३० असार २०७० | 14 July 2013

यस्तो पनि प्रतियोगिता!

Share:
  

हिमाल (१६ असार) मा प्रकाशित एसएलसी प्रिन्सेज प्रतियोगिताबारे समाचार पढेपछि एकछिन स्तब्ध भएँ। प्रतियोगिताको नाममा आयोजकहरूले कतै हाम्रा नानीहरूलाई नङ्ग्याउने काम त गरिरहेका छैनन्? यसबारे अभिभावकले पनि गम्भीर ढंगबाट सोच्नुपर्दछ। यस्तो प्रतियोगिता आवश्यक छ कि छैन भन्नेबारे गम्भीर बहस हुनुपर्दछ।

रसना ढकाल, बालकोट–५, भक्तपुर

जुन जोगी आए पनि...

हिमाल (१६ असार) मा प्रकाशित 'हास्यास्पद उपलब्धि' पढेपछि खिलराज रेग्मी सरकारको वास्तविक हैसियत प्रष्ट हुन्छ। उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमणलाई समेत सरकारका १०० दिनको उपलब्धिको सूचीमा राखेर दुनियाँ हँसाउने काम गरेको छ, रेग्मी सरकारले। दलीय सरकारले गरेका गलत कामबाट वाक्क भएका जनताले रेग्मी नेतृत्वको सरकारबाट केही हुने अपेक्षा गरेका थिए। तर १०० दिनको उपलब्धि सुनेपछि जनता भन्न थालेका छन्, जुन जोगी आए पनि कानै चिरेका।

अमर बानियाँ, कीर्तिपुर

स्वदेशमै केही गरौं

हिमाल (१६ असार) मा प्रकाशित 'अगरउड हुर्काउँदै बाख्रापालन' समाचार सामग्री निकै सान्दर्भिक लाग्यो। नेपालमा केही पनि छैन भन्दै निराश भएर खेतबारी बेची कतार र मलेशिया जान तयार भएका युवाहरूले आफ्नै देशमा काम गरेर मनग्ये कमाएका यस्ता पौरखीहरूको सिको गर्नुपर्छ। स्वदेशमा केही पनि छैन भनी गाली गर्दै विदेश पलायन भएका र पलायन हुन तयार युवाहरूले गम्भीर भएर एक पटक सोच्नुपर्छ स्वदेशमै केही गर्छु भनेर।

प्रभात शेरचन, गट्ठाघर, भक्तपुर

उदाहरणीय सिक्किम

हिमाल (१६ असार) मा प्रकाशित चामलिङको सपनाको सिक्किम पढेपछि हामीले नेपालको प्राकृतिक सम्पदाको कसरी बेवास्ता गरिरहेका छौं भन्ने थाहा हुन्छ। दुरदृष्टि भएका नेताहरूले यो वास्तविकतालाई बुझ्ने प्रयास गर्न सकेमा हामी पनि विकासमा पक्कै फड्को मार्न सक्ने छौं। यसतर्फ ध्यान दिनुपर्ने युवा नेताहरू पार्टीका बूढो पुस्ताका नेतालाई दोष दिएर आफू चाहिं उम्कन मिल्दैन।

श्याम ढकाल, नयाँबजार, काठमाडौं

यो विभेद कहिलेसम्म?

हिमाल (१६ असार) मा प्रकाशित सुदूरपश्चिम दार्चुलाको शिखर सेठी प्राथमिक विद्यालयको दुरवस्था सचित्र पढेपछि दुर्गम क्षेत्रका विद्यालय, शिक्षक र विद्यार्थीप्रति सरकारी हेराइ कस्तो छ भन्ने सहजै बुझ्न सकिन्छ। विश्व खाद्य कार्यक्रमको सहयोगमा हलुवा खुवाउने कार्यक्रम शुरू भएपछि विद्यालय जान थाले पनि ती विद्यार्थीसँग न किताब–कापी छ न त कलम नै। शैक्षिक जग नै यस्तो छ भने कसरी हुन सक्छ सामुदायिक विद्यालयको गुणस्तरमा सुधार? यसैको परिणाम हो हरेक वर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयमा उत्तीर्ण दर घट्नु। यो वास्तविकतालाई नीति निर्माताहरूले कहिले बुझ्ने होलान्?

ममता थापा, नयाँबानेश्वर, काठमाडौं


असुरक्षित रसुवागढी नाका

रसुवागढी नाका खुलेपछि यसको सदुपयोगभन्दा दुरुपयोग बढी हुन थालेबाट हामी रसुवावासी चिन्तित हुँदै गएका छौं। काठमाडौं, भारत र चीनको केरुङ नाका जोड्ने सबैभन्दा छोटो दूरीमा रहेको रसुवागढी नाका सडक निर्माण सम्पन्न भएयता असुरक्षित हुँदै गएको छ। हालै केरुङ लैजान ठिक्क पारेको करीब दुई टन रक्तचन्दन सीमा सुरक्षार्थ खटिएको सेनाको टिमुरे पोष्टले कन्टेनर ट्रकसहित केही व्यक्तिलाई समातेका छन्। यसअघि पनि यो नाकाबाट रक्तचन्दन निकासी भएका खबर आइनै रहेका थिए।

उहिलेदेखि नै रसुवागढी–केरुङ नाका व्यापारको लागि प्रयोगमा थियो। सुरक्षित र नेपाल–तिब्बत व्यापारको प्राचीन मार्ग पनि हो। यो मार्गबाट केरुङ, जोङ्खा, शिगात्से, दिङ्री, ल्हासासम्म व्यापार हुन्थ्यो। नेपाल, तिब्बत/चीन युद्ध यसै मार्गबाट भएको थियो। जसको प्रमाण वेत्रावती सन्धि र रसुवागढीमा रहेका किल्ला हुन्।

केरुङबाट कम्बल, थर्मस, भोटे नुन, चियापत्ती, सेरामिक कप, प्लेट, रुमाल, ऊन, जुत्ता, ट्वाइलेट पेपर, छाला, जिम्बु, छुर्पी, जडीबुटी तथा दशैंको बेला भेडाच्याङ्ग्रा ल्याउने गरिन्थ्यो। नेपालबाट साबुन, वनस्पति घिउ, चामल, चिउरा, चिनी, तामा, पित्तलका भाँडाहरू लैजान्थे। तीन वर्षअघि स्याफ्रुवेसी–रसुवागढी १६ कि.मी. सडक बनेपछि र उता तातोपानी नाकामा कडा सुरक्षा भएपछि भने यो नाकालाई तस्करहरूले उपयोग गर्न खोजेको पाइन्छ।

चीनसँग सिमाना जोडिएको थुमन गाविसको वन फँडानी गरेर अवैध काठ केरुङ पुर्‍याइयो। टिमुरे गाविसको जंगल पनि शिकार बन्यो। वर्षेनि थुप्रै परिमाणमा यार्चागुम्बा निकासी हुने गर्छ। बहुमूल्य जडीबुटीहरू पनि निकासी हुन्छ होला तर त्यसको रेकर्ड हामीसँग छैन। केही वर्षअघि ठूलो परिमाणमा बाघको छाला र हड्डी केरुङ लैजाने क्रममा समातिएको थियो। यसै वर्ष केरुङ लैजाँदै गरेको बाघको छाला र हड्डी बोकेको मिनी टाटालाई नुवाकोटको ककनीमा समातियो। रक्तचन्दनकै प्रकरणले राष्ट्रिय निकुञ्ज सुरक्षाको लागि खटिएका सेनाका तत्कालीन थापा थरका कर्णेल बर्खास्तीमा परे। सिडिओ र डीएसपी तत्काल सरुवा भए। त्यसपछि पनि यो नाकामा सुरक्षाकर्मीलाई चुनौती दिंदै कहिले नेपालबाट र कहिले चीनको केरुङबाट अवैध सामानहरूको ओसारपसार भएका समाचार आई नै रहेका छन्। अचम्म त के भने सेना र प्रहरीका ६–७ वटा चेकपोष्टहरू कसरी पास हुन्छन् भन्ने रहेको छ।

गत पुस अन्तिम साता केरुङबाट ४५० ग्राम लागूऔषध हेरोइन नेपाल भित्रिंदै गर्दा सीमा सुरक्षा प्रहरी चौकी टिमुरेले दुई जनालाई तत्काल पक्राउ गरेको थियो। अर्को एकजनालाई स्याफ्रुवेसीबाट पक्राउ गरेर रसुवा जिल्ला अदालतमा मुद्दा चलाइएको छ। यसबाट पनि यो नाका दिनहुँ संवेदनशील हुँदै गएको बुझिन्छ।

चीनले सन् २०१४ सम्ममा बेइजिङबाट ल्हासाहुँदै केरुङसम्म रेलवे संचालनमा ल्याउने घोषणा गरिसकेको छ। केरुङसम्म रेल संचालन हुँदा व्यापारिक दृष्टिले नेपाललाई फाइदा पनि छ। ऐतिहासिक रसुवागढी भत्किन थालेका छन्। यसलाई संरक्षण गर्दै आसपासका धार्मिक–सांस्कृतिक आकर्षणहरूलाई सदुपयोग गरेर पर्यटनबाट आम्दानी गर्न सकिन्छ। यो दिगो विकासको लागि आवश्यक पनि छ। तर, सम्भावित सुरक्षाका उपायहरू चुस्त र दुरुस्त राख्न नसके चुनौती पनि थपिनेछ। सोही अनुसारको क्षमता हामीले वृद्धि गर्नैपर्छ। लागूऔषध र रक्तचन्दन मात्र होइन मानव बेचबिखन तथा ओसारपसार जस्ता संगठित अपराध पनि उति नै बढ्नेछ। किनभने केरुङका होटल, लज र डिस्कोहरूमा अवैध तरिकाले नेपाली चेलीहरू अहिलेबाटै काम गर्न थालिसकेका छन्। त्यसको दुरुपयोग हुने सम्भावना रहन्छ।

मूलतः संगठित अपराधमा केरुङ छेउछाउका सोझा स्थानीय बासिन्दालाई भरियाको रूपमा प्रयोग गर्ने सम्भावना ज्यादा देखिन्छ। गरीबी, शिक्षा तथा कानूनी ज्ञानको अभावमा थोरै रकममा पनि ती आर्थिक प्रलोभनमा फस्छन्। शुरूमा भरिया भई लागूऔषध ओसारपसार तथा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भयो र पछि त्यस्ताले नै पेशाको रूपमा लियो भने ती व्यक्तिहरू विस्तारै अपराधी बन्ने र समाजमा त्यसको नकारात्मक असर पर्ने जोखिम उत्तिकै छ। त्यसको शिकारमा पनि नाकाछेउका गाउँहरू नै पर्नेछन्।

यो क्षेत्रमा संचालन हुने अवैध कारोबार नियन्त्रण नेपालको सुरक्षा निकायबाट मात्र सम्भव छैन। नेपाल र चीनका अधिकारी दुवैले प्रभावकारी रूपमा काम गरे भने मात्र सम्भव हुन्छ। अवैध बस्तु वारिबाट पारि छिराए वा पारिबाट वारि ल्याइपुर्‍याए पनि त्यसलाई समन्वय गरेर अपराध नियन्त्रण गर्नुपर्छ। नत्र त अपराध नियन्त्रण गर्नै सकिन्न। त्यसकरण कूटनीतिकस्तरमै सुरक्षा संयन्त्र निर्माण गर्नुपर्छ। उदाहरणको लागि भारतमा निर्मित पल्सर बाइकहरू केरुङमा निर्धक्क कुदाइरहेका छन्। के कसरी केरुङमा पुर्‍याइए भन्ने प्रश्नको जवाफ कसैसित छैन।

फुर्पा तामाङ, ठूलोभार्खु, रसुवा

comments powered by Disqus

रमझम