२-८ माघ २०७३ | 15-21 January 2016

भिटामिनको आवरणमा एन्टिबायोटिक

Share:
  
- रामु सापकोटा
कुखुराको तौल बढाउन भिटामिनको नाममा प्रयोग भइरहेको अवैध एन्टिबायोटिक मानव स्वास्थ्यका लागि घातक बनिरहेको छ।

बिक्रम राई
काभ्रे भैंसेपाटीस्थित आशापुरी ह्याचरी।
२१ पुस दिउँसो बनेपा, काभ्रेपलाञ्चोकस्थित काभ्रे भेटनरी सेन्टरका सञ्चालक विकास शर्मा तिमिल्सिनाले स्थानीय कुखुरापालक किसानलाई भिटामिन भन्दै 'लेभोफ्लोक्स' नामक औषधि बेचिरहेका थिए। तर, यो भिटामिन नभई एन्टिबायोटिक मिसाइएको औषधि हो भन्ने किसानलाई थाहा छैन।

दाना परिपूरक (फिड सप्लिमेन्ट) का रूपमा कान्तिपुर भेट डिष्ट्रिब्युटरले आयात गरेको यो एन्टिबायोटिक औषधि व्यवस्था विभागमा दर्ता नै छैन। औषधिको अवैध कारोबारी अरू कोही नभई पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष हेमराज बडाल स्वयं हुन्। बडालकै स्वामित्वको कान्तिपुर भेटले भन्सारबाट औषधि व्यवस्था विभागमा दर्ता नै नभएको 'लेभोफ्लोक्स' जस्ता थुप्रै एन्टिबायोटिक भिटामिन भन्दै मुलुक भित्र्याउन थालेको धेरै भइसकेको छ। गलत एन्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेको थाहा पाउँदापाउँदै पनि सरकारी निकायको मौनता भने आश्चर्यजनक देखिन्छ।

औषधि उत्पादक संघका उपाध्यक्ष दीपकप्रसाद दाहालका अनुसार, पशुसेवा विभागको सिफारिशमा दाना परिपूरक आयात गर्न सकिने भएकोले एन्टिबायोटिकको अवैध व्यापार बढेको बताउँछन्। “दाना परिपूरकका नाममा भन्सार कार्यालय र आयातकर्ताको मिलेमतोमा एन्टिबायोटिकको धन्दा चलाइरहेका छन्”, उनी भन्छन्।

अवैधको बिगबिगी

यतिबेला बजारमा भिटामिनका नाममा थुप्रै कडा खाले एन्टिबायोटिक बिक्री भइरहेको छ। जोर्डनस्थित भेटनरी एण्ड एग्रिकल्चरल प्रोडक्टले बनाएको सिप्रोट्रायल र कोलिस्टीन–६००, भियतनामस्थित सेन्ट्रल भेटनरी मेडिसिन जोइन्ट स्टकले बनाएको टीडब्लुफाइभ–एकोलिन र फाइभ–एन्टिकोक्सिड, दक्षिणकोरियास्थित केबीएनपीले बनाएको केनोक्सिन, सिप्रोसिन–भेट र साइरोक्सीन, भारतको लेभोफ्लोक्स, पाकिस्तानको औषधि कम्पनीले उत्पादन गरेको पारा–सीडब्लुएसपी; यस्ता केही एन्टिबायोटिक हुन् जसलाई किसान चाँडै नै कुखुराको तौल बढाउने निहुँमा खुवाइरहेका छन्। औषधि व्यवस्था विभागका अनुसार यी कुनै पनि एन्टिबायोटिक विभागमा दर्ता छैनन्।

औषधि व्यवस्था विभागमा दर्ता नभएका एन्टिबायोटिक औषधिहरु क्रमशः फाइभ–एन्टिकोक्सिड, केनोक्सिन, टीडब्लुफाइभ–एकोलिन र कोलिस्टीन–६००।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री भन्सार कार्यालयकै लापरबाहीका कारण यस्ता एन्टिबायोटिक छ्याप्छ्याप्ती भएको बताउँछन्। “सबै खालका एन्टिबायोटिक औषधि दर्ता गरेर मात्र आयात र बिक्री वितरण गर्नुपर्छ”, उनी भन्छन्, “तर हामीकहाँ खुलेआम अवैध कारोबार भइरहेको छ।”

कान्तिपुर भेट डिष्ट्रिब्युटरका सञ्चालक समेत रहेका हेमराज बडालले दाना परिपूरकमा एन्टिबायोटिक मिसाएका औषधि पशु सेवा विभागको सिफारिशमा आयात गर्दै आएको बताउँछन्। उनी भन्छन्, “विना दर्ताका स्टकमा रहेका औषधि मात्र बजारमा भेटिएका हुन्।” पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले दाना परिपूरक (फिड सप्लिमेन्ट) भनेर नेपाल भित्रिएका उत्पादनको अनुगमन तथा चेकजाँच नगरेको बताउँछन्। दाना परिपूरकको नाममा एन्टिबायोटिक आयात भएको बारे विभागलाई जानकारी नभएको ढकालको भनाइ छ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा रु. २ अर्ब ८५ करोड ७१ लाख बराबरको २२ हजार ६७७.५ टन फिड सप्लिमेन्ट नेपाल भित्रिएको छ। तीमध्ये अवैध एन्टिबायोटिकको वार्षिक बजार करीब रु.५० करोड हाराहारीको रहेको औषधि उत्पादक संघ बताउँछ।

औषधि व्यवस्था विभागका अनुसार आफ्नै देशमा दुई वर्षसम्म चलाइसकेको औषधि मात्र उत्पादकले अन्यत्र निर्यात गर्न पाउँछ। तर, नेपाल पसेका कतिपय एन्टिबायोटिक भने त्यही देशमा प्रतिबन्धित छन्। हल्याण्ड, अष्ट्रेलिया, जोर्डनलगायतका देशमा कुखुराका लागि दाना परिपूरक बिक्री गर्न पाइँदैन। मूल्य सूची नै नभएका औषधि आयात गरेर यहाँका ब्यापारीले दोब्बर मूल्यमा बिक्री गर्ने गरेका छन्।

जोखिममा जनस्वास्थ्य

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका फर्माकोलोजी विभागका एसोसिएट प्रोफेसर डा. सतिशकुमार देव कुखुरालाई रोग लाग्न नदिने भिटामिन भन्दै दिइने एन्टिबायोटिक र कर्टिकोस्टेरोइट्स समूहका औषधिको आयात, बिक्री र प्रयोग तत्काल रोक्नुपर्ने बताउँछन्। कार्बोहाइडे्रट, प्रोटिन र मिनरल्स मिलाएका दाना परिपूरक बिक्री गर्न पाइने भए पनि ती उत्पादनमा एन्टिबायोटिक औषधि मिसाउनु भने औषधिको दुरुपयोग हो।

विदेशबाट आयात गरिएका यस्ता एन्टिबायोटिकमा मूल्य भने तोकिएको हुँदैन। जसले व्यापारीलाई मनपरी पैसा असुल्ने छूट दिएको छ। २० पुसमा बनेपाकै भेटनरी ड्रग सप्लायर्सले नेदरल्याण्ड्समा बनेको कोलिस्टीन एन्टिबायोटिक रु.५९० मा बिक्री गरे।

एन्टिबायोटिकको प्रयोगले कुखुरा मर्ने खतरा कम भए पनि यसले मानव स्वास्थ्यमा भने प्रतिकूल असर गरिरहेको छ। जस्तो, सिप्रोफ्लोक्सासिन मिलाएर बनाइएको साइरोक्सिन जस्तो कडा खालको एन्टिबायोटिक खाएको कुखुराको मासुले मानिसमा एन्टिबायोटिक रेसिस्टेन्स क्षमता घटाइरहेको हुन्छ। टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका माइक्रोबायोलोजिष्ट ज्योति आचार्य पुरानो एन्टिबायोटिकले काम गर्न छाडेपछि नयाँ एन्टिबायोटिक चाहिने तर त्यसको उत्पादन मुलुकमा गर्न गाह्रो भएकाले जथाभावी प्रयोग रोक्नु नै गतिलो विकल्प भएको बताउँछिन्। “रोग लागेका कुखुरालाई चिकित्सकको सिफारिशमा एन्टिबायोटिक खुवाउन सकिन्छ।

तर, तौल बढाउने भन्दै जतिबेला पनि खुवाइने यस्ता एन्टिवायोटिकले मासु खानेको जीवन जोखिममा पारिरहेको छ”, आचार्य भन्छिन्। मासु, दूध, खाद्यान्नलगायतका विभिन्न माध्यमबाट शरीरमा एन्टिबायोटिक प्रवेश गरेकैले अहिले सामान्य खालका एन्टिबायोटिकले काम गर्न छाडेको उनी बताउँछिन्। प्रयोगशालाका अनुसार, पिसाब संक्रमण गराउने इकोलाई कीटाणु मार्न प्रयोग गरिने एमोक्सिसिलिन, स्याफिक्जिन जस्ता एन्टिबायोटिकले अचेल काम गर्न छाडिसकेका छन्।

स्वास्थ्य मन्त्रालयको हालैको एक अध्ययनमा टाईफोईड उपचारमा सिप्रोफ्लोक्सासिन एन्टिबायोटिकले काम गर्न छाडेको छ। अहिले चिकित्सकहरू ओफ्लोक्सासिन जस्ता कडा एन्टिबायोटिक चलाइरहेका छन्।

बनेपास्थित हिमालय क्लिनिक एण्ड ल्याबका सञ्चालक समेत रहेका भेटनरी चिकित्सक हरिकृष्ण थापा भुईंचालोपछि काभ्रेमा पोल्ट्री व्यवसाय फस्टाउनुमा यस्ताखाले एन्टिबायोटिकले काम गरेको बताउँछन्। “व्यापारीलाई फाइदा भइरहेको छ, यस्तोमा स्वास्थ्यबारे कसैलाई चासो छैन”, आफैं पनि अवैध एन्टिबायोटिक बिक्रीमा संलग्न उनी भन्छन्।

comments powered by Disqus

रमझम