थियो, जुन कसैलाई भन्न सकेकी थिइनँ। अरू कुरामा जत्ति नै उदार भए पनि दादाको मनले 'छोरीको सम्पत्ति खर्च गर्न हुन्न' भन्ने मान्यता छाड्न सकेको थिएन। ठट्यौलै पारामा भए पनि 'कत्ति गर्छेस्? छोरीको खान हुन्न के, भार हुन्छ...!' भन्नुहुन्थ्यो।
“आजकलको जमानामा छोराछोरी बराबर हो, दादा!” म भन्थें, “सक्ने छोराछोरीले बराबर गर्छन्।”
दादा 'हरे!' भन्ने पाराले टाउको हल्लाउनुहुन्थ्यो। चार दशक अघि बिहे गरेर टाढिए पनि देवीजी (आमा) लाई अल्जाइमर्सले च्यापेर सुस्त बनाउँदै लैजाँदा दादासित नजिकिने अवसर बढ्दै गयो। देवीजी बितेपछि एक वर्ष यता झ्नै नजिकिने मौका भयो। बितेका चार महीनायता अस्पताल आउजाउ गर्दा मैले सेवा गर्ने र दादाले 'कत्ति गर्छेस्?' भन्ने अवसर पनि निकै बढ्यो।
दादाले मृत्युको सामना गर्दा पोहोर आर्यघाटमा देवीजीको अन्त्येष्टि गर्दाको सम्झ्ना मेरो मनमा बारम्बार आइरहेको थियो। राति दाइहरूले वागमती किनारको भकारीमा आमाको वरिपरि घुम्दै दागबत्ती लिएको दृश्य मानसपटलमा आइरहेको थियो। अब दादालाई पनि त्यसै गर्ने बेला आयो। दुई दाजुसित मैले पनि दागबत्ती दिन पाए दादालाई दिन सक्ने सबैभन्दा ठूलो माया र श्रद्धा हुन्छ भन्ने लागिरहेको थियो। तर यो कुरो कसैलाई भन्न सकिरहेकी थिइनँ। म जस्तो आफूलाई पढेर फराकिलो दायरा पारेको भनेर सोच्नेलाई केले हो हच्काएको थियो, मुख फोड्नलाई? शायद, समाजले तोकेको छोरीले गर्न सक्ने र मिल्ने कामको त्यही लक्ष्मणरेखाले।
दादालाई बिजुली शवदाहगृहमा राख्नु अगाडि आखिरी काजक्रिया गर्ने बेला भयो। दाइहरू दुई जनालाई अघि सर्न लगाएर दागबत्ती दाजीको हातमा थमाए पण्डितजीले। अघि बाहिर दाइहरूले दिएको ढाडसले हौसिएकी मैले मलिनै स्वरमा सोधें, “मैले दिन मिल्दैन?” पण्डितजीले टाउको हल्लाए। घरबाट गएका पण्डितजीलाई सोधें, उनले पनि 'मिल्दैन नानी' भने। छेउमा उभिएका अर्का पुरुषले पनि 'त्यस्तो कहाँ मिल्छ र?' भने। म खिसि्रक्क परें।
छेउमै उभिएका मामाले त्यही बेला अलि ठूलो स्वरमा 'जाऊ, हुन्छ' भनेको सुनें। भाउजूहरूले पनि 'इच्छा छ भने जानू' भने। त्यत्तिकैमा दादालाई एक फन्को मारिसकेका सान्दाजीले 'आइज' भन्दै हातै तानेर बोलाएपछि म पनि सम्मिलित भएँ दागबत्ती दिने कार्यमा। पण्डितजी केही बोलेनन्। हामी तीनै छोराछोरी मिलेर दौरासुरुवाल र ढाका टोपीमा सजिएका दादालाई दागबत्ती अर्पण गर्यौं, अन्तिम पटक ढोग्यौं र दादाको भौतिक शरीरलाई बिदा गर्यौं। शोकविह्वल मेरो मनमा एक किसिमको तरंग (शायद सन्तुष्टिको!) संचार भइरहेको थियो, जुन एक वर्षअघि देवीजीको अन्त्येष्टि हुँदा मैले अनुभव गरेकी थिइनँ।
एकघन्टा पछि सानो झयालमा अस्तु लिन बोलाइयो। म पनि दाइहरूको पछिपछि गएँ। दाजीले 'तँ ली' भन्दै अस्तु राखेको माटाको भाँडो मेरो हातमा थमाउन लगाए। दादाको तात्तातो खरानी बोक्न पाउँदा मेरा आँखाबाट आँसु झ्रे– शोकमा गर्वमिश्रित आँसु। कत्रो अवसर पाएँ मैले! हामी तीन दाजुबैनी मिलेर दादाको अस्तु वागमतीमा सेलायौं।
कामको सिलसिलामा म लैङ्गिक समानता र समताको कुरा गर्थें। छोराछोरी बराबर हुन्, त्यसैले छोरीलाई पनि छोरा सरहको अवसर दिनु/दिलाउनुपर्छ भन्थें। तर, अवसर दिलाएर मात्र पुग्दोरहेनछ भनेर म आफैंले महसूस गरें त्यतिबेला। समाजका मूल्यमान्यता बदल्न आफ्नो इच्छा वा उदारताले मात्र पुग्दोरहेनछ। कोही घचेट्ने, कोही तान्ने चाहिंदोरहेछ। पुस १४ को बिहान मलाई घचेट्ने काम मामा र भाउजूले गरे अनि मेरा दाइहरूले ताने।
घचेट्न र तान्न मद्दत गर्ने परिवेश नयाँ थियो। देवीजीको अन्त्येष्टि पुरानै पाराले आर्यघाटमा भएको थियो। त्यतिबेला बिजुली शवदाहगृह सञ्चालन भइसकेको थिएन। घाटको साँघुरो ठाउँमा परम्परागत चिता थियो। दादाको पालिमा भने नयाँ प्रविधिले पनि मलाई अन्त्येष्टि कार्यमा सम्मिलित हुन सघायो। क्रियाकर्म छोटिएको थियो, अलि खुकुलो पनि भयो। पण्डितजी पनि त्यति कट्टर परेनन्। यी सबैका कारण मैले आफ्नो बुवालाई दागबत्ती दिन सम्भव भयो। आफ्ना बुवाप्रति गरिने आखिरी कर्तव्य दाइहरूसँगै मैले पनि गर्न पाएँ र बराबरको सन्तान भएको अनुभव गरें। मैले भट्याउने गरेको 'छोराछोरी बराबर' भन्ने नारा सार्थक भएको महसूस गरें। दादाको 'कत्ति गर्छेस्?” भन्ने प्रश्नको जवाफमा मैले भन्न पाएँ, “यत्ति!”